अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा विश्वव्यापी आर्थिक मन्दीको घोषणा, दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती आउदै


काठमाडौँ, १९ चैत्र । कोरोना भाइरसको महामारीका कारण विश्वव्यापी आर्थिक मन्दी सुरु भइसकेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ । यस पटकको आर्थिक मन्दी सन् २००८ को आर्थिक मन्दीभन्दा भयावह हुने पनि उल्लेख गरेको छ।

विश्वका शक्ति राष्ट्र र अन्य सबै राष्ट्र मिलेर यो महामारी छिटै नियन्त्रण गरेर आर्थिक क्षती कम गराउनु पर्ने आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिना जर्जियावाले बताइन । सबै मिलेर यसलाई नियन्त्रण गर्न सके सन् २०२१ सम्ममा आर्थिक मन्दीको अन्त्य हुन सक्ने पनि उनले बताइन ।

सन् २०२० को शुरुवातदेखि देखापरेको विश्वव्यापी महामारी कोरोना भाइरसकाका कारण आइएमएफले सन् २०२० र २०२१ को आर्थिक वृद्धिदर पनि संशोधन गर्ने भएको छ। आइएमएफले कम्पनीहरु टाट पल्टिने समस्या आउन नदिन सबै मुलुकलाई वित्तिय र मौद्रिक उपायहरु कार्यान्वयन गर्न आह्वान समेत गरेको छ।

अहिलेसम्म आइएमएफसँग ८१ देशहरुले यसअघि नै आपत्कालीन सहायता माग गरेका छन्। नेपालले पनि आपत्कालीन सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय मुद्रा कोषको ७ करोड ८५ लाख एसडीआर (स्पेशल ड्रइङ राइट्स) अर्थात् १३ अर्ब ९ करोड रुपैयाँ निब्र्याजी ऋण सहायता स्वीकार गर्ने निर्णय गरिसकेको छ।

यसैबीचमा, युरोपेली युनियन सहितका विश्वका प्रमुख अर्थतन्त्रहरुको समूह (जी २०) मा आवद्ध देशहरुले भने ५० खर्ब अमेरिकी डलरको प्रोत्साहन कार्यक्रम ल्याएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्। महामारीको प्रभाव कम गर्दै अन्त्य गर्न तत्काल सबैको सहकार्यसहितको स्वास्थ्य सहायता आवश्यक रहेको गुटेरसले बताए।

अहिले सम्म विश्वभर ८ लाख ६० हजार बढी कोरोना भाइरसबाट संक्रमित छन भने ४२ हजार बढीको ज्यान गइसकेको छ । र पछिल्लो तथ्यांक हेर्ने हो भने हरेक दिन यसको संक्रमण तिब्र गतिमा अगाडी बढी रहेको छ ।

०००

यो पनि

एसियामा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप नियन्त्रण प्रयास सन्तोषजनक, नियन्त्रणका लागि समय लाग्छ : डब्लुएचओ

बेइजिङ, १८ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एक वरिष्ठ अधिकारीले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताउनुभएको छ ।

कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन् ।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उहाँले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका समय डब्लुएचओका अधिकारीको यो भनाई सार्वजनिक भएको हो । चीनमा पछिल्ला केही हप्ता नयाँ सङ्क्रमण पुष्टि नगन्य मात्रामा आएपनि दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने सङ्क्रमित सङ्ख्या बढ्ने क्रममा रहेको छ ।

चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्धहरू लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै सङ्क्रमितको सङ्ख्या करिब ‘शुन्य’ झरेको यहाँका अधिकारीहरूले बताउँदै आएका छन् ।

यसैबीच विश्व बैंकले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ ।

विश्व बैंकको पछिल्लो पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस