अठार करोडको खानेपानी योजना शुरु
दाङको घोराही उपमहानगरपालिकाअन्तर्गत बजार क्षेत्रमा रहेको भरतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ठूलो लगानीमा आधुनिक खानेपानी योजना शुरु गरेको छ । संस्थाले रु १८ करोडको लगानीमा आधुनिक खानेपानी योजना शुरु गरेको हो ।
खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गत सञ्चालित खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवल र उपभोक्ता संस्थाबीचको सहकार्यमा खानेपानी योजना निर्माणको काम शुरु भएको संस्थाका अध्यक्ष शङ्कर गौतमले जानकारी दिनुभयो ।
घोराहीका–१५ र १७ का करीब दुई हजार २०० घरधुरीमा चौबिसै घण्टा खानेपानीको धारा उपलब्ध गराउने गरी थालिएको आयोजनामा सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत जनसहभागिता रहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो । अध्यक्ष गौतमका अनुसार नयाँखानेपानी आयोजनाको कूल लागत रु १८ करोड चार लाख ४७ हजार ५८ रहेको छ । उक्त आयोजना आगामी २०७८ सालको असारसम्म सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
करीब ४१ किलोमिटर नयाँ पाइपलाइन विस्तार गरी वितरण हुने खानेपानीका लागि १० वटा डिप बोरिङबाट सङ्कलन हुने र अत्याधुनिक प्रणालीबाट पानी शुद्धीकरण गरी चौबिसै घण्टा घरघरमा खानेपानीको धारा पु¥याउने गरी काम भइरहेको अध्यक्ष गौतमले बताउनुभयो । अहिले खानेपानीको अभाव देखिएका क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी वितरण गर्ने योजनाका साथ काम भइरहेको उहाँको भनाइ छ ।
यस्तै समितिले आज घोराहीको भरतपुरमै संस्थाको अत्याधुनिक कार्यालय भवन शिलान्यास गरेको छ । संस्थाले भरतपुर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्र्तगत करीब रु एक करोडको लागतमा भवन निर्माण हुन लागेको संस्थाका उपाध्यक्ष जङ्गबहादुर जिसीले जानकारी दिनुभयो । रासस