‘दाई म पनि अस्ट्रेलिया आउँदै छु । भिसा लागिसक्यो । के के ल्याउन पर्छ एसो भन्दिनु न,’ मैले अस्ट्रेलियामा बसोबास गर्ने दाईहरूलाई सोधेका कुराहरू हुन् यी। जवाफ— दैनिक चाहिने समान ल्याऊ । एउटा कालो पेन्ट र कालो जुत्ता हाल्न चाही नबिर्सनु है।

ठूलै मान्छे बन्ने र पुनः नेपाल फर्कने सपनासहित आइयो अस्ट्रेलिया। अब यताको कुरा त कति गर्नू, धेरै कुरा पहिलो पटक देखिदै, भोग्दै र अगाल्दै दिनहरू बित्दै छन्। सुरुमा कतै नेपाली जस्तो देख्यो त बोल्न मन लाग्ने। कहाँ को भनेर सोध्न मन लाग्ने। सोधियो पनि धेरै जनालाई।

अनि खै किन हो कुन्नि नेपाली दाजु-भाई, दिदी-बहिनीहरूलाई काठमाडौँबाट भने पछि ठूलै मान्छे भन्ने लाग्दो रहेछ क्यारे। बागमती अञ्चल त के कुरा गर्नु पुरै मध्यमाञ्चल जता भए पनि काठमाडौँ भन्ने चलन रहेछ।

अर्को कुरा, यहाँको जीवन शैली। मैले देखेको प्रायः सबै जनाको २ वटा लाइफ हुँदो रहेछ । एउटा कामको र अर्को चाहीं बिदेशी लाइफ (जुन नेपालमा हुनेलाई लाग्छ) । आएको २/४ दिन बाटै बुझियो त्यो कालो पेन्ट र कालो जुत्ता ल्याउनुको अर्थ।

सरसफाईमा ध्यान दिनुपर्ने ठाउँमा काम गर्न चाहीँ कालो पेन्ट र कालो जुत्ता अनिवार्य रहेछ । हुन त यस्तो कुरा गर्दा राम्रो नहोला, तर जुन ठाउँमा दिशा गरेर धुनुको सट्टा पुछेर हिँड्छन त्यही ठाउँमा सबैभन्दा धेरै सरसफाई गर्नुपर्दो रहेछ। जति कुरा गरे पनि प्रायः हामी नेपालीहरूले पहिला गर्ने भनेको काम चाही क्लिनिङ नै हो। चाहे भाँडा होस् वा अरु कुनै कुरा।

यहाँको वातावरण नै यस्तो छ कि जति गर्दिनँ भने पनि केही नगरी बस्न नसकिदो रहेछ। हुन त पुगे पो बस्ने केही नगरी। आफ्नो खर्च धान्नको लागि मात्र भए पनि काम गर्नैपर्छ यहाँ । नेपालमा जस्तो पैसा सकिदा कराउने र माग्ने ठाउँ नै कहाँ हुन्छ ? सबै भन्दा महँगो एजुकेशन, एकोमोडेशन र ट्रान्सपोटेसन (शिक्षा, बसाई र यातायात) जुन कुरा तिर्दिनँ भनेर सुखै छैन।

खासमा भन्नु पर्दा नेपालमा डुलेर, बाउ आमालाई नटेरी हिड्नेहरूले सबक सिक्ने ठाउँ रहेछ अस्ट्रेलिया। तर, जीवनलाई संघर्ष मान्नेहरुका लागि भने अवसरको खानी हो अस्ट्रेलिया।

अस्ट्रेलिया आफ्नो गन्तब्य किन बनाए ? किन आए, भन्ने कुरा जान्न मन छैन मलाई। भनिन्छ, भगवानको कथा र मान्छेको व्यथा कहिल्यै पनि सकिदैन।

अर्को बुझ्न पर्ने पाटो भनेको, यहाँ आफ्नासँगै धेरै डराउन पर्दो रहेछ। मतलब अरूलेभन्दा नेपालीले नै नेपालीलाई हेप्ने र ठग्ने। पहिला काम पाउन गाह्रो पाए पछि पैसा नपाईने भन्ने डर। सुरूबाटै काम गरेर सबै पैसा पाउने मान्छे मैले यो ४ महिनासम्म भेटेको छैन।

जसको म आँफै पनि एउटा पात्र हुँ। केही पाठ, केही अनुभव र धेरै आशा बोकेर अर्को अझै राम्रो काम खोज्दा खोज्दा ४-५ महिना बित्दोरहेछ। भावनाका कुरा गरेर यसलाई झन् लामो नबनाउँ। हेमन्त रानाको ‘लैजा रे’ भन्ने गीतले सबै कुरा भन्छ हाम्रो कुरा।

काम र पढाई पछि गरिने रमाईलोको कुरै नगरौं। बाँधेर राखेको कुकुरको साङ्ग्लो फुकाल्दा पुरै गाउँ डूले जस्तो। अर्को कुरा यहाँ तैले यस्तो गरिस्, वा कसैले घरमा भन्देला भन्ने डर पनि भएन, अनि त किन रोकिनु छ? घर परिवारको बन्देजबाट स्वतन्त्र र आफैंले कमाउन सक्ने भएपछि रमाइलो गर्न झन् सजिलो।

नेपाली विद्यार्थी घर देखि टाढा हुँदा कति धेरै स्वन्तन्त्र हुन्छन् भन्ने प्रमाण हेर्न कुनै नेपाली इभेन्टमा जानै पर्छ। त्यहाँ छर्लंङ देखिन्छ। जो जससँग, जसरी हिँडे पनि कसैलाई कसैको वास्तै हुँदैन। यहाँ केटा केटी सँगै हिड्नभन्दा पनि केटी केटी वा केटा केटा सँगै हिड्दा बढी शंका गर्दछन्।

पैसा खर्च गरे पछि सबै कुरा पाइने ठाउँमा अरु कुराहरूको त कुरै नगरौं, चाहाना र पैसा हुन पर्‍यो बस्। नेपालमा भएका साथीहरूले फेसबुकमा रमाएका र घुमेका फोटोहरू राखेपछि हाम्लाई (परदेशी लाई) पनि दुःखको कुरा किन हाल्न मन लाग्छ र! आखिर दुःख देखाएर सत्रुलाई किन खुसी बनाउने? यसरी नै महिना दिन को दुःख, एक दिनको रमाइलो सँग बिर्सेर उज्ज्वल भबिष्यको सपना देख्दै बित्दै छ हाम्रो अजि लाईफ। – सेतोपाटीबाट