सरकारद्वारा लकडाउन खुकुलो पार्ने निर्णय : आजैबाट संचालन खुल्ने र असार १ गतेबाट मात्र खुल्ने क्षेत्र यी हुन्


– नारायण ढुङ्गाना

काठमाण्डौ, २९ जेठ । सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ ।

मन्त्रिपरिषदको बुधबारको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले केही सेवा सञ्चालन नगर्ने, केही सेवा तत्कालै शुरु गर्ने र केही सेवा आगामी असार १ गतेबाट शुरु गर्ने गरी लकडाउनलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो ।

सर्वसाधारणको बढी उपस्थिति हुने स्थान तथा सार्वजनिक सवारी सञ्चालनका हकमा भने हाल कै अवस्थालाई कायम राखिएको छ । विगतदेखि नै सञ्चालन गरिएको अत्यावश्यक सेवालाई कायम राख्दै व्यापार व्यवसाय सञ्चालन तथा सर्वसाधारणको हिँडडुलमा सहजीकरण गरिएको छ । यस्तै उपत्यकाभित्र र जिल्लाभित्र चल्ने निजी सवारीमा जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्ने निर्णय पनि सरकारले गरेको छ । मोटरसाइकल र साइकलको हकमा एक जना मात्रै सवार हुनुपर्ने र निजी गाडीको हकमा चालकबाहेक दुई जना मात्रै सवार हुन पाउने व्यवस्था गरिएको छ ।

आजैबाट सञ्चालन हुने सेवा

मन्त्रिपरिषद्को निर्णयअनुसार केही सेवा आजैबाट लागू हुने गरी सञ्चालन गर्न गर्न पाइने छ । जसअनुसार स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि तथा पशुपक्षी व्यवसाय, उद्योग व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका ढुवानी, भौतिक दुरी कायम गर्दै भिडभाड नहुने गरी पैदल आवागमन, साइकल र मोटरसाइकल (एक जना मात्रै चढ्ने गरी) सञ्चालन गर्न पाइने छ ।

काठमार्डाैँ उपत्यकाको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्ला भित्र मात्र जोर विजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर यसरी सवारी सञ्चालन गर्दा चालक बाहेक दुई जना मात्र राख्नुपर्नेछ । विगतदेखि नै सञ्चालन भएका फोहरमैैला व्यवस्थापन, विद्युत्, दमकल, एम्बुलेन्स, सञ्चार, हुलाकसम्बन्धी विगत कै सेवालाई कायम गरिएको छ ।

यस्तै नर्सरी तथा वनजन्य उद्यम, विकास आयोजना र निर्माण सेवा (निजी क्षेत्रको समेत) नदी तथा खानीजन्य उत्खनन्, सङ्कलन र ढुवानी तथा बिक्री वितरणलाई पनि सहजीकरण गरिएको छ । रेष्टुरेन्टबाट चलाउन नपाइने तर प्याकिङ सेवा लान सकिने व्यवस्था गरिएको छ । क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन पनि सञ्चालन हुने छन् । यसरी सेवा शुरु गर्दा मास्क, सेनिटाइजर व्यवस्था आफैँले गर्नुपर्ने भौतिक दूरी कायम गर्नुपर्ने, पटकपटक सावुन पानीले हात धुनुपर्नेलगायत जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

असार १ गतेदेखि सञ्चालन हुने सेवा

सरकाले आगामी असार १ गतेदेखि लागू हुने गरी केही सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । विभिन्न कार्यालयको सेवा भने दुई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । बैक, वित्तीय संस्था, सहकारी, बीमा सेवा असार १ गतेबाट मात्रै सञ्चालन हुनेछन् ।

यस्तै सरकारी कार्यालय तथा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तयि संस्था (दुई सिफ्टमा) सञ्चालन हुने छन् । सार्वजनिक तथा जोरविजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत असार १ गतेबाट मात्रै सञ्चालन हुन पाउने छन् ।

उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदुर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।

सञ्चालन गर्न नपाइने सेवा

सरकारले मानिसको बढी भिडभाड हुने र सहभागिता बढी हुने क्षेत्रको हकमा भने हालको व्यवस्थालाई नै कायम गरेको छ । त्यस्तो सेवा सञ्चालन गर्न पाइने छैन । जसअनुसार शैक्षिक संस्था, अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेला पनि सञ्चालन गर्न पाइने छैन ।

यस्तै सञ्चालन नहुनेमा सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा व्यूटीपार्लर, स्विमिङ्पुल, सपिङ मल, समूहमा खेलिने खुलकुद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुवाहक सवारी साधान छन् । जोरविजोर प्रणालीअन्तरगत उपत्यकाभित्र सञ्चालन हुने निजी सवारी बाहिर जान नपाउने तथा बाहिरका नीजि सवारी उपत्यका भित्रिन नपाउने व्यवस्था छ ।

०००

भोली देखि मोटरसाइकल चलाउन पाइने तर एक जना मात्र चढ्न पाइने

काठमाडौं, २९ जेठ । कोरोना भाइरस महामारीको रोकथामका लागी लामो समय देखि जारी लकडाउनलाई सरकारले केही खुकुलो बनाउने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार मोटरसाइकल चलाउन दिने तर एक जना मात्र चढ्न पाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । चारपांग्रे निजी सवारी साधनमा चालक सहित तिन जना मात्र यात्रा गर्न पाउने भएको छ । त्यसैगरी सबै प्रकारका ढुवानी पनि खुला गरिएको मन्त्रि खतिवडाले जानकारी दिए । सबै प्रकारका पैदल आवागमन, साइकल पनि चलाउन पाउने निर्णय भएको छ ।

तर काठमाडौँ उपत्यकाको हकमा उपत्यका भित्र र बाहिरी जिल्लाको हकमा आफ्नो जिल्ला भित्र मात्र चलाउन पाइने छ । सवारी साधनमा जोर बिजोर प्रणाली भने लागु हुनेछ । यो व्यवस्था बिहीबारदेखि नै लागु हुनेछ।

प्रदेश नं २ मा एकैदिन एक हजार ४२० स्वाब सङ्कलन

कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं २ मा स्वाब सङ्कलनलाई तीव्र बनाइएको छ ।

बुधबार एकै दिनमा प्रदेशका छ जिल्लाका एक हजार ४२० को पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको हो । एकै दिनमा यति धेरै स्वाब सङ्कलन गरिएको अहिलेसम्मकै सर्वाधिक हो ।

प्रदेशका आठ जिल्लामध्ये छ जिल्लामा बुधबार स्वाब सङ्कलन गरिएको छ । जसमध्ये पर्सामा ५६१, महोत्तरीमा ३४३, सर्लाही १८७, रौतहट १५२, बारा ११७ र धनुषाका ६० जनाको स्वाब सङ्कलन गरिएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहनुभएका वरष्ठि स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो । प्रदेशमा अहिले स्वाब सङ्कलनको कूल सङ्ख्या २९ हजार ९५१ पुगेको छ ।

प्रदेश नं २ का आठ जिल्लामा गरी अहिले पिसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार ५७३ पुगेको छ । जसमा सबैभन्दा बढी रौतहट जिल्लामा ४७६ छन् । त्यसैगरि सर्लाहीमा ४१४, महोत्तरी १६७, धनुषा १४४, पर्सा ११९, सप्तरी १११, बारा ७७ र सिरहाका ६२ छन् । स्वाब परीक्षण गरिएकामध्ये बुधबार साँझसम्म १५ हजार ३८९ को नतिजा (परिणाम, रिपोर्ट) आएको छ । जसमा एक हजार ५७३ सङ्क्रमित पाइएका हुन् । अझै १४ हजार ५६२ जनाको परिणाम आउन बाँकी नै रहेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताउनुभयो ।

प्रदेशका आठै जिल्लामा अहिलेसम्म ४२६ क्वारेन्टिन बनाइएका छन् । । अहिले यी केन्द्रमा ३१ हजार ५४८ श्यया छन्, जसमा १९ हजार ७६९ रहेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै क्वारेन्टिनमा बस्नेको सङ्ख्या सात हजार ८७२ छ । प्रदेशमा आइसोलेसन श्यया बढाएर एक हजार ३६१ पु¥याइएको छ । अहिले आइसोलेसनमा ७४९ जना छन् । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या २९९ पुगेको छ । जसमध्ये ३६ जना हिजो बुधबार निको भएर घर फर्केका हुन् ।

प्रदेशमा हालसम्म १२ हजार ३६७ जनाको आरडिटी गरिएको छ । जसमा ५५३ जनाको नतिजा पोजेटिभ र ११ हजार ८१४ को नतिजा नेगेटिभ आएको छ । यद्यपि पछिल्ला दिनमा क्वारेन्टिनमा रहेकाहरुको पिसीआर जाँचमै जोड बढाइएको निर्देशनालयले जनाएको छ । क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण अझै सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि प्रदेशमा कोभिड–१९ रोकथाम अभियानको समन्वय गर्दै आएको सामाजिक विकास मन्त्रालय र प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले उपलब्ध सामग्री र दक्ष जनशक्ति स्वाब सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस