बुबा मिर्गौलापीडित, छोराको करेन्ट लागेर मृत्यु


साविक जामुने गाविसको गुणादी दभुङ घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आउनुभएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भयो । लामो समयसम्म शिक्षण पेशामा आबद्ध श्रेष्ठले त्यसयता नियमित डायलासिस गर्दै आउनुभएको छ । केही समय पोखरामा डायलासिस गराउनुभएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको दुई दिन डायलासिस गराइरहनुभएको छ ।

घरको मूल व्यक्ति नै मिर्गौलाको रोगी भएपछि श्रेष्ठ परिवारमा एक प्रकारको पीडा थियो । उपचारका लागि आर्थिक अभाव भएपछि श्रेष्ठ परिवारले सहयोगका लागि अपिल गरिरहेको थियो तर श्रेष्ठ परिवारमाथि अर्को ठूलो बज्रपात आइपरेको छ । रामलालका छोरा ३० वर्षीय सुवास श्रेष्ठको गत साउन २१ गते व्यास नगरपालिका–१ भादगाउँमा करेन्ट लागेर ज्यान गएको छ । वल्र्डलिङ्कमा विगत एक वर्षदेखि कार्यरत श्रेष्ठले कामकै शिलशिलामा करेन्ट लागेर ज्यान गुमाउनुप¥यो ।

मिर्गौलाले काम गर्न नसकेपछि शिक्षण पेशाबाट राजिनामा दिएर उपचार गर्दै आउनुभएका ५५ वर्षीय श्रेष्ठलाई आर्थिक अभावकै कारण आफ्नो उपचारका लागि समस्या भइरहेका बेला छोराको निधनले थप पीडा भएको उहाँलाई नजिकबाट चिन्ने सञ्चारकर्मी विवि श्रेष्ठले बताउनुभयो । “श्रेष्ठको उपचारका लागि केही सहयोग गर्न सकिन्छ भनेर रकम सङ्कलन गर्न अभियान सञ्चालन गर्न लागेका थियौँ”, उहाँले भन्नुभयो, “तर एक्कासि एकदमै दुःखद् घटना घट्यो ।” रामलालका श्रीमती यशोदालाई श्रीमानको दुवै मिर्गौला फेल भएपछि पीडा त छँदै थियो छोराको निधनले थप पीडा दिएको छ ।

मेरुदण्ड भाँचिएकालाई रु तीन लाख

लडेर मेरुदण्ड भाँचिएका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका ७१ वर्षीय वृद्ध आमबहादुर गुरुङको उपचारका लागि रु तीन लाख ३७ हजार ६१२ सहयोग गरिएको छ । थप्रेक घर भई बेलायतमा बस्ने नेपाली र स्थानीयस्तरमा सङ्कलन गरिएको उक्त रकम वृद्धको उपचारका लागि सहयोग गरिएको हो ।

वृद्धको उपचारका लागि बेलायत बस्ने नेपालीले रु दुई लाख ५० हजार पठाएका छन् भने स्थानीयस्तरबाट रु ८७ हजार ६१२ सङ्कलन भएको थियो । वृद्धको उपचारमा सहयोगका लागि हाल बेलायतमा बस्दै आएका पूर्णवीर गुरुङले पहल गर्नुभएको थियो ।

उक्त रकम वृद्धका आफन्तलाई हस्तान्तरण गरिएको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिनुभयो । वृद्धको पोखरास्थित हरियोखर्क अस्पतालमा उपचार भइरहेको छ ।

गुरुङ गत जेठ २९ गते घाँस काट्न जाने क्रममा बारीको कान्लाबाट लडेर घाइते हुनुभएको थियो । हालसम्म अविवाहित गुरुङ भाइको घरमा बस्दै आउनुभएको छ । घाइते गुरुङको तत्काल उपचारका लागि मणिपाल अस्पताल पोखरामा लगिएकामा मणिपालबाट थप उपचारको लागि ग्रान्डी अस्पताल काठमाडौँ लगिएको थियो । ग्रान्डीमा केही दिन उपचारपश्चात् हरियोखर्क अस्पताल पोखरामा ल्याई उपचार गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

जथाभावीरुपमा खनिएका सडकले पहिराको जोखिम

ग्रामीण भेगमा जथाभावीरुपमा खनिने सडकले पहिरोको जोखिम बढाएको छ । घर भएका ठाउँभन्दा माथि जथाभावी रुपमा खनिएका सडकका कारण तनहुँमा सर्वसाधारणले अकालमा ज्यान गुमाएका छन् ।

ऋषिङ गाउँपालिका–८ भैँसीकिलोमा केही वर्ष अगाडि खनिएको सडकका कारण एकै परिवारका पाँच जनाले ज्यान गुमाउनुप¥यो । बस्तीभन्दा ठीकमाथि सडक खनिएको थियो । सडकबाट पहिरा खसेर पाँच जनाले ज्यान त गुमाए यहाँको छ घरपरिवार पनि विस्थापित हुने अवस्थामा पुगेको छ ।

यस ठाउँमा पहिराका जोखिम कायमै रहेकाले छ परिवारलाई अन्यत्रै सार्ने निर्णय गरेर गाउँपालिकाले छ आना जग्गा खरिद गरिसकेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । “सडकभन्दा तल बस्ती रहेकाले अझै पनि यहाँ पहिराको जोखिम कायमै छ । सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि गाउँपालिकाले पहल थालिसकेको छ, जग्गा खरिद भइसकेकाले उहाँहरुलाई उक्त ठाउँमा स्थानान्तरण गर्छौं”, उहाँले भन्नुभयो ।

व्यास नगरपालिका–११ ओडारेका पदमबहादुर चेपाङले पनि घरभन्दा माथिको सडकबाट खसेको पहिराले ज्यान गुमाउनुभयो । भाइ अस्तबहादुर चेपाङको घरमाथिको सडकबाट झरेको पानीको भलले जोखिम भएपछि तर्काउन पुग्नुभएका पदमबहादुरको एक्कासि खसेको पहिराले पुरिएर निधन भयो ।

असार २९ गते र त्यसपछि परेको निरन्तर वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरा खसेका छन् । सडक खनिएका अधिकांश स्थानमा यो वर्ष पहिरा खसेको म्याग्दे गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले बताउनुभयो । “सडक नखनेका गोरेटो बाटो भएका डाडाँहरुमा पहिरा खसेको छैन । जुन डाँडोमा सडक खनिएको छ, त्यहाँ पहिरा गएको देखिन्छ,” उहाँले भन्नुभयो ।

भूगर्वविद् श्रीकमल द्विवेदीले धेरैजसो पहिरा सडककै कारण गएको बताउनुभयो । सडक खन्दा धेरैजसो ठाउँमा भित्तो खोतलेर ढुङ्गामाटो खोल्सीमा फाल्ने अभ्यासका कारण पहिरा खस्ने गरेको उहाँले बताउनुभयो । सडक खन्दा वैज्ञानिक तरिका अपनाउनुपर्ने र जथाभावी सडक खन्ने प्रवृत्तिको अन्त्य नभएसम्म यस्तो समस्या आइरहने उहाँको भनाइ छ ।

असार अन्तिम साता परेको वर्षाले व्यास नगरपालिकाको बुल्दी खोला, म्याग्दे गाउँपालिकाको म्याग्दे र स्याङ्दे खोला बस्तीमा पसेर केही घर भत्किए । भू तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीका प्रमुख दिवाकर पौडेलले मान्छेले खोला मिचेर खेत बनाउने गरेकाले खोलाले आफ्नो बाटो खोजेको बताउनुभयो । “बस्ती खोलामा पसेर मिचेको देखिन्छ । प्रकृतिसँग पैठेजोरी खेलेर मानिसले जित्न सक्दैन”, उहाँले भन्नुभयो, “सधैँ खोलामा बाढी आउँदैन । ठूला खोला ३० वर्षसम्म पनि फर्कन्छ र त्यसले आफ्नो आकार लिन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस