शुद्धोधनको दर्वाह पार्कमा तोडफोड
खस्यौली, १७ साउन । प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको रुपन्देहीको शुद्धोधन गाउँपालिका– ५ स्थित दर्वाह पार्क ९उद्यान० मा तोडफोड भएको छ । शुद्धोधन गाउँपालिकाले आज पत्रकार सम्मेलन गरी छठ पूजा गर्ने स्थान र मसानघाटको व्यवस्था गर्ने विषयमा वार्ता भइरहेका अवस्थामा एक्कासि नेपाली काँग्रेस वार्ता टोलीका संयोजक शेरबहादुर काफ्ले, विपीनकुमार कुर्मी र कृष्ण चौधरीको पूर्वयोजनामा पार्कको वाल, त्यसमा रहेको फलामको रेलिङ र तारजाली तोडफोड भएको जनाएको छ ।
शुक्रबार सो समूहले गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीको कार्यकक्ष र गाउँपालिका– ५ स्थित कार्यालयमा समेत तालाबन्दी गरेको छ । अध्यक्ष चौधरीले पार्क निर्माणको काम गुरुयोजनानुसार भएको उल्लेख गर्दै विकासनिर्माण रोक्नका लागि षड्यन्त्र भएको बताउनुभयो । उहाँले योजना निर्माण गर्दा कुनै असहमति नभएको जानकारी दिँदै अमुक व्यक्तिको उक्साहटमा तोडफोड र तालाबन्दी भएकाले क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति भराउनाका साथै विकासनिर्माणमा अवरोध पु¥याउनेलाई सार्वजनिक फौजदारी अपराधमा कारवाहीका लागि सम्बन्धित निकायमा माग गर्नुभएको छ ।
सो गाउँपालिकाको प्रथम गाउँसभाको निर्णयअनुसार पार्क निर्माणको प्रक्रिया अघि बढेको थियो । वन, वातावरण तथा उद्योग मन्त्रालयको गत आर्थिक वर्षको रु ५० लाख र समपूरक बजेटको रु ५० लाख र गाउँपालिकाको रु ३० लाखसहित रु एक करोड ३० लाखको लागतमा करिब एक बिघा जग्गामा पार्क बन्न लागेको थियो । पार्कको करिब २० प्रतिशत काम सकिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नतपाणि मरासिनीले दर्वाह क्षेत्रलाई पर्यटकीय आर्कषक केन्द्रका रुपमा निर्माण गर्न गुरुयोजनाअनुसार नै काम गर्न लागिएको उल्लेख गर्दै सातौँ सभाले व्यवस्थित घाट निर्माणका लागि रु २० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
गाउँपालिकाको मानपकडीमा रहेको ऐतिहासिक दर्वाह मन्दिर र सोको वरिपरि रहेको भूभागलाई उपयोगमा ल्याइ मानपकडीमा लाग्ने मेलालाई व्यवस्थित बनाउने, मेलामा आन्तरिक पर्यटकलाई मनोरञ्जनको लागि डुङ्गामा सयर गराउने र उत्तरतर्फ एउटा व्यवस्थित मनोरञ्जन पार्क बनाइ त्यसको सौन्दर्यकरण गरी आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दर्वाह पार्क ९उद्यान० निर्माणको कार्य थालनी गरिएको थियो । उद्यानभित्र व्यवस्थित शौचालय, सेडहरु, विभिन्न किसिमका बिरुवा, फूल, पानीका फोहोरासहितको ‘आइल्याण्ड’ निर्माण कार्यसमेत परिकल्पना गरिएको थियो ।
अध्यक्ष चौधरीले मसानघाटका लागि गाउँपालिका– ७ सन्तघाट, ६ मा नागेश्वर घाट र तिनाउ घाटमा व्यवस्थित घाट निर्माणको योजना भएको उल्लेख गर्दै अन्य विकल्प पनि खुला रहेको बताउनुभयो । सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य तुल्सी चौधरीले विकास निर्माणका अवरोध पु¥याउने उद्देश्यले तोडफोड र तालाबन्दी भएको बताउनुभयो । नेपाली काँग्रेस गाउँ कमिटीका सभापति शेरबहादुर काफ्लेले तोडफोड गर्ने पार्टीको कुनै उद्देश्य नरहेको जिकिर गर्दै प्रदर्शनमा उत्रेको समुदायले गरेको बताउनुभयो ।