काठमाडौँ । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन यतिबेला केपी शर्मा ओली स्विजरल्याण्डमा छन । यसै क्रममा अन्तराष्ट्रिय मिडियाहरु संग कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीको एक तस्बिर सामाजिक संजालमा भाइरल हुदैछ । जुन तस्बिरमा एक गरिब राष्ट्रको प्रधानमन्त्रीले एक लाख रुपैया पर्ने जुत्ता पहिरिएका छन ।

त्यो तस्बिर बाहिरीए पछी विभिन्न व्यक्तिले आलोचना गर्न थालेका छन । ओएसएन भट्टराई लेख्छन :

‘हाम्रो प्रधानमन्त्री श्री केपी ओलीलाई युरोपमा मिडियासँग कुराकानी गर्दा एलवी (लुईस विइटन) पहिरनमा आइपुगेका थिए। जूनजोडी जुत्ता प्रधानमन्त्रीले लाउनु भाको छ त्यो जुत्ताको मूल्य नेपाली १ लाख पर्न जान्छ !

देशको अर्थतन्त्र नाजुक अवस्थामा भाको बेला बिश्व सामु यति महँगो जुत्ता लाउन के साचिकै सुहाउछ हाम्रो प्रधानमन्त्री लाई । बोली चाहिँ देश बनाउने अनि जनताको पैसा लुट्ने !!’

भिम उपाध्याय लेख्छन :

हाम्रा प्रम ओलीले पनि WEF Davos मा रू १ लाख मूल्यको जुत्ता लगाएर हाम्रो ईज्जत बचाईदिनुभएछ ।

PM Mr. KP Oli was seen wearing LV (Louis Vuitton) shoes while talking to media in Europe. The pair that PM is wearing costs around $895 (NPR 1,01,828).

नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने प्रम ओलीको चाहना

–विशेष प्रतिनिधि तीर्थप्रसाद भट्टराई

डाभोस, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताउनुभएको छ । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उहाँले आफूले नेपाली जनताका निम्ति प्रजातन्त्रका लागि आधा शताब्दी निरन्तर सङ्घर्ष गरेको र वर्षौँवर्ष कारागारमा कठिनतम समय बिताएको स्पष्ट गर्नुभयो ।
“नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले लोकतान्त्रिक वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्रीले नेपाली लोकतन्त्रमा राजनीतिक अधिकार तथा स्वतन्त्रता व्यापक रहेको पनि बताउनुभयो ।

उक्त सत्र सत्ताधारी राजनीतिक उच्च वर्गलाई निराश पार्दै विश्वभरका मतदाता सुधार र सुस्पष्ट विचार दिने चाहना राखी राजनीतिक परिवर्तन गर्ने नयाँ राजनीतिक पुस्तातर्फ फर्केको र समसामयिक विश्व राजनीति तथा उनीहरुले लोकतन्त्रको भविष्यलाई कसरी निर्धारण गर्दैछन् भन्ने मूल विषयमा आधारित थियो । प्रधानमन्त्री ओलीले नेपालले सन् २०१५(विसं २०७२) मा लोकतान्त्रिक संविधान जारी गरेको र त्यो पूर्णतया प्रजातान्त्रिक एवं प्रगातिशील रहेको बताउँदै शक्ति पृथक्कीकरण, राज्य सञ्चालनमा नियन्त्रण तथा सन्तुलन, स्वतन्त्र न्यायपालिका र विधिको शासनमा रहेर वर्तमान सरकार विकास–निर्माणको मार्गमा अग्रसर भएको जानकारी दिनुभयो ।

दुई सदनात्मक संसद् तथा प्रधानमन्त्रीप्रणालीयुक्त नेपाल कानूनी राज्यको सुनिश्चितता, विधि र प्रक्रियामा दृढ अठोट छ भन्दै प्रधानमन्त्रीले सरकारले केन्द्रीयकरण गर्ने कुनै भावना नराखेको स्पष्ट गर्नुभयो । उहाँले आर्थिक उन्नयन र दिगो विकासका खातिर बहानाबाजी गर्नेहरुका लागि अब माफी दिने कुनै व्यवस्था नभएको उल्लेख गर्नुभयो ।

तीन वटै तहको निर्वाचन हालको सत्तारुढ दलले नगराएको र चुनाव गराउनेहरु हाल प्रतिपक्षमा रहेको जानकारी दिँदै उहाँले ती सबै निर्वाचन शान्तिपूर्ण वातावरणमा स्वतन्त्र, स्वच्छ तथा निष्पक्ष ढङ्गले भएको बताउनुभयो । नेपाली जनताको परिवर्तनको चाहना साकार तुल्याउनमा नै सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताउँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को लक्ष्य साकार पार्न सुशासन कायम गर्दै आर्थिक विकासमा नै सरकारले अर्जुनदृष्टि दिएको प्रष्टयाउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्र जनताले नै आफ्ना लागि बनाएको सुसभ्य शासन प्रणाली भएको बताउँदै नेपालमा पनि जनताले निरङ्कुश प्रणालीलाई हटाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना गरेको जानकारी दिनुभयो ।
‘प्रेस’जगत्सँगको आफ्नो सम्बन्धबारे सोधिएको एक जिज्ञासाका जवाफमा उहाँले प्रजातन्त्रमा प्रेससँग सधैँ सामान्य सम्बन्ध रहने र आफ्नो पनि सम्बन्ध सामान्य नै रहेको जानकारी दिँदै भन्नुभयो, “निरङ्कुशतन्त्रमा मात्र शासकको प्रशंसा गर्न प्रेसलाई नियन्त्रण गरिन्छ, लोकतन्त्रमा प्रेसले आलोचना गर्नु सामान्य हो ।” नेपालको संविधानले नै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गरेकोे र प्रेस स्वतन्त्र रहेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले पीत पत्रकारिता जनहितमा नरहेको वास्तविकता सुनाउँदै त्यसले बाधा सिर्जना गर्ने र जनतालाई गलत दिशातर्फ उन्मुख गर्ने बताउनुभयो । प्रजातन्त्रलाई बलियो बनाउन र जनताको जीवनमा समृद्धि ल्याउन तथा उनीहरुलाई सही रुपमा सुसूचित र शिक्षित तुल्याउन प्रेसको भूमिका निकै महत्वपूर्ण हुने बताउँदै उहाँले नेपाली जनता पनि जिम्मेवारपूर्ण प्रेसका पक्षमा रहेका जानकारी दिनुभयो । प्रेसले आफ्नो पनि आलोचना गरेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले छोटो अवधिमा धेरै परिवर्तन भएका सन्दर्भमा जनताको आकाङ्क्षा बढेको र नेपाली प्रेसले पनि द्रुत गतिको विकास चाहेको उल्लेख गर्नुभयो । उहाँले प्रजातान्त्रिक प्रक्रिया जादु नभएको र कुनै पनि कामको परिणाम प्राप्त गर्न समय लाग्ने यथार्थ स्पष्ट पार्दै प्रेसले पनि नेपालमा शीघ्र नतिजा, स्वच्छता र पारदर्शिताको सुनिश्चितता माग गरेको बताउनुभयो ।

नेपालमा प्रेस स्वतन्त्रता विरोधी केही कानून बनेको आरोपको खण्डन गर्दै प्रधानमन्त्रीले नेपाल लोकतान्त्रिक मुलुक भएको र प्रजातन्त्रमा निष्ठा र विश्वास रहेको स्पष्ट गर्नुभयो । प्रजातन्त्रमा सबै कुरा संविधान, कानून र शक्ति पृथक्कीकरणको सिद्धान्तअनुसार हुनुपर्ने मान्यतामा आफू अडिग रहेको बताउँदै उहाँले भन्नुभयो, “प्रेसलाई नियन्त्रण र सङ्कुचित पार्ने सरकारको कुनै मनशाय छैन ।”

नेपालमा प्रेस पूर्णतया स्वतन्त्र रहेको र नियन्त्रणको कुनै प्रश्न नभएको बताउँदै उहाँले स्वतन्त्रताका नाममा कसैले पनि गलत समाचार दिन नहुने, अरुलाई आघात पार्न नहुने र अरुको पारिवारिक जीवन तथा वैयक्तिक जीवन, प्रतिष्ठा र व्यवसायमा आँच पुग्ने गरी समाचार सम्प्रेषण गर्न नहुनेमा जोड दिनुभयो ।

लोकतान्त्रिक प्रणाली सञ्चार जगत्मा आबद्धहरूका लागि मात्र नभएको बताउँदै प्रधानमन्त्री ओलीले यो अरुका लागि पनि भएको र स्वतन्त्र प्रेस जिम्मेवारपूर्ण हुनुपर्ने विश्वव्यापी मान्यता भएको बताउनुभयो । उहाँले जनतालाई शिक्षित र सुसूचित तुल्याउन आफूहरुले चाहेको र प्रेसले सर्वसाधारणको जीवन, प्रतिष्ठा, नाफा– घाटाजस्ता संवेदनशील विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

बेलायती पत्रकार तथा ‘फिनान्सियल टाइम्स’का सहसम्पादक तथा प्रमुख आर्थिक टिप्पणीकर्ता मार्टिन उल्फले सञ्चालन गरेको उक्त सत्रमा कोलम्बियाका राष्ट्रपति इभान ड्युक, आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयान, अमेरिकी पत्रकार तथा ‘द न्यूयोर्क टाइम्स’का प्रकाशक आर्थर ग्रेग स्लजबर्गर र लिडरसिप नाउ प्रोजेक्टका संस्थापक ड्यानियल बालु आरेसले पनि आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

‘नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति सरकारको सम्पूर्ण प्रयास केन्द्रित’

डाभोस, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभएको छ ।

विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत यहाँ जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा उहाँले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गर्नुभयो ।

नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताउनुभयो ।

नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अङ्गीकार गरी नयाँ संविधानअनुसार नयाँ कानून बनाइरहेको बताउँदै संविधानलाई कार्यान्वयनका निम्ति संरचनागत परिवर्तन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन ।’’

‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले नेपाली जनताका विकासका आकाङ्क्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको बताउनुभयो । नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनसँगसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले मानव सूचकाङ्कका दृष्टिले पछिपरेका समाजको उन्नयनलाई महत्वका साथ अघि बढाएको बताउनुभयो । “हामी नयाँ परिस्थितिमा प्रवेश गरेका छौँ जसले हामीलाई आशावादी बनाएको छ, हामीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो भूमिका बढाउन सकेसम्म प्रयास गरिहेका छौँ’’, उहाँले भन्नुभयो ।

दक्षिण एशिया महान् सभ्यता र विद्वत्वर्ग रहेको क्षेत्र हो भन्दै प्रधानमन्त्री ओलीले सगरमाथादेखि हिन्द महासागरसम्म बहुभौगोलिक एवं जैविक विविधता रहेको उल्लेख गर्नुभयो । उहाँले अति उर्वर भूमि र उत्पादनशील जनसङ्ख्या भएको नेपालले आफ्ना नागरिकको जीवनस्तर उकास्न आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताउनुभयो ।

उहाँले क्षेत्रीय सहयोग अभिवृद्धिका निम्ति इमान्दारी, निष्ठा र विश्वास अपरिहार्य भएकामा जोड दिँदै आपसी असमझदारी हटाउँदै क्षेत्रीय सहयोग र व्यापार विस्तारमा नेपालले सक्रिय भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानी मैत्री, ऐनकानून जारी भएका बताउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति प्रधानमन्त्रीले आह्वान गर्नुभयो ।

नेपालले दक्षिण तथा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठन (आसियान)सँग व्यापार तथा अन्य सम्बन्ध कायम गरेर क्षेत्रीय व्यापार प्रवद्र्धनलाई उच्च महत्वका साथ कार्यान्वयन गरिरहेको जानकारी दिँदै उहाँले हालै नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको स्पष्ट पार्नुभयो । उहाँले क्षेत्रीय साझेदारी र समझदारी विकासमा पनि नेपालले उत्तिकै महत्व दिएको उल्लेख गर्नुभयो ।

देशको आर्थिक विकासमा सार्वजनिक–निजी साझेदारी महत्वपूर्ण हुने वास्तविकतालाई दृष्टिगत गरी सरकारले दुवै क्षेत्रलाई उच्च महत्व दिएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “युवालाई रोजगारी सृजनाका लागि व्यावसायिक प्रशिक्षण र बालबालिकालाई औपचारिक शिक्षामा सहभागी गराइएको छ ।”

रोजगारीको खोजीमा धेरै बेरोजगार युवा विदेशिएकाले उनीहरुलाई स्वदेश फर्काउन आफ्नो सरकारले भरमग्दुर प्रयास गरिरहेको बताउँदै उहाँले उनीहरुको सीपको उपयोग गर्न चाहेको जानकारी पनि दिनुभयो ।

एक प्रसङ्गमा उहाँले पारदर्शिताको सुनिश्चितता, विधिको शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण आफ्नो सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

उक्त सत्रमा भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम जी. राजन, नर्वेको सिग्भी ब्रेक्के, अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले भाग लिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई पनि उपस्थित हुनुहुन्थ्यो ।