कोराना भाइरसको त्रासका कारण जलविद्युत् आयोजनाको निर्माण ठप्प


म्याग्दी, १४ चैत । कोराना भाइरसको त्रासका कारण म्याग्दीमा जलविद्युत्लगायत विकास आयोजना निर्माण ठप्प भएका छन् । भाइरस भित्रन नदिन र रोकथामका लागि सरकारले गरेको लकडाउन तथा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि २७८.५ मेगावाट क्षमताका छ आयोजना निर्माण रोकिएका हुन् । लकडाउन र निषेधाज्ञापछि आयोजना रोकिँदा हजाराँै मजदुर प्रभावित भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको दानामा २२० केभी क्षमताको सवस्टेशन र प्रसारण लाइन निर्माणाधीन छ । नारच्याङस्थित ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण रोकिएको प्रवद्र्धकले जनाएका छन् ।

रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट र ३७.५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजना निर्माणाधीन छन् । मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुङ्गा सवस्टेशन निर्माणाधीन छन् । ४०० भन्दा बढी मजदुरलाई विभिन्न क्याम्पमा सुरक्षित साथ राखिएको निलगिरि हाइड्रोका इञ्जीनियर केशव वाग्लेले बताउनुभयो । मिस्त्रीखोला जलविद्युत् आयोजनाका इञ्जीनियर दिवाकर खड्काका अनुसार ३०० भन्दा बढी मजदुर, प्राविधिक पनि काम रोकेर एकान्तवास बसेका छन् ।

निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला वैशाखभित्र परीक्षण उत्पादन गर्ने तयारी थियो । घारखोलाको प्रवद्र्धक म्याग्दी हाइड्रोपावरका प्रकाशचन्द्र पौडेलले ३०० भन्दा बढी मजदुर क्याम्पमा बसेको बताउनुभयो । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले लकडाउन घोषणालगत्तै आयोजनाको काम रोकिएको बताउनुभयो । भारतीय ठेकेदार कम्पनी जेपी एसोसिएट्सका ४०० भन्दा बढी मजदुरलाई क्याम्पमा राखिएको छ ।

सतर्कता अपनाएर क्याम्पबाट बाहिर ननिस्कन निर्देशन दिइएको छ । बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम पनि ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष नारायण जिसीले बताउनुभयो । कोरोनाको त्रासले जलविद्युत्लगायत पूर्वाधार आयोजनाको कार्यतालिका प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले खाद्यान्न र ग्यासको अभाव नभएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस