मुन्धुम निर्माणको समयकालः एक विश्लेषण
nanda-kanangwa-800x500_c
नेपालको पूर्वी भागमा बस्ने लिम्बु जातिले जन्मनु पूर्वदेखि मृत्यु हुँदा र त्यसपछि पनि अर्थात समग्रमा सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले समाज र जीवनलाई डोर्‍याउने दर्शनको रुपमा मुन्धुमलाई लिने गरेका छन् । मुन्धुम एउटा प्राचीनकालदेखि श्रुति परम्पराको रुपमा सुनाउँदै, सुन्दै र भन्दै सन्तान दरसन्तानमा अभ्यास हुदै आएको दर्शनग्रन्थ (वेद) हो । यस्तो भन्ने, सुनाउने काम फेदाङ्गवा, साम्बा, येवा (अनुष्ठान सम्पन्न गर्ने आफै उत्पति भएका मानिसहरु)हरुले गर्ने गर्दछन् । आर्यहरुमा पुरेतले शास्त्रहरु पढेर अनुष्ठान गरे जस्तो नभई आफै उत्पति भएका व्यक्तिहरु (झाँक्रीजस्तै) ले भन्दै सुन्दै आएको कण्ठस्थ पारेको मुन्धुम भनेर अनुष्ठान गर्ने गर्दछन् ।

मुन्धुममा लिम्बु, याक्थुङ, किरातजस्ता शब्द पाइँदैन र प्रयोग भएको देखिँदैन । तर सावायेत्हाङका सन्तान भन्ने प्रचलन छ र यस परम्परा तथा अभ्यासलाई हाल लिम्बु भनिएको जाति समुदायले परापूर्वकालदेखि निरन्तरता दिइआएको छ । लिम्बु जाति समुदाय प्रकृति पूजक अर्थात बोनमार्गी हुन् । वास्तवमा मुन्धुमले के कुरा समेट्छ ? यसको प्रयोग के कसरी भएको छ र यसमा परिवर्तन के कसरी भइरहेको छ ? यो मुन्धुम र मुन्धुमका विभिन्न ग्रन्थ कहाँ र कुन समयकालमा निर्माण भयो भन्ने जस्ता विषयमा विश्लेषण गर्न जरुरी भएको छ ।
संस्कृति र संस्कारबारेका मुन्धुम, जीवन पद्धतिबारेको मुन्धुम र धर्म संस्कार गरिने विधि तथा प्रक्रिया सम्बन्धका मुन्धुममा हाल लिम्बुहरु बसोबास गरिरहेका तम्मर नदी, मेवा, मैया नदी, औल मैदान, बराह क्षेत्र आसपासको त्रिवेणी, निग्रादेन आदि ठाउँ र तिनीहरुकै आसपासका ठाउँ नदीनाला, पहाडको वर्णन आउँछ ।

मुन्धुममा समेटिएका पक्षहरु

मुन्धुमहरु विषय र मानव जीवनका विभिन्न चक्रलाई समेट्ने गरी अनगिन्ती छन् । नावाचईत र साम्जिक मुन्धुम, साप्पोक चमेन, तङ्सिङ तक्मा — सोघासिङ खक्मा, खिजो आप्मा, साम्सोघा नाप्मा, मिराक सेप्मा, सोमा हिम योमा, ओजा काक्मा, नाहेन लाङमा, फुङवा चाङमा, फक्लुङ चाङमा, सिलाम साक्मा आदि धेरै मुन्धुम छन् ।

मुन्धुमले खासगरी ४ पक्षलाई समेट्छ । पहिलो पक्ष हो, सृष्टि । यस सृष्टि मुन्धुमले ब्रहमाण्ड, आकास, पुथ्वी, जल, जीव, चराचुरुङ्गी, बोटविरुवा र मानव सृष्टि कसरी भयो भन्ने विषयको वर्णन गर्दछ । दोस्रो पक्ष हो, संस्कृति र संस्कार । यी संस्कृति र संस्कार मुन्धुमले संस्कृति र संस्कारहरुको जन्म र विकास कसरी भयो भन्ने विषयहरुको वर्णन गर्दछ । तेस्रो पक्ष हो, जीवन पद्धतिबारेको मुन्धुम ।। यी मुन्धुमहरुले लिम्बु जातिले परापूर्वकालदेखि के कसरी जीवन बिताउँदथे भन्ने विषयको वर्णन गर्दछन् । चौथो पक्ष हो, धर्म संस्कार गरिने विधि तथा प्रक्रिया सम्बन्धको मुन्धुम । यी मुन्धुमहरुले लिम्बु जातिले परम्परागतरुपमा गरिआएको धर्म संस्कार के कसरी गरिन्छ भन्ने विषयमा वर्णन गर्दछन् ।

प्रयोग र परिवर्तन

लामो समयसम्म सुन्दै सुनाउँदै आएको मुन्धुममा थोरबहुत तलमाथि परेको हुन सक्छ । लामो समयदेखिको श्रुति परम्परामा केही त बिर्सेको हुन सक्ने छँदैछ तर त्यसको प्रयोग अहिले पनि यथावतै छ । मुन्धुम खासगरी फेदाङवा, साम्बा र येवाहरुले परम्परागत अनुष्ठान गर्दा भन्ने गर्दछन् । कतिपय फेदाङवा, साम्बा र येवाहरुले मुन्धुमहरु केही त बिर्सेको अनुभव हुन्छ । पछिल्लो समय खासगरी सन् १९९० यता ती मुन्धुमहरुलाई लिपिबद्ध गर्ने काम भएको छ ।

mundhum-limbu
तस्बिर : http://www.kiratnews.com

मुन्धुमहरुको अध्ययन गर्दा अनुष्ठानमा वस्तु चढाउने सम्बन्धमा अनुष्ठान कुन समयमा गरिएको त्यही समय सापेक्ष वस्तु, पैसा आदि जसको पालाको हो उसैको नाम लिएको देखिएको छ । उदाहरणको रुपमा साम्सोघा मुन्धुमको प्रेतात्मा आउने बाटो छेक्ने मुन्धुममा भनिएको छ‚ ‘आल्ल — नालि मेत्नेरो, कुजेन मेत्नेरो ।। नाबाप्पो याङ्ले, फिलिङगे याङ्ले ।। थिमेन्धुङ याङ्ले, गोलखा याङ्ले ।। साम्जिकेन याङ्ले, मुन्धुम्मा याङ्ले ।।’ यसको अर्थ ‘तिमीलाई पुजा भाग दिन्छु । यो नवाबहरुको रुपैया फिरिङ्गीका रुपैया — कम्पनीले, तागाधारी गोर्खाको रुपैयाले, मन्त्र र तन्त्रले बाधिएको यो रुपैयाले’ भनेर पुकारिन्छ । यस्ता विभिन्न मुन्धुममा उल्लेख गरिएका गाउँठाउँ, भीर, पाखा, पखेरा आदिको नाम अहिले कहाँ र कुन हो भनेर यकिन गर्न सकिँदैन । उदाहरणको लागि साम्सोघा मुन्धुमको गिद्ध देवतामा निङ्ग्रादेनलाई तेह्रथुम आठराईको निगुरादेन र लेक्वादोभा सुम्बादोभालाई तीन नदी मिलेको ठाउँ त्रिवेणी बराह क्षेत्र आसपासको ठाउँ भनेर पहिचान गरिए पनि सोघालाई लैजादाको बाटोका गाउँठाउँ थाक्सुरुङमा (तान फिजाएको ठाउँ) साङ्गा (तामा खानी भएको ठाउँ), खोक्पन तेम्बे (खोक्पन मैदान), खक्चुङ तेम्बे, लायाङ्गो नाम्याङ्गोजस्ता उल्लेख भएका धेरै ठाउँको नाम कहाँ र कुन कुन हो भनेर पहिचान गर्न सकिन्न ।

प्रकृति पूजक अर्थात बोनमार्गी लिम्बुहरु समयको अन्तरालमा विभिन्न धर्म ग्रहण गर्न पुगे । उनीहरुले सोही धर्मलाई फरक धर्मको रुपमा विकास गराउन मुन्धुमलाई आधार बनाउँदै अन्य कुरा थप्दै गइरहेको अवस्था छ । कस्तो पनि देखिन्छ भने उनीहरुले बौद्ध धर्मको अहिंसात्मक पक्ष, हिन्दुहरुका केही विधि विधान र संरचना, र क्रिस्सियनहरुको मुक्तिको दर्शनलाई किरात धर्मको नाममा सम्मिश्रण गराएका छन् । बौद्ध र हिन्दुमा रहेको अवतार दर्शनलाई टिपेका छन् । हुन त फेदाङवा, साम्बा र येवा निस्कने प्रचलन पनि वंशाणुगत नै हो । फेदाङवा, साम्बा र येवा भएको परिवारको रक्त सम्मिश्रण जो जोसँग र जहाँजहाँ भएको छ तिनीहरुमा फेदाङवा, साम्बा र येवा निस्कने प्रशस्त सम्भावना रहन्छ । फेदाङवा, साम्बा र येवा निस्किएको परिवारमा त छोरा या नाति पनातिमा त्यो अवश्य निस्कन्छ । जसले त्यसलाई रोक्ने कोसिस गर्दछ त्यसले उसलाई नै क्षति गर्दछ । फेदाङवा, साम्बा र येवा भएको परिवारभन्दा बाहिरको मानव समूहमा फेदाङवा, साम्बा र येवा निस्कन सम्भव छैन । गैरलिम्बु जो युमा, फेदाङवा, साम्बा र येवा निस्कन्छ र देवता चढेपछि आफूले नजानेको भाषा लिम्बु भाषामा फलाक्न थाल्छ त्यसको विगतमा कहीँ न कहीँ फेदाङवा, साम्बा र येवाको परिवारसँग रक्त सम्मिश्रण भएकै हुन्छ, नत्र त्यो सम्भव छैन । यस्तो वंशाणुगत प्रथा प्रक्रिया र अवतार दर्शन प्रथा एकदमै फरक कुरा हुन् । अवतार भनेको धर्मको रक्षाको लागि देवताले पठाएको व्यक्ति हुन् ।
मुन्धुमले खासगरी ४ पक्षलाई समेट्छ । यी मुन्धुमहरुले लिम्बु जातिले परम्परागतरुपमा गरिआएको धर्म संस्कार के कसरी गरिन्छ भन्ने विषयमा वर्णन गर्दछन् ।

मुन्धुमको निर्माण समयकाल

लिम्बु जातिमा ‘लिम्बु, याक्थुङ’ शब्दको प्रचलन व्यवहारमा प्रशस्त प्रयोग भएको देखिन्छ । त्यसमा पनि याक्थुङ भन्ने शब्दको प्रयोग मुन्धुममा नभए पनि तीन चार सय वर्षअघिदेखि लिखत र पछिल्लो समयमा थिबोङ याक्थुङ भनेर बोलचालमा प्रचुरमात्रामा प्रयोग भइआएको छ । यसले मुन्धुम ५/७ सय वर्ष यता निर्माण भएको हैन भन्ने पुष्टि गर्दछ । मुन्धुममा आठ राजा (सावायेत्हाङसा) र नौ राजाका सन्तान (फाङहाङसा) बारेमा प्रशस्त वर्णन भए पनि अन्य शास्त्र तथा साहित्य र इतिहासमा यिनीहरुबारे पर्याप्त संकेत गरेको पाइन्न ।

प्राचीन विदेह राज्यको नजिक पूर्वी भागमा रहेको पहाडी भागका ७ किरात राजालाई पाण्डुपुत्र भीमले हराएको भन्ने कुरा हिन्दु आर्य साहित्यमा पढ्न पाइन्छ । ती ७ किरात राजा को को र कहाँ कहाँका थिए भन्ने सहज ढंगले टुंगो लगाउन सकिने स्थिति छैन । यति भन्न सकिन्छ‚ किरात भनिएका ७ राजाहरु मुन्धुम्मै वर्णित सावायेत्हाङहरु नै हुन् । महाभारतका एक नायक भीमको समय लगभग ईसापूर्व ७९० तिर हो । महाभारत युद्ध ईसापूर्व ७९० को आसपासमा भएको थियो । यसले पनि मुन्धुम ईसापूर्व आठौँ शताब्दीभन्दा अघि नै निर्माण भएको थियो भन्ने पुष्टि गर्न मद्दत गर्दछ ।

आर्यको ऋगवेद र ऋगवेदपछिका वैदिक साहित्यहरुमा किरातहरुको नाम लिइएको छ । नेपालका राई, लिम्बु, याख्खा र सुनुवारलाई किरात भनी बुझ्ने गरिन्छ । नेपाल खाल्डोमा किरातहरुले करिब ३२ पुस्ता राज्य गरेको इतिहास छ । किरात शब्दको उत्पति र प्रयोग जे जसरी भए पनि यो धेरै जाति समुदायलाई समेट्ने एउटा ठूलो मानव समुदाय हो । किरात भन्ने शब्द पनि मुन्धुममा नपाइने भएकोले मुन्धुमको निर्माण किरात शब्द प्रचलनमा आउनुअघि नै भएको हो भनेर दाबी गर्न सकिन्छ । यसले कतिपय मुन्धुमको निर्माण ईसापूर्व १/२ शताब्दीदेखि ईसापूर्व १४/१५ शताब्दीको अवधिसम्म लैजान्छ । तर यसलाई तार्किक निश्कर्षमा पुर्याउन अरु प्रमाण र तर्कहरुको आवश्यक्ता पर्दछ ।

मुन्धुममा प्रयोग भएको भाषा भनेको लिम्बु (हाल लिम्बु भनिएको) हो । मुन्धुम र लिम्बु भाषाको विकास सँगसँगै गाँसिएको छ । मुन्धुम परम्परागत लिम्बु भाषा (Classical Limbu Language) मा रहेको छ । मुन्धुममा प्रयोग भएका कतिपय शब्दको अर्थ लगाउन पनि गाह्रो छ । लिम्बु भाषाको विकास हुन कति समय लाग्यो होला भन्ने निर्धारणले मुन्धुमको निर्माणकाल निर्धारण गर्न सजिलो हुन्छ । एउटा भाषाको विकास हुन हजारौँ हजार वर्ष लागेको देखिएको छ । कुनै पनि भाषा विकासको शुरुवात ढुंगेयुगीन समयदेखि एउटै समूह र भूगोलमा लामो समयसम्म संगसंगै रहँदा बस्दा भएको मानिन्छ । ढुंगेयुग ईसापूर्व ३५,००० देखि १०,००० वर्षसम्म मानिन्छ । नवढुंगेयुग (Neolithic Period) को समय ईसापूर्व १०,००० देखि ५,००० वर्षसम्म मानिन्छ । उत्तरी भारतमा तामा ईसा पूर्व २,००० वर्षदेखि प्रयोगमा थियो भने फलाम युग (Iron Age) ईसापूर्व २,००० देखि १,६०० वर्षसम्म मानिन्छ । कसैले यो समय ईसापूर्व २३०० देखि १००० वर्ष मान्दछन् । उत्तरी भारतमा तामा ईसापूर्व ४,००० वर्षदेखि प्रयोग हुन शुरु भयो र यो प्रविधि हिमालय खण्डमा थियो भन्ने भनाइ छ । सुन र चाँदीको जानकारी र प्रयोग प्राचीन समयमा दक्षिण भारतमा ईसापूर्व १ शताब्दीको आसपासमा भएको देखिन्छ । चीनमा साङ्ग राजवंशको समयमा सुनको प्रयोग भएको देखिन्छ । साङ्ग राजवंशको शासनकाल ईसापूर्व १७६६ देखि ११२२ (ईसा पूर्व १५५८—१०४६ बेम्बो एनल अनुसार) सम्म रहेको पाइन्छ । येलो रिभर भ्यालीमा शासन गर्ने साङ्ग राजवंशको समयमा प्रयोग भएको सुनको महिमा र प्रयोग तिव्वब हुदै तिब्बतसँग जोडिएको भूभागमा पनि आएको देखिन्छ ।

मुन्धुममा सावायेत्हाङका सन्तानहरु सुन, चाँदी, तामा र फलामबारे जानकार रहेको वर्णन आउँछ । साम्सोघा मुन्धुम्मा तति (बन्चरो) र वाफे (खुर्पा) ले प्रेतात्मा बस्ने टुनीको रुखलाई ढालेको वर्णन आउँछ । त्यसैगरी, सोही मुन्धुममा साम्पोरीमा मेम्पोरीमा चेलीलाई साम्याङ (सुन) र युक्पा (चादी) को गहना माइतीहरुले दिएको वर्णन आउँछ । सुनसम्बन्धी जानकारीलाई आधार बनाएर विश्लेषण गर्दा मुन्धुममा वर्णन गरिएको सुनको समय ईसापूर्व १५०० वर्षभन्दा अगाडि जाँदैन । यसले कतिपय मुन्धुमको निर्माण ईसापूर्व १५औँ शताब्दीदेखि ईसापूर्व १/२ शताब्दीबीचको समयमा भएको भनेर अन्दाज गर्न सकिन्छ ।

मुन्धुममा एउटा चाखलाग्दो कथा आउँछ जलप्रलयको । सो जलप्रलयमा असंख्य जीव प्राणी र मानव समूह डुबेर अस्तित्व गायब भएको र लेप्मुहाङले नौका(डुंगा) मा केही जीव, प्राणी तथा आफ्नो वंश मानव समूहलाई राखी अस्तित्व लोप हुनबाट बचाएको वर्णन आउँछ । नेपालसहितको हिमालय खण्डको ठुलो भूभाग भारतीय प्लेट र युरेसिया प्लेट ठोक्किने भूक्षेत्रमा पर्दछ । भारतीय प्लेट र युरेसिया प्लेट करिब ३५,००० देखि ५५,००० लाख वर्षअघि ठोक्किएको भूगर्वविदहरुले अनुमान गरेका छन् । यो ठोक्किने र यस भूक्षेत्रमा प्रलय आउने क्रम जारी नै छ । कति र कुन कुन समयमा यी दुई प्लेट ठोक्किएर कस्ता कस्ता प्रलय आए त्यो भने पढ्न पाइन्न । वैज्ञानिकहरुले मध्यएसियामा १०,००० वर्षयता पृथ्वीमा ठूलै हलचल ल्याउने र सतहमा ठूलै फेरबदल गर्ने प्रलय नभएको बताएका छन् । यसले, मुन्धुममा वर्णित जलप्रलय १०,००० वर्षभन्दा अगाडि अर्थात पुरानो ढुंगेयुगमै भएको घटना हुन सक्छ । भूगर्वविदहरु हरेक १०० देखि १५० वर्षको अन्तरालमा ठूलठूला भूकम्प आउने र त्यसले व्यापक क्षति तथा भूसतहमा पनि थोरबहुत परिवर्तन गर्दै आइरहेको बताउँछन् । कुनै समयमा तिब्बत र भारतबीच टेथिस सागर थियो र दुईवटा प्लेट सरेर जोडिन आउँदा अहिलेका हिमालय र पहाडी भूभागसहित गंगाको मैदान बन्यो भन्ने भनाइ पनि छ । मुन्धुममा वर्णन गरिएको जलप्रलय पनि दुई प्लेट पहिलो पटक ठोक्किएर हिमाल, पहाड र मैदान बनेको लाखौ हजारौ वर्षपछि यस क्षेत्रमा मानव समूह बस्न थालेपछि यस भूक्षेत्रमा कुनै समयमा दुई प्लेटबीच घर्षण हुँदा आएको प्रलय हुन सक्छ । मुन्धुममा जलप्रलयको घटना धेरै अघि भएको‚ सुन तथा चाँदीको ज्ञान तथा प्रयोग गर्ने संस्कृति र संस्कार निर्माणको काल निकै पछि भएको संकेत गर्दछ । यसले श्रुति परम्पराबाट दरसन्तानमा सुन्दै सुनाउँदै आएको मुन्धुमको प्राचीनता र प्रागऐतिहासिककालमा निर्माण भएको कुरालाई यी तथ्य र तर्कले पुष्टि गर्न सहयोग गर्दछन् ।

मुन्धुमको निर्माण तथा विकास भएको स्थान

सामाजिक तथा नावाचईत मुन्धुमले ब्रहमाण्डको उत्पति र मानवको उत्पतिबारे अरु कुनै धार्मिक ग्रन्थ र दर्शनभन्दा फरक खाले मत प्रस्तुत गरेका छन् । अहिलेको विज्ञानले राखिरहेको ब्रहमाण्ड उत्पतिको विचारजस्तै मुन्धुमले पनि भन्छ: तारा, चन्द्र, सूर्य, पृथ्वी, आकास, हावा, पानी केही थिएन खालि अन्धकार थियो । सो अन्धकारमा ताङ्गेरा निङवाफुमाङले उज्यालो दिनुभयो र यस ब्रह्माण्डको सृष्टि गर्नुभयो । मुन्धुमले पोरक्मी यम्फामी भन्ने देवताले मानवको सृष्टि खरानी, सुली र पानीबाट गरेको वर्णनका साथै त्यसबाट मुजिक्ना खेयोङना अर्थात खिजोरा (रेसाजस्तो हल्लिने जीव) को विकास भयो । यहिँबाट अहिलेको मानव बन्यो भन्ने मुन्धुमले वर्णन गर्दछ ।

मुन्धुममा मनातेम्भे, मनासावर, सोन्धुङगेन वरक, खाम्फुरादेन, मिकफुरादेन, थोसुलुङ, योसुलुङ, ताईलेक्यन, साम्रोक्यन, सिन्युक्यन, मुदेनजस्ता ठाउँका नाम आउँछन् । सिन्युकलाई चीन र मुदेनलाई भोट भन्ने बुझाइ छ । यसैगरी, आप्ताङ्वा, तिदाङ्वा, ताभ्मावा (काबेली ?), थेमुवा, साम्याङ्वा (सुनकोशी ?), युप्पावा (दूधकोशी ?), ताःम्बावा (तामाकोशी ?), फेन्जेवा (कालीगण्डकी ?) जस्ता स्वच्छ खोलाहरूको सृष्टि भएको वर्णन आउँछ । चीन र भोटको बुझाइ हुने ठाउँबाहेक बाकी ठाउँ र नदी कहाँका कुन कुन हुन् भनेर तोकेरै भन्न सकिने स्थिति छैन । मुन्धुमले विभिन्न मानव समूहको पनि वर्णन गर्दछ । ती मानव समूहमा सिन्युक्काङ् साहा (चिनीया सन्तान), मुदेन्नाङ साहा (भोटीया सन्तान), तेÞमÞेन्नाङ साहा (औल मैदानका सन्तान), वलक्काङ् साहा (सागर पार गरी आउनेका सन्तान), खाम्जिरि साहा (यही माटोमा जन्मेकाका सन्तान), खाम्बोःङ्बा साहा (यही भूमिमा उत्पन्न भएकाका सन्तान), लुङ्जिरिसाहा (यहीँको ढुङ्गाबाट निस्केकाका सन्तान), लुम्बोःङ्बासाहा (यहीँको ढुङ्गा माटोका सन्तान), सावाला साहा?, येत्हाङ साहा? हरुको वर्णन आउँछ र आज लिम्बु भनिएका आदिम मानव समूह तिनैका सन्तान भएको कुरा गर्दछ ।

साम्जिक (सृष्टि) मुन्धुमलाई छोडेर संस्कृति र संस्कारबारेका मुन्धुम, जीवन पद्धतिबारेको मुन्धुम र धर्म संस्कार गरिने विधि तथा प्रक्रिया सम्बन्धका मुन्धुमहरुमा हाल लिम्बुहरु बसोबास गरिरहेका तम्मर नदी, मेवा, मैया नदी, औल मैदान, बराह क्षेत्र आसपासको त्रिवेणी, निग्रादेन आदि ठाउँहरु र तिनीहरुकै आसपासका ठाउँ नदीनाला, पहाडहरुको वर्णन आउँछ । तिनै ठाउँमा बसोबास गरिरहेका आदिम मानव जाति र उनीहरुले किन र कसरी अहिले गरिरहेको संस्कृति र संस्कारको विकास गर्नुपर्यो, जीवन पद्धति कसरी चलाउनु पर्यो र ती संस्कृति, संस्कार तथा परम्परा के कसरी गरिन्छ भन्ने वर्णन आउँछ । यसले साम्जिक मुन्धुमलाई छोडेर बाँकी मुन्धुम हाल लिम्बुवान भनिएको लिम्बु जाति बसोबास भएको भूक्षेत्रमा नै निर्माण र विकास भएको देखाउँछ ।

वैशाख २०७३
चांगाथली, ललितपुर/ इसमाताबाट साभार