बेलायतका स्वास्थकर्मीलाई निशुल्क नेपाली खानाको व्यवस्था गर्दै आचार्य दाजुभाई


लण्डन, १८ चैत । बेलायतका स्वास्थ्यकर्मीलाई त्यहाँस्थित एक नेपाली रेष्टुरेन्टले निशुल्क नेपाली खाना दिने व्यवस्था गरेको छ । बेलायतमा लामो समयदेखि व्यवसाय गर्दै आइरहेका दुई जना कुल आर्चाय र दधि आर्चायको होली काउ टेकवे रेष्टुरेन्टले यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत स्वास्थकर्मीहरुलाई निशुल्क खाना दिने व्यवस्था गरेको हो ।

होलीकाउले आफ्ना ९ वटा ब्रान्चका टेकवे र एक फाईड डाईन रेष्टुरेन्टका सेरोफेरोमा रहेका अस्पतालहरूमा यसरी निशुल्क खाना दिंदै आइरहेको बताइएको छ ।

कोरोनाको महामारीमा अग्रपङतिमा रहेर धेरैको ज्या’न बचाइरहेरका डाक्टर र नर्सहरूको हौसला बढाउन सहयोग पुग्ने र अफ्ठारोमा आआफ्नो ठाउँबाट सबैले सक्दो सहयोग गर्नु पर्ने महसुस गर्दै आँफूहरूले यसरी सहयोग गरेको संचालक कुल आचार्यको भनाइ छ ।

आफ्नो जीवन जोखिममा राखेर पनि दिनरात जनताको सेवामा खटिरहेका स्वास्थकर्मीहरूलाई समयमा खानसमेत फुर्सद छैन भने कतिपयको लागि ब्रेक समय पनि नरहेको समाचार आइरहेका छन् ।

आचार्य दाजुभाइले यो महामारीका कारण भोकै बस्नु परेका वृद्धवृद्दालाई समेत निशुल्क खाना र अस्पतालका कर्मचारीहरूले अनलाईन अडर गर्दा २० प्रतिशत छुटसमेत प्रदान गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस