ललितपुरमा लकडाउनको पूर्ण पालना
काठमाडौं, १८ चैत । ललितपुरमा लकडाउनको कडाईका साथ पालना गरिएको छ । लकडाउनको आठौं दिन अर्थात् दोश्रो चरणको लकडाउनको पहिलो दिन मंगलबार ललितपुरको चक्रपथ तथा भित्री सडकहरु सुनसान छन् ।
सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध सञ्चालनमा छन् । मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरभित्रै रहेका छन् ।
चक्रपथ र भित्री क्षेत्रको स्थिति हेर्दा ती क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको देखिन्छ । चक्रपथमा अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन् ।
सुरक्षाकर्मीले अनुमति विना संञ्चालन गरेका सवारी साधन नियन्त्रणमा लिएर चालकलाई घर फर्काउने गरेका छन् ।
त्यसैगरी पदैलयात्रीलाई भने केही समय यथास्थानमा नै राखेर आइन्दा लकडाउन उलंघन नगर्न घर बाहिर ननिस्कन सचेत गराउदै छोड्ने गरिएको छ ।