– हरिजंग थापा

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ

आँधी आए तराईमा पहाडले छेक्नुपर्छ

सामाजिक सञ्जाल यी र यस्तै शब्दले भरिएको थियो । श्रद्धाञ्जली र समवेदना त कति हुन् कति ? शव गन्ने ठेक्का लिएका मिडिया मृतकको संख्या बढाउनमै व्यस्त थिए । प्रभावित क्षेत्रको आवश्यकता के हो ? मर्नेहरु मरेर गए बाँचेकालाई राहात कसरी दिने ? यी भन्दा कति जनाको मृत्यु भयो ? कुन मन्त्री आउँदै हुनुहुन्छ ? प्रधानमन्त्री आउने कि नआउने ? लगायतका विषयमा मिडियाको रिर्पोटीङ केन्द्रित रह्यो । हावाहुरी शान्त भएपनि मिडियाको वितण्डा भर्खर सुरु हुँदै थियो ।

लेखक : हरिजंग थापा

सोमबार दिउँसो फेटा गाउँपालिका ६, पुरैनिया पुग्दा भूमरी प्रभावित क्षेत्र मानिसको भिडले भरिएको थियो । सयौं मानिसको भिड भेला भईसकेको थियो तर भिआईपीको सुरक्षा व्यवस्थापनबाट भर्खरै फुर्सद पाएका सेना, प्रहरी पुरिएका सामान निकाल्न तैनाथ थिए । भेला भएका अधिकाँस मानिस जात्रा हेर्न आएका अल्लारे झैं देखिन्थे ।

घरको छानोको अवशेष समेत छैनन् । ईंटाको गारो पनि जगैदेखि लडेको छ । लडेका छन्, रुख बिरुवा र बिजुली बत्तीका पोलहरु । बाँसका झ्याँगहरु जरैसहित उखेलिएका छन्, पाक्नै लागेको गहुँ दाहीँ गरे जत्तिकै भूईंमा पसारिएका छन् । मरेका वस्तुभाउमा झिंगा भन्किरहेका छन् । धन्न भूमरीको चोटले तड्पीएर बितेका लाशहरुको अन्तिम संस्कारको पालो बल्ल आउँदै थियो ।

भूमरीको बलले बढारेको त्यो उजाड क्षेत्रको वेदना वर्णन गरि साध्ये थिएन् । प्रभावितहरु विचलित देखिन्थे । विपद्ले घर, अन्नबाली मात्र होइन परिवार नै क्षतविक्षत बनाएको थियो । कोही लडेको घरका छरिएका ईंटा संगाल्दै थिए । कोही आँगनमा आईपुगेको छानो माथि टुक्रुक्क बसेर टोलाईरहेका थिए । सायद, सोच्दा हुन्, खुला आकाशमा कसरी रात कटाउनु ? भोकाएको पेटलाई के खाएर भर्नु ?

राहातका पोका बोकेर गाडिहरु थुप्रै आए । कसैले केटाकेटीलाई खेल खेलाए जसरी गाडि गुडाउँदै बाँडे । कसैले लोभी कुकुरलाई पल्काए जसरी गाडिबाटै चाउचाउ, बिस्कुटका पोका झुत्ती खेल्न आउनेहरुलाई दिए । उजाड ठाउँमा उदास भएर बसेका असली प्रभावितलाई त्यो रमाईलोले सायदै छोयो ।

चामलका बोरा, त्रीपाललगायतका सामग्री पनि नपुगेका हैनन् । तर, मृतकको सद्गद र घाईतेको अवस्थाको अत्तोपत्तो हुन नसकेको बेला त्यी सामग्री कसले बाँढ्ने ? कसले लिने ? लिएको सामान कहाँ राख्ने ? कसरी पकाउने ? त्यसैले अधिकाँस राहात सामग्री पक्की घरको कोठामा थन्किए ।

धन्न, नेपाली सेना घटनालगत्तै आईतबार रातिदेखि नै उद्धारमा खटेको रहेछ । घाईतेलाई उचपारका लागि अस्पताल सकेसम्म छिटो पुर्याईएछ । सामान्य घाउचोट लागेकालाई त्यहिँ मल्हम पट्टी गरिएछ । अनि उनीहरुलाई सामुहिक रुपमा खाना खुवाउने बन्दोबस्त पनि गरिएछ । जब दिन छिप्पीँदै गयो, मानिसको भिड बढ्दै गयो । दिन ढल्दै गर्दा लडेका संरचना भन्दा बढी मानिसका टाउको देखिन्थे ।

मैले पनि फोटा खिचेँ । भिडियो लिएँ । केही ईंटाहरु पल्टाउनुको अलवा अरु केही गर्न सकिन । काठमाण्डौं फर्किदै गर्दा सोचें, त्यो दिनको भिडलाई सदुपयोग गर्न सकेको भए ? सरकार, रेडक्रस, धुर्मुस सुन्तली फाउण्डेशनलगायतले दिउँसै पुर्याएको त्रिपाल कोठामा थन्किनुको साटो प्रभावितको छानो बन्न सक्थ्यो । मरेका वस्तु भाउमा झिंगा भन्केर रोग फैलन सक्ने जोखिमको व्यवस्थापन हुन्थ्यो । यत्रतत्र छरिएका काठपात, ईटा तथा अन्य सामग्रीको उचित व्यवस्थापन गर्न सकिन्थ्यो ।

अनि कमसेकम खुला आकाशमुनी पिडितहरुले रात कटाउनु पर्दैनथ्यो । मानसिक पिडासँगै हावाहुरीले थङथिलो बनाएको ज्यानलाई त केही आराम मिल्न सक्थ्यो । बालबालिका, वृद्धवृद्धा र सुत्केरी आमाहरुलाई केही दिनका लागि भएपनि टाउको लुकाउने व्यवस्था हुन्थ्यो । सायद त्यो नै पिडितहरुका लागि ठूलो राहात हुने थियो । तर, सयौंको भिडमा एउटा रमिते बनेर म पनि थपिँए र फर्किए । काठमाण्डौं छिचोलीसक्दा पनि यो कुराले मेरो मनलाई बिथोलिरह्यो ।