स्वास्थ्यकर्मीलाई घरभेटीले बस्न दिएनन्


सिन्धुली, १८ चैत । सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् ।

डेरा घरमा जाँदा दुव्र्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन् । डेरामा जाँदा घरभेटीले दुव्र्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिनुभयो ।

“अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ, अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएको छ”, उहाँले भन्नुभयो, “यति मात्र नभई अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएको छु”, उहाँले भन्नुभयो ।
यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । “यदि जोकोहीमा कोरोना नै नलागे पनि बिरामी पर्दा आउने अस्पताल नै हो र उपचार गर्ने उहाँहरु नै हुनुहुन्छ । यदि स्वास्थ्यकर्मीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन्छ”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने समय भएको भन्दै यस्ता गलत काम नगर्न उहाँले आग्रह गर्नुभयो ।

श्रमिकलाई राहत वितरण

यहाँको कमलामाई नगरपालिकाले श्रमिकलाई राहत प्याकेज ल्याएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण हुन नदिन भन्दै नेपाल सरकारले दैशैभर गरेको लकडाउनको अवधिमा श्रमिकलाई रहात प्यकेज ल्याएको हो ।

लकडाउनका कारण दैनिक काम गरेर जीवनयापन गरिरहेका श्रमिकलाई यस अवधिभर घरमै बसेर खान पुग्ने राहत वितरण गरिने नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । लकडाउनबाट दैनिक ज्याला मजदुरीबाट जीवीकोपार्जन गर्दै आएका नगर क्षेत्रका ३३ श्रमिकलाई खाद्यान्नको राहत प्याकेज प्रदान गरिएको प्रमुख खत्रीले जानकारी दिनुभयो ।

खोलाको किनारमा ढुङ्गा फुटाई गिट्टी बिक्री गरी दैनिकी चलाउँदै आएका ३३ श्रमिकलाई पहिलोपटक राहत दिइएको उहाँले बताउनुभयो । ३३ जनालाई २० केजी चामल, तीन केजी दाल, एक केजी चिनी, दुई केजी आलु, ५० ग्राम बेसार, एक लिटर तेल र १ केजी नुन दिइएको छ । सो राहत प्याकेजले श्रमिकलाई १० देखि १५ दिनसम्मका लागि पुग्ने अनुमान गरिएको छ । खोला किनारमै बसेर जीवन निर्वाह गर्नेमध्ये सोमबार सम्पर्कमा आएकालाई राहत उपलब्ध गराइएको र अन्यलाई पनि सम्पर्कमा आउन उहाँले आग्रह गर्नुभयो ।

यस्तै कमलामाई नगरपालिकाले विपन्न वर्गहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । स्वास्थ्य बीमा गरेका ३९४ जनालाई पनि राहत प्रदान गरिने प्रमुख खत्रीले जानकारी दिनुभयो । “लकडाउनका कारण विपन्न वर्ग पनि प्रभावित भएको र दैनिकी चलाउन समस्या भएको अवस्थामा नगरपालिकाले त्यस्ता वर्गलाई पनि राहत उपलब्ध गराउने छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस