कोरोना रोकथाम कोषलाई हालसम्मै ठुलो रकम दिने पहिलो व्यक्ति बने अक्षय कुमार, दिए ४० करोड रुपयाँ !


एजेन्सी, १६ चैत । भारत सरकारको कोरोना भाइरस रोकथाम कोषमा बलिउड अभिनेता अक्षय कुमारले २५ करोड रूपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

शनिबार आफ्नो आधिकारिक ट्विटरमार्फत् उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको कोषमा २५ करोड भारू दिने बताएका हुन् । आजसम्म यो कोषमा यति धेरै रकम दिने बलिउड कलाकार अक्षय पहिलो व्यक्ति हुन् ।

अक्षयले भनेका छन्, ‘यति बेला मान्छेको जीवनभन्दा महत्वपूर्ण केही छैन। त्यसैले हामीले जे-जसरी गर्न सकिन्छ, गर्नुपर्छ। म प्रधानमन्त्री कोषमा २५ करोड भारू सहयोग गर्दैछु। आउनुस्, जीवन बचाऔं ।’

उनको यो निर्णयमा आफूलाई गर्व लागेको बताउँदै उनकी श्रीमती ट्विंकल खन्नाले पनि ट्विट गरेकी छन् ।

ट्विंकलले भनेकी छन्, ‘यो मान्छेले मलाई गर्व महशुस गराउँछ । यति धेरै रकमबारे जब मैले उनलाई यो निर्णय पक्का हो भनेर सोधेँ उनले यत्ति मात्र भने- मसँग केही पनि थिएन । तर आज यो स्थितिमा पुगेको छु । केही पनि नभएकाहरूका लागि म केही गर्न सक्छु भने आफूलाई कसरी रोकूँ?’

सामाजिक सञ्जालमा अहिले अक्षयको सहयोगबारे खुबै चर्चा भइरहेको छ ।

यसअघि नै बलिउड र दक्षिण भारतीय अरू कलाकारले पनि कोरोना रोकथामका निम्ति सहयोग गरिसकेका छन् । ‘बाहुबली’ अभिनेता प्रभासले ६ करोड ४० लाख, पवन कल्याणले तीन करोड २० लाख, महेश बाबूले एक करोड ६० लाख, अलु अर्जुनले ४० लाख, राम चरणले एक करोड बाह्र लाख रूपैयाँ दिइसकेका छन् ।

यस्तै रजनीकान्तले मजदुरहरूको सहयोगका लागि ८० लाख रूपैयाँ दिएका छन् । कमल हसनले आफ्नो घरलाई नै अस्पताल बनाउन दिने भनेका छन् । कमेडियन कपिल शर्माले पनि ८० लाख रूपैयाँ सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस