अस्ट्रेलियामा एउटै अपार्टमेन्टमा बस्ने सात नेपाली कोरोना सं’क्रमित


काठमाडौं, १५ चैत । अस्ट्रेलियामा रहेका सात जना नेपालीमा कोरोनाभाइरसको सं’क्रमण पोजेटिभ देखिएको छ ।

सिड्नीको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चार जना नेपाली विद्यार्थीमा कोरोना सं’क्रमण भएको पुष्टि भएको छ भने उनीहरू हाल आइसोलेसनमा रहेका छन् ।

उनीहरू बस्ने अपार्टमेन्टमा ५० भन्दा बढी नेपाली विद्यार्थी समेत बसोबास गर्दै आएका छन् ।

‘ग्रानभिलमा एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य तीन जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना सं’क्रमण पुष्टि भएको र उनीहरू आफ्नै अपार्टमेन्टमा आइसोलेसनमा रहेका छन्’, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भने,‘हामीले उनीहरूको स्वास्थ्य स्थितिका बारेमा चासो राखेका छौं । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको जानकारी आएको छ ।’

यसैगरी, मेलवर्नमा एकै परिवारमा रहेका तीन जनामा कोरोना सं’क्रमण देखिएपछि उनीहरूसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्न थालिएको छ ।

‘हामीकहाँ हालसम्म सिड्नीको ग्रानभिल र मेलवर्नमा बसोबास गर्ने सात जना नेपालीमा संक्रमण भएको खबर प्राप्त भएको र दूतावासले उनीहरूसँग सम्पर्क गरिरहेको छ’, राजदूत दाहालले भने।

कोरोनाको संक्रमणले संसार आतंकित बन्दै गएको बेला अस्ट्रेलियामा भने अझै सार्वजनिक यातायात र सपिङ सेन्टरहरू बन्द भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस