काठमाडौं, २९ वैशाख । नेपाल औषधि आयातकर्ता संघले स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वदेशी औषधि उद्योगीहरूको दवावमा आई गठन गरेको कार्यदलको विरोध गर्दै मुखमा कालोपट्टि बाँधी औषधि व्यवस्था विभागमा ज्ञापनपत्र बुझाएका छन् ।

स्वास्थ्यमन्त्री थापा औषधि उद्योगीहरूको दवावमा परेर बिरामीहरूलाई मर्का पर्ने गरेर निर्णय गरेको संघले आरोप लगाउँदै आएको छ ।

संघका अध्यक्ष अञ्जन पुडासैनीको नेतृत्वमा शुक्रबार बिहान दश बजे औषधि व्यवस्था विभागको कार्यालय बबरमहलमा जम्मा भएका औषधि आयातकर्ताहरूले स्वास्थ्यमन्त्री गगनकुमार थापाको मनपरितन्त्रविरुद्ध ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले आफू निकटका औषधि व्यवसायी र उद्योगीहरूलाई लाभ हुने गरी बिरामीलाई असर पर्ने गरेर दीर्घकालीन असर पर्ने निर्णय गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

संघका महासचिव पवन आचार्यले राज्यले वैज्ञानिक आधारमा जनतालाई सहुलियत दिने गरेर हुने कुनै पनि निर्णयमा आफूहरूको साथ रहने तर, सीमित औषधि उद्योगी व्यवसायीहरूको दवावमा भए गरेका निर्णयविरुद्ध सधैँ विरोध गर्ने चेतावनी दिए ।

उनले भने, ‘हामीले स्वास्थ्य विभागले तोकेको मापदण्डभित्र रहेर गुणस्तरीय र सस्तो औषधि आयात गरेर उपलब्ध गराउँदै आएका छौँ । तर, नेपालका सीमित औषधि व्यवसायीहरूको दवावमा परेर स्वास्थ्यमन्त्री गगनकुमार थापाज्यूले महँगोमा औषधि किन्न बाध्य पार्दै हुनुहुन्छ । यो विषय गम्भीर छ । उहाँले बिरामीहरू स्वास्थ्यसँग खेलवाड गर्दै हुनुहन्छ ।’

स्वास्थ्यमन्त्री थापाले औषधि र स्वास्थ्य क्षेत्रसँग गरेको खेलवाड र अनियमितताको प्रमाणहरू मिडियाले चाहेको अवस्थामा दिन सधैँ तयार रहेको महासचिव आचार्यले बताए । उनले आवश्यक परेमा स्वास्थ्यमन्त्री थापाको ‘एकएक कर्तुत’ बाहिर ल्याउन तयार रहेको बताए ।

संघका अध्यक्ष अञ्जन पुडासैनीले सस्तोमा औषधि आयात गरेर बिरामीलाई उपलब्ध गराउँदै आएका व्यवसायीहरूलाई दुःख दिन थालेपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाविरुद्ध आन्दोलनमा उत्रिनु परेको बताए । उनले भने, ‘उहाँले गरेका राम्रो कामको हामी समर्थक हौँ । तर, बिरामीको स्वास्थ्यसँग हुने खेलवाडविरुद्ध सधै मुकाविला गर्ने छौं ।’

यसअघि बिहीबार पत्रकार सम्मेलन गरेर संघले स्वास्थ्यमन्त्री थापाले औषधि खरिदका विषयमा गरेको ठूलो अनियमितताको पर्दाफास गरेको थियो ।