मन्त्रीहरुले लगनशील र इमान्दार हुनुपर्ने : मुख्यमन्त्री पौडेल


मकवानपुर, १२ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस नियन्त्रण तथा उपचार गर्ने कार्यमा प्रदेशका मन्त्रीहरुले लगनशिल र इमान्दारीपूर्वक प्रदेशका जिल्लाका अस्पतालमा आइसुलेशनको व्यवस्था र अस्पतालको प्रत्यक्ष अनुगमन गर्नेतर्फ ध्यान केन्द्रित रहन आग्रह गर्नुभएको छ ।

उहाँले आज आफ्नै कार्यकक्षमा मन्त्रीहरुसँग विचारविमर्स गर्दै सबै मन्त्रालयको नियमित काम कारबाही अवरोध नहुने गरी सञ्चालन गर्नेतर्फ पनि व्यवस्थापन मिलाउन निर्देशन दिनुभयो । उहाँले स्थानीय निकायका जनप्रतिनिधिलाई पनि साथै लिएर सबै सरकारी अस्पतालमा कोरोनाको सङ्क्रमणका बिरामी आउँदा सद्भावपूर्ण व्यवहार गर्दै रोगलाई नियन्त्रण गर्नेतर्फ प्रयास केन्द्रीत राख्न पनि आग्रह गर्नुभयो । 

प्रदेश सरकारका तर्फबाट हेटौँडास्थित राष्ट्रिय वाणिज्य बैंकमा कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार सेवा कोष स्थापना गर्न नियामावली २०७६ अनूसार आजै खाता सञ्चालन गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । काभ्रे, दोलखा, रामेछाप, सिन्धली, ललितपुर, भक्तपुर, धादिङ, चितवन, मकवानपुर, रसुवा र नुवाकोटमा रहेका सरकारी अस्पताललाई आइसुलेशनको छुट्टाछु्ट्टै व्यवस्था गर्न कोरोना भाइरस नियन्त्रण कक्षले सेवा उपलब्ध गराउन व्यवस्थापन मिलाइसकेको जानकारी उहाँले दिनुभयो ।

नेकपा र नेका संसदीय दलद्वारा पारिश्रमीक प्रदान

कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उपचार कोष बागमती प्रदेशका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका तर्फबाट सांसदहरुको १५ दिनको पारिश्रमिक प्रदान गर्ने आज निर्णय गरेको छ । 

यसैगरी उक्त उचार कोष स्थापनाका लागि प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका तर्फबाट एक हप्ताको पारिश्रमिक प्रदान गर्ने निर्णय भएको नेका संसदीय दलका प्रमुख सचेत राधा घलेले जानकारी दिनुभयो । 
प्रतिक्रिया दिनुहोस