काठमाडौं, २६ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १४ महिना पूरा भएको छ । यस अवधिमा प्रधानमन्त्री निवासमा उनले तीन–चार नेताको बर्थ डे केक काटिसकेका छन् । दुईचोटि आफ्नो, एकपटक वरिष्ठ नेता माधवकुमार नेपाल र एकचोटि उपप्रधानमन्त्री ईश्वर पोखरेलको ।

पछिल्लो समय नेपालका कम्युनिस्ट नेतामा बर्थ डे सेलेब्रेसन गर्ने मोह बढ्दै गएको छ । त्यो पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ।

बर्थ डे मनाउने परिपाटीलाई कम्युनिस्ट पार्टीहरूले सामन्तवादी र पुँजीवादी संस्कृति भन्दै आलोचना गर्ने गरेका थिए । तर, अहिले तिनै पार्टीका नेताहरू धूमधामका साथ केक काटेर बर्थ डे सेलेब्रेसन मनाउन लागेका छन् ।

कांग्रेसका नेताहरू पनि प्रधानमन्त्री भएका थिए । तर, अहिलेसम्म उनीहरूले प्रधानमन्त्रीको सरकारी निवासमा बर्थ डे मनाएको दृश्य देखिएन । खबर पनि सुनिएन ।

तर, तत्कालीन एमाले हाल नेकपाका शीर्ष नेतामा भने बर्थ डे सेलेब्रेसन मनाउने चलन निकै बढेको छ । स्मरण रहोस् प्रधानमन्त्री केपी ओलीको बर्थ डेमा ६० किलोको केक काटिएको थियो ।