नेकपाभित्रको विवाद वैचारिक र सैद्धान्तिक छैन : मुख्यमन्त्री गुरुङ


गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताउनुभएको छ । पे्रस सङ्गठन नेपाल नवलपुर शाखाले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको स्पष्ट पार्नुभयो ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको अर्को विकल्प नभएको समेत उहा“ले तर्क गर्नुभयो । अहिले अध्यक्ष हटाउने कुरा वैधानिक नभएको उल्लेख गर्दै पार्टी अध्यक्षलाई बहुमतका आधारमा हटाउनतर्फ लागे दुर्घटनामा फस्ने उहाँले बताउनुभएको छ । “अहिले अध्यक्ष हटाउनतर्फ लागे गुडिरहेको गाडी दुर्घटनामा पर्छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “सहमतिका साथ एकता महाधिवेशन गरी वैधानिकरूपमा अध्यक्ष भित्र्याउनुको अर्को विकल्प छैन ।”

उहा“ले अहिले प्रधानमन्त्रीको राजीनामा तर्फ जानु मात्र समस्याको समाधान नभएको समेत र प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा पार्टीको आन्तरिक कुरा मात्रै नभएर जनताको कार्यादेश विपरीत हुने उल्लेख गर्नुभयो । “निर्वाचनमा जनतासँग स्थायी सरकार चलाउने बाचाका साथ जुन कार्यादेश दिएका छन्, हाम्रो आफ्नो झगडाका कारण जनताको कार्यदेशमाथि अपमान गर्न पाइँदैन”, मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

मुख्यमन्त्री गुरुङले सङ्घ र प्रदेशबीचको असमझदारी कम हुँदै गएको, प्रदेशमा समेत धेरै आधारभूत प्रबन्ध भएको बताउनुभयो । उहाँ नेकपा प्रदेश कमिटी सदस्य स्व कुलचन्द्र महतोको शोकसभामा सहभागी हुन नवलपुर आउनुभएको थियो । यसक्रममा उहाँले नवलपुरमा नारायणी नदीले कटान गरेको क्षेत्रको समेत अवलोकन गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस