कोरोनाविरुद्धको सहयोगको बिषयमा फेरी आयो करिष्माको अर्को स्टाटस !


काठमाडौं, १८ चैत । सदाबहार नायिका करिष्मा मानन्धरले सामाजिक विषयमा बेला-बेलामा टिका टिप्पणी गरि राख्छिन् । यसै क्रममा कोरोनाको लडाइँका लागि भन्दै सरकारले खडा गरेको कोषमा कलाकारले सहयोग नदिएको भन्दै टिप्पणी र मिडियामा समाचार बन्न थालेपछि करिष्माले एक स्टाटस लेख्दै सहयोग गर्ने काम सरकारको भएको बताएकी थिइन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी थिइन्, ‘के सेलिब्रेटीले सबै समस्या समाधान गर्नुपर्ने? अनि के काम सरकारको ? किन भोट गरेको हामीले ? के हामी धुर्मुस, सुन्तली हौं कि रवि लामिछाने ? जानुस् तपाईंहरूको भगवानलाई खोज्नुस्, तर घर बस्नुस्,’ करिष्माले लेखेकी थिइन् ।

करिष्माको यो स्टाटसमा नायिका रेखा थापाले पनि सहमति जनाइन् । उनको भनाइ थियो, ‘अरुले यति दिए उति दिएनन् भन्नुभन्दा सक्नेले दिऔं, नसक्नेले मागौं ।’

यद्यपी करिष्माले यो स्टाटस सामाजिक सञ्जालबाट हटाइसकेकी छिन् ।

उनले कुरा बुझाउन चाहेको भन्दै अर्को स्टाटस लेखेकी छिन्, ‘एउटा कुरा स्पष्ठ पार्न चाहेँ, केही समाचार माध्यमले मेरो अस्तिको एउटा स्टाटस लाइ अपुरो र अलि नकारात्मक शैलीबाट प्रचार गरेको रहेछ । उक्त स्टाटसमा सेलिब्रेटीले किन सहयोग गर्दैनन् भन्ने बिभिन्न समाचार को खण्ड्न गरेर लेखेकी थिएँ । जसमा जनताले विश्वास गरेका राष्ट्रिय हिरोहरु त यो समयमा लाचार छन , अरुले के गर्न सक्छौँ ! यो समय सबैलाइ घर बस्न सुझाव दिएकी थिएँ !!’

करिष्माको टिप्पणीलाई लिएर कतिपयले ठीकै भनेको भने पनि कतिले भने यस्तो समयमा असान्दर्भिक तर्क गरेको भन्दै विरोध गरेका थिए । केही सञ्चार माध्यममा कलाकारले यस्तो बेलामा किन सहयोग गरेका छैनन् भन्ने समाचार आएपछि करिष्माले उक्त स्टाटस लेखेकी थिइन् ।

त्यसो त नेपालमा कलाकारसँग कमाइको स्रोत पर्याप्त छैन । अन्य देशका कलाकारले करोडौं सहयोग गरे पनि नेपालमा कलाकारलाई सहयोग गर्न त परको कुरा लकडाउनका बेला गुजारा चलाउन पनि सोच्नुपर्ने अवस्था छ । जबरजस्ती कलाकारलाई सहयोग गर्न लगाउने कुरा कतिपय कलाकारलाई चित्त बुझेको छैन ।

करिष्माले पनि यही कुरामा असहमति जनाउँदै उक्त स्टाटस लेखेको बताएकी छिन् । उनी भन्छिन्, ‘कलाकार स्ंस्कृति को संवाहक हो । उसले गरेको हरेक कृयाकलाप र बोलेका शब्दहरुले नकारात्मक र सकारात्मक संदेशहरु दिइरहेको हुन्छ । यो अवस्था भ्रम फैलाउने अवस्था होइन । अहिले हामि ‘लक डाउन’ को अवस्थामा छौं, तेहि नियमको पालना गरौं । म आफ्नो तर्फबाट सरकार मार्फत आफुले सक्दो सहयोग गर्न सदैव तत्पर छु ।’

हेर्नुहोस् उनको पछिल्लो स्टाटस जस्ताको त्यस्तै –

प्रतिक्रिया दिनुहोस