‘मझुवागढी रणजितमान राई खेलमैदान’को डिपिआर तयार


– केदार मगर

खोटाङ, १७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा निर्माणाधीन ‘मझुवागढी रणजितमान राई खेलमैदान’को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । आरसिसी कन्सल्ट प्रालिले तयार पारेको डिपिआरअनुसार १२० मिटर लम्बाइ र ८० मिटर चौडाइको फुटबल खेलमैदान रु २० करोड ९९ लाख ७० हजार २९३ मा सम्पन्न हुने भएको हो ।

खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युत्को व्यवस्था, बस, कार तथा मोटरसाइकल पार्किङस्थल, गेष्ट रुम, चेन्जिङ रुम, वेटिङ रुमसहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारालगायतका संरचना निर्माण गर्ने गरी डिपिआर तयार पारिएको वडाध्यक्ष निर्मल राईले जानकारी दिनुभयो । स्थानीय बासिन्दाले १८ रोपनीभन्दा बढी जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माणको काम शुरु गरिएको हो ।

वडा कार्यालयको रु १२ लाख ७० हजारको खर्चमा विसं २०७६ जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश सम्याउने काम सम्पन्न भइसकेको छ । खेलमैदान निर्माणको बाँकी काम पूरा गर्नका लागि स्थानीय राजेन्द्र राईको अध्यक्षतामा सात सदस्यीय आर्थिक सङ्कलन सहयोग समिति गठन गरिएको छ ।

खेलमैदानको बाँकी काम पूरा गर्नका लागि आवश्यक रकम जुटाउन आर्थिक सङ्कलन सहयोग समितिले विसं २०७६ असोज ९ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेको थियो । समितिसँगको भेटमा मुख्यमन्त्री राईले खेलमैदान निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको जनाइएको छ ।

अहिलेसम्म आर्थिक स्रोतको टुङ्गो नलागेको खेलमैदान निर्माणका लागि निर्माण उपभोक्ता समितिले काठमाडौँमा पुगेर देउसीभँैली खेलेको थियो । काठमाडौँको विभिन्न ठाउँमा पुगेर आयोजना गरिएको करिब रकम सङ्कलन गरेको थियो । वडा कार्यालयको आग्रहमा स्थानीय पञ्चसेर राईले नौ, सर्वजित राईले पाँच र हर्कराज राईले तीन रोपनी जग्गा वडाको नाममा निःशुल्क पास गरिदिएपछि खेलमैदान निर्माण शुरु गरिएको थियो । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण शुरु गरिएको खेलमैदानका लागि स्थानीय बालाचन्द्र राईले पनि सात रोपनी जग्गा प्रदान गर्नुभएको छ ।

खेलमैदानका लागि वडाकै विभिन्न स्थानमा निःशुल्क जग्गा जुटाउने क्रममा छिवाका स्थानीय जग्गा दिन तयार भएपछि मकैको बिरुवा हुर्कँदै गरेको बारीमा खेलमैदान निर्माण शुरु गरिएको थियो । निर्माणाधीन खोलमैदान दिक्तेल–खोटाङबजार सडकखण्डमा पर्ने भएकाले साकेला गाउँपालिकाका खेलाडीसमेत लाभान्वित हुने निर्माण उपभोक्ता समितिले दाबी गरेको छ ।

निःशुल्क जग्गा उपलब्ध गराएकामा जग्गादाताकै बाजे रणजितमान राईको नामबाट खेलमैदानको नामाकरण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पञ्चशेर राईले बताउनुभयो । आफ्नो गाउँमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण हुने भएपछि स्थानीय बासिन्दासमेत हर्षित छन् ।

पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका हरेक वडामा एक÷एक वटा खेलमैदान निर्माणको काम शुरु गरिएको छ । खेलकूद क्षेत्रको विकास तथा प्रवद्र्धन गर्न एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने प्रदेश नं १ सरकारको नीति भए पनि सो नगरपालिकाको प्रत्येक वडामा खेलमैदान भइरहेको हो ।

किसानलाई फलफूलको बेर्ना वितरण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थाले बुइपाका ८५० किसानलाई फलफूलको बेर्ना निःशुल्क वितरण गरेको छ । वडालाई फलफूलको उत्पादन क्षेत्र बनाउने लक्ष्यकासाथ सहकारी संस्थामा आवद्ध ५०० सदस्य तथा अन्य किसानलाई सुन कागती, आँप, लिची र एभोकाडोको बिरुवा वितरण गरेको हो ।

डिभिजन वन कार्यालय खोटाङ र भू तथा जलाधार कार्यालय ओखलढुङ्गाले फलफूलका बेर्ना उपलब्ध गराएपछि किसानलाई वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष मिलन राईले जानकारी दिनुभयो । सहकारीको समन्वयमा किसानलाई कागतीको तीन हजार ५०० , अम्रपाली जातको आँपको ५०० , लिचीको ३५० र एभोकाडोको २५० बिरुवा बाँडिएको हो ।

फलफूललाई किसानको आम्दानीको स्रोतका रूपमा विकास गर्ने लक्ष्यकासाथ बिरुवा वितरण गरिएको सहकारीले जनाएको छ । भूगोल र हावापानीअनुसार स्थानीय बासिन्दालाई लिची, आँप, कागती र एभोकाडोको बिरुवा वितरण गरिएको छ । बुइपाको बेँसी क्षेत्रका किसानलाई लिची, आँप र कागतीका बिरुवा बढी मात्रामा वितरण गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत विनियोजन भएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट बुइपामा शीतभण्डार निर्माण गरिएसँगै सहकारी फलफूल खेती प्रवद्र्धनमा लागेको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु ५० लाख बजेटमा निर्माण गरिएको शीतभण्डारलाई सदुपयोग गर्दै किसानको आर्थिक समृद्धिका लागि गाउँमा लिची, आँप, कागती, एभोकाडोलगायतका फलफूल खेती विस्तार गरिएको जनाइएको छ । बुइपामा शीतभण्डार निर्माण भएपछि कागती, नासपाती, करेला, आलु, फर्सीजस्ता फलफूल तथा तरकारीलाई लामो समयसम्म भण्डारण गर्न सकिने वातावरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थ
धर्म दर्शन