लगानी र मेहेनतले मुहार फेरेको ‘नेपानेगाउँ’


बलेवा, १८ साउन। वर्षौँ पहिले कालीगण्डकीले खोँच बनाएपछि छाडेको बगर । हिउँदमा सुक्खा जमिन, छेउछाउका चिलाउने र बाँसका रुखले मान्छेलाई नै गिज्याउँथे । वर्षात्को समयमा सिरुको घारी लाग्ने । काँस बढेर सेताम्मे हुन्थ्यो हिउँद । माटोको मक्कल तर खेतीपाती गर्न बाँदरको बिगबिगी । बागलुङ नगरपालिका–१४ नारायणस्थानको नेपानेगाउँका स्थानीयवासीले सोचेकै थिएनन् गाउँ आकर्षणको केन्द्र बन्ला भनेर ।

समथर जमिन भएकाले पानी पुग्ने ठाउँमा धानखेती र घरगोठ छेउछाउका पाटामा बारी बनाएर कोदो मकै लगाउँथे । छेउछाउको जमिन भने हिउँदमा गाईवस्तुको चरन र वर्षाको समयमा घाँसेमैदान थियो । खानेपानीको समेत अभाव रहेको नेपानेमा सिँचाइका लागि पनि पानीको अभाव नै थियो । “वर्षाको पानी सङ्कलन गरेर कयौँ वर्ष धान रोपियो”, स्थानीय प्रेमप्रसाद पौडेल विगत सम्झँदै भन्नुहुन्छ, “खेती लगाए पनि आकाशकै भर पर्नुपथ्र्याे ।” खेतीपातीका लागि सिँचाइ नभएको जमिन सिरुको घारी हुनुको विकल्प थिएन । नेपानेका स्थानीयवासीले आफ्नो जग्गाको विकल्प त नखोजेका होइनन् तर भेटेका थिएनन् ।

अहिले नेपाने गाउँ आकर्षणको केन्द्र बनेको छ । ताराबहादुर बस्नेतको गाईफार्मले नेपानेमा दूध उत्पादन गर्छ । गणेश खड्का र प्रेम खड्काले संयुक्तरूपमा चलाएको पक्षीफार्मले मासुका लागि कुखुरा उत्पादन गरिरहेको छ । धवलागिरि पोलिटेक्निकल इन्स्टिच्युटले खाली भएको गाउँ भरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले यस इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । अहिले व्यावसायिक सीप सिक्ने र प्राविधिक शिक्षामा यहाँका युवापुस्ताको आकर्षण बढेको छ । त्यसैले उनीहरु बाहिर जान छाडेको पौडेल बताउनुहुन्छ । ‘दि क्लिफ’ प्रालिले सञ्चालनमा ल्याएको रिसोर्टका कारण नेपानेको मुहार फेरिएको छ ।

“हिजो तरकारी किनेर खाने हामी अहिले तरकारी बेच्छौँ”, नेपानेकै खोपलाल खत्रीले भन्नुभयो, “गाउँमा केही छैन भनेर विदेशिएका युवा फर्केका छन् ।” गाउँमा खुलेका रोजगारीका अवसरले स्थानीयवासी धेरैलाई गाउँ फर्काएको हो । कालीगण्डकीमाथि बञ्जीजम्पका लागि नेपाने–कुश्मा जोडेर पुल बनेको छ । त्यहीँ पुल बनाउने दि क्लिफ नामक कम्पनीले नेपानेमा २३ रोपनी सिरुघारी हुने जमिन लिएर रिसोर्ट चलाएको छ । “रिसोर्टमा हाम्रो वडाका दर्जन बढीले रोजगारी पाइसके”, वडाध्यक्ष चक्रबहादुर खत्री भन्नुहुन्छ, “अहिले अवस्था बदलिएको छ ।” रिसोर्ट तयार भएपछि त्यस आसपासमा बनाइएका संरचनाले गाइवस्तु चर्ने चौरमा पर्यटक डुल्ने बनाएको उहाँ बताउनुहुन्छ ।

रिसोर्ट छेउको पिङ खेल्न र बञ्जीजम्पको पुल तरेर दैनिक १५० भन्दा धेरै आन्तरिक पर्यटक नेपाने पुग्ने गरेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो । “बञ्जी सञ्चालनमा आएको छैन, पिङ खेल्न र पुल घुम्न पर्यटक आउनुभएको छ”, उहाँले भन्नुभयोे, “सामान्य शुल्क तिरेर यी सबै देख्न र घुम्न पाइन्छ ।”

धवलागिरि पोलिटेक्निकल इन्स्टिच्युटसँग विद्यार्थी र शिक्षकसमेत गरेर झण्डै २०० नेपानेमा बस्छन् । उनीहरुले दैनिक प्रयोग गर्ने दूध, तरकारी, मासु फलफूलजस्ता उत्पादनसँग नेपानेका स्थानीय जोडिएको वडाध्यक्ष खत्री बताउनुहुन्छ । “विद्यार्थी–शिक्षक आफैँले पनि उत्पादन गर्छन्, गाउँको पनि बिकेको छ”, उहाँले भन्नुभयो, “सबै संरचनाले हामीलाई फाइदै भयो ।”

कोराना कहरका कारण बञ्जी सञ्चालनमा नआएको र रिसोर्ट तथा फार्ममा समेत प्रशस्त काम नरहेकाले तत्कालका लागि रोजगारीका अवसर कम छन् । महामारीको कहरपछि स्थानीय ५०÷६० जना प्रत्यक्ष रोजगारीसँग जोडिने उहाँले बताउनुभयो । “लगानी बाहिरबाट भित्रिएको छ, काम यहाँ चलेको छ”, उहाँले भन्नुभयो, “हामी त स्थानीय हो नि भनेर नेपानेका भद्र, महिला सबैले रोजागरी पाउने वातावरण बनेको छ ।” युवाहरुले चलाएका गाई तथा पक्षीफार्मले रोजगारी सिर्जना गरेकाले नेपाने गाउँले मुहार फेरेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस