कोरोना प्रभाव : डिजेल पेट्रोलको माग घट्यो ग्यासको बढ्यो


काठमाडौं, ११ चैत । पछिल्लो समय विश्भर फैलिएको कोरोना भाइसरको प्रभाव इन्धनमा पनि देखिएको छ । कोरोना भाइरसकै कारण डिजेल तथा पेट्रोलको माग घटेको छ भने ग्यासको माग बढेको छ ।

गत डिसेम्बरको अन्तमा चीनको वुहानबाट सुरूभएको कोरोना भाइरस विश्वभर फैलिएसँगै आवत जावतमा कमि आएपछि डिजेल तथा पेट्रोलको माग घटेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको दैनिक उपभोग्य वस्तुको मोज्दात स्थिति विवरणले डिजेल तथा पेट्रोलको माग घटेको देखाएको छ भने ग्यासको बढेको देखाएको छ ।

विवरण अनुसार पेट्रोलियम पदार्थ हाल ४९ हजार ९ सय ८० किलोलिटर मौज्दात रहेको छ ।

पेट्रोलको माग प्रतिदिन ४ हजार किलोलिटर रहेकोमा हाल २ हजार ७ सय २१ किलि खपत भइरहेको छ। ५ हजार ९ सय ४७ किलोलिटर मौज्दात रहेको छ ।

त्यस्तै डिजेल प्रतिदिन १० हजार किलोलिटर माग रहेकोमा हाल ८ हजार ६ सय ३७ किलि खपत भएको छ। ३४ हजार १ सय ७४ किलोलिटर मौज्दात रहेको छ । हवाई इन्धन दैनिक ८ सय खपत हुने गरेकोमा हाल करिब २ सय किलि हुने गरेको विवरणमा उल्लेख छ । ७ हजार १ सय ७६ किलि हवाई इन्धन मौज्दात रहेको छ ।

एलपी ग्यास दैनिक १३ सय मेट माग रहेकोमा हाल ३१ हजार २ सय २४ मेट माग हुने गरेको छ । यसले ग्यासको खपत दुई गुणाभन्दा बढीले बढेको देखाउँछ । ग्यासको मासिक कोटा ३८ हजार मेट रहेको छ ।

कोरोना भाइरसबाट बच्न उच्च शतर्कता अपनाउँदै नेपाल सरकारले मङ्गलबारबाट एकसाताका लागि ‘लकडाउन’ गरेको छ । यसले पनि इन्धनको माग अझै घट्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस