फ्रान्सबाट आएकी युवती २७ दिनपछी कोरोना भाइरसलाई जितेर घर फर्कीइन, यस अघि चिनबाट आएका एक निको भएका थिए


काठमाडौँ, ६ वैशाख । कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् ।

उहाँले ४८ घण्टामा दुई पटक कोभिड–१९ नेगेटिभ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको( डिस्चार्ज) बताउनुभयो ।

उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर आज घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्न गरी आइसोलेशनमा उपचार हुँदै आएको थियो । यसअघि चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि सङ्क्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो ।

अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा सङ्क्रमण देखिएको थियो ।

प्रधानमन्त्रीद्वारा उपचारमा संलग्न चिकित्सकलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको छ ।

आज ट्वीट गर्दै उहाँले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिनुभएको हो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती आज घर फर्किएकी हुन् । उनीभन्दा अगाडि एकजना पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस