नेपालभित्रै पहिलो पटक कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि


काठमाडौं, २२ चैत्र । कोरोना भाइरस कोभिड-१९ का तिन संक्रमित एकै साथ फेला परेका छन ।  कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएको छ ।

संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन्।

यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो। ३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो। पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो। उनका देवरमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । देवरलाई संक्रमण पुष्टि भएपछि परिवारका १० जना क्वारेन्टाइनमा बस्दै आएका थिए ।

आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ। २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो।

यो संगै नेपालमा संक्रमितको संख्या ९ जना पुगेको छ ।

मन्त्रालयको सूचना जस्ताको त्यस्तै :

कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका छन

१. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष

२. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष

३. कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस