हुम्लाको ताजाकोटमा सुत्केरी व्यथा लागेको चार दिनसम्म भएन उद्धार


हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिकामा चार दिनदेखि प्रसूति व्यथा लागेकी एक महिलाको उद्धार हुन सकेको छैन । ताजाकोट –१ काँडागाउँकी २३ वर्षीया विपना खड्कालाई चार दिनअघि घरमै व्यथा लागेका अवस्थामा मैला स्वास्थ्यचौकीमा बोकेर ल्याई राखिएको भए पनि सुत्केरी हुन नसकेपछि उनी छट्पटिएको स्थानीयवासी धर्मराज जैसीले बताउनुभयो ।

वर्षाले बाटोघाटो बन्द भएको र टेलिफोन सेवासमेत राम्रोसँग सञ्चालन नभएपछि जिल्लामा खबर गर्न कठिन भएको जैसीको भनाइ छ । स्वास्थ्यचौकीमा सुत्केरी गराउने दक्ष जनशक्तिको अभाव र शल्यक्रियाका लागि उपकरण नहुँदा समस्या छ ।

गाउँपालिकाबाट व्यथा लागेकी महिलाको खबर आएको र हवाई उद्धारका लागि पहल भइसकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
पत्र प्राप्त हुनासाथ हवाई उद्धारका लागि गृह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसंँग उद्धारका लागि पहल भएअनुसार हेलिकप्टरको व्यवस्था हुन लागेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी अवस्थामा रहे पनि त्यहाँ पानी परेका कारण उद्धार हुन नसकेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस