चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत अवरुद्ध सडक आठ दिनपछि सञ्चालन


अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ । चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो ।

सडक अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन निर्माण गरी सोमबारदेखि सडक सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । तत्काल काम शुरु गरे पनि आवश्यक सामान बेलैमा उपलब्ध नहँुदा र बाढी निरन्तर आइरहँदा सडक सञ्चालन गर्न ढिलाइ भएको उहाँको भनाइ छ । अध्यक्ष गुरुङले भन्नुभयो, “बाढीले पुल बगाउनेबित्तिकै हामीले सडक निर्माण शुरु गरेका हौँ, एक÷दुई दिनमा सक्ने लक्ष्यका साथ काम गरेका थियाँै तर आवश्यक सामग्री समयमा उपलब्ध भएन, बाढी पनि पनि निरन्तर आइरह्यो, आठ दिनमा सडक सञ्चालन गर्न सफल भएका छौँ ।” नागरिकको दुःखलाई आत्मसाथ गर्दै तत्कालका लागि अस्थायी बाटो निर्माण गरिएको र छिट्टै उक्त स्थानमा नयाँ पक्की मोटरेबल पुल निर्माण गर्ने पनि अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढीले पुल बगाउँदा इच्छाकामना–७ स्थित सिमलढाप, गर्दास, खेतबारी, स्याङ्दीलगायतका स्थानका करिब एक हजार ५०० घरधुरीका नागरिकलाई सदरमुकाम भरतपुर र गाउँपालिकाको कार्यालय कुरिनटार आवतजावतका लागि समस्या भएको थियो । पुल बगाएकै कारण बिरामी हँुदासमेत अस्पताल जानसक्ने अवस्था नभएको वडा नं ७ का वडाध्यक्ष बमबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका कार्यालयदेखि सदरमुकाम भरतपुर र अस्पताल जानका लागि स्थानीयवासीलाई समस्या परेको थियो, तत्कालका लागि अस्थायीरूपमै भए पनि चाँडोभन्दा चाँडो नागरिकको समस्या समाधान गरेका छौँ ।” अब नयाँ पक्की पुल निर्माणका लागि चाँडै पहल गरिने पनि उहाँले बताउनुभयो ।

यस्तै उक्त स्थानमा अस्थायी बाटो निर्माणका लागि करिब रु १३ लाख खर्च भएको गाउँपालिकाका प्राविधिक भरत गुरुङले जानकारी दिनुभयो । नवनिर्मित उक्त बाटोबाट छ चक्केसम्मका गाडी वारपार गर्न सकिने गरी निर्माण गरिएको उहाँले बताउनुभयो । अस्थायी बाटो निर्माण भएसँगै इच्छाकामना–७ का नागरिकलाई आवतजावतमा सहज भएको छ । उक्त सडक भएर दैनिक ३०० भन्दा बढी मोटरसाइकल र १०० भन्दा बढी साना–ठूला सवारी साधन चल्ने गर्छन् । रासस

प्रतिक्रिया दिनुहोस