३० दिनका लागि युट्युबले घटायो भिडिओको गुणस्तर


एजेन्सी, १४ चैत । युट्युबले गत मगंलबारदेखि आफ्नो भिडिओको गुणस्तर कम गरेको छ । युट्युब खोल्नेबित्तिकै चल्ने साविकको ‘डिफल्ट’ मा ‘एचडी’ बाट एक स्तर कम गरी कम्पनीले ‘स्ट्यान्डर्ड’ मा बदलेको जनाएको छ ।

संसारभर कोरोना भाइरसका कारण धेरै देश लकडाउनमा छन् । मान्छेहरू घरै बस्न बाध्य भएकाले दिनभर धेरैजसो इन्टरनेटमै झुम्मिएका छन् । यस्तो बेलामा इन्टरनेट पूर्वाधारको भार कम गर्न यो नीति लिइएको युट्युबले जनाएको छ ।

प्रयोगकर्ताले अझै पनि भिडिओ खोलेर आफूले चाहेको गुणस्तरमा परिवर्तन गर्न भने सक्छन् । यो अहिलेलाई तीस दिनसम्म लागू हुने भनिएको छ ।

युट्युवले जारी गरेको एक विज्ञप्ति अनुसार यो पहल गर्नु भनेको अभूतपूर्व अवस्थाका बेला सबैलाई आवश्यक प्रणालीमा भार कम गर्न खोजिएको हो ।

इन्टरनेट प्रवाहमा समस्या आउन नदिन यसअघि नै युट्युब र नेटफ्लिक्सले युरोपमा सीमित समयका लागि भिडिओ गुणस्तर कम गर्ने सूचना जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस