बुटवलको कोरोना बिशेष अस्पतालमा मृ’त्युवरण गरेका थापाकी श्रीमती भन्छिन् – ‘डाक्टरको लापरवाहीले पतिको ज्या’न गयो, क्षेतिपूर्ति नदिएसम्म श’ब बुझ्दिन’


बुटवल, १८ चैत । ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलको आइसोलेसन वार्डमा मृ’त्यु भएका ३४ वर्षीय बाबुराम थापाकी श्रीमती रीता थापाले आफ्ना पतिको मृ’त्यु अस्पतालको लापरवाहीले भएको आरोप लगाउंदै छानबिनको माग गरेकी छन् ।

कोरोना भएको भन्दै अस्पतालले राम्रोसँग उपचार नगर्दा पतिले अनाहकमा ज्या’न गु’माउनु परेको र आफू अन्यायमा परेको भन्दै थापा पत्नी रीताले छानबिन गर्न माग गरेकी हुन् ।

दुबईबाट चैत ६ गते नेपाल आएका थापालाई भोलिपल्ट ज्वरो आएको थियो । मुर्गियाको आचार्य मेडिकल पुगेका उनलाई टाइफाइड भएको भन्दै औषधि दिइएको थियो । तर, ज्वरो नरोकिएपछि उनी सरकारी हेल्थपोष्टमा चेक गराएर दुई दिन घरमै बसे । कोरोनाको शंका लागेर चैत १३ गते ई-रिक्सामा चढेर लुम्बिनी प्रादेशिक अस्पताल गएका उनको उपचारका क्रममा १६ गते नि’धन भएको हो ।

तर मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएको छ । भर्ना भएको दिन नै चेकजाँच गरेर उपचार गरेको भए आफ्ना पतिको ज्यान जोगिने रीताले बताइन् । तर, अस्पतालले बिरामी आफैंलाई ज्वरो नाप्न दिनेबाहेक अरु केही नगरी राखेको उनको दाबी छ ।

अस्पताल भर्ना भएको चार दिनसम्म स्वाब परीक्षण गर्न काठमाडौं नपठाएको र सास फेर्न गाह्रो भएको बिरामीलाई आईसीयू वा भेन्टिलेटरमा नराखेको उनको आरोप छ । ‘अस्पतालले राम्रोसँग चेकजाँच गरेर अक्सिजन दिएको भए मेरा श्रीमान बाँच्नुहुन्थ्यो होला’, २६ वर्षीया रीता थापाले भनिन्, ‘स्वाब पनि बिरामीको प्राण गएपछि मात्र काठमाडौं पठाएको भन्नेछ । यसको छानबिन गरी मलाई न्याय दिनुपर्‍यो ।’

आफ्ना श्रीमान् अस्पताल भर्ना भएपछि डाक्टर नजिक नपरेको, ज्वरो आफैं नाप्नुपरेको, तातो पानीसमेत नदिइएको उनको आरोप छ । मृ’त्यु भएको दिनको बिहान साढे आठ बजे श्रीमानसँग फोनमा कुरा हुँदा एकदमै दबेको स्वर सुनेको र त्यसपछि आफूले डाक्टरसँग बुझ्दा ‘मोबाइलमा ब्याट्री सकिएर नबुझिएको होला, आत्तिनुपर्दैन’ भन्ने जवाफ पाएको उनी बताउँछिन् ।

‘काठमाडौं लैजानुपर्ने भयो, चार–पाँच जना मान्छे लिएर आउनुभन्दै ११ बजेतिर अस्पतालबाट फोन आयो’, रीताले भनिन्, ‘सहयोगका लागि मान्छे खोज्दाखोज्दै एक बजेतिर उहाँ बित्नुभयो भने ।’

उपचारमा भएको लापरबाहीबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र आफूलाई राहतको व्यवस्था नभएसम्म श’व नबुझ्ने अडान उनले लिएकी छन् ।

क्षेत्री युवा समाज, प्रदेश ५ का अध्यक्ष हरि क्षेत्रीले कोरोना विशेष अस्पताल भनेर प्रचार गरिएको उपकरणविहीन अस्पतालमा बिरामीप्रति न्यूनतम मानवीय व्यवहार समेत नभएको टिप्पणी गरे । भन्छन्, ‘ज्वरो आएका जति सबै बिरामीलाई जबर्जस्ती हुलेर कोरोना विशेष अस्पताल भन्दै प्रचार गर्ने काम तुरुन्त रोकियोस् ।’

सामाजिक अभियन्ता मुक्तिराज पौडेल कोरोना विशेष अस्पताल भन्दै लुम्बिनी धागो कारखानामा हतार-हतार तयार पारिएको अस्पताललाई क्वारेन्टाइन मात्र भन्न मिल्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस