कोरानासँगै प्रकृतिको बज्रपात


घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरिप्रसाद उपाध्याय घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किनुभयो । भारतको चेन्नइमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आउनुभएका उहाँलाई लागेको थिएन् आँफै बिरामी परेर झण्डै डेढ महिना अस्पतालको बसाइ हुन्छ ।

चेन्नइबाट बसमा नेपाल–भारत सीमानामा आएका बागलुङ नगरपालिका­५ मालिकाका हरिप्रसाद सीमादेखि स्कार्फियो रिजर्भ गरेर बागलुङ आउनुभयो । रामरेखा आधारभूत क्वारेन्टाइनमा १४ दिन बितेपछि थाहा भयो उहाँमा कोरोना सङ्क्रमण भएको रहेछ । श्रीमती बिरामी भएको खबरले हतारिँदै आउनुभएका हरिप्रसाद सरासर घर पुग्ने त अवस्था नै थिएन, क्वारेन्टाइनको बसाइ आइसोलेसनमा स¥यो । जेठको ३१ गते बागलुङ आएका उहाँलाई कोरोना पोजेटिभ देखिएपछि असार १३ गते रामरेखा क्वारेन्टाइनबाट धौलागिरि बहिरा आवासीय माविको आइसोलेसन सारियो । स्वाब सङ्कलन भएर रिपोर्ट आउन समय लागेकाले क्वारेन्टिन बसाइ लामो भएपनि छोटो हुनेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो ।

समाचारमा पनि एक महिना लामो कसैलाई आइसोलेसन बस्न नपरेको सुन्नुभएकै थियो । तर उहाँको आइसोलेसन बसाइ ३९ दिनको भयो । पाँचौ पटकको जाँचमा पोजेटिभ र छैटौं जाँच गर्दा फल्स रिपोर्ट आएपछि उहाँको सातौं पटक जाँच भयो । नेगेटिभ रिपोर्ट आएपछि घर फर्केका उहाँ आइसोलेसनमा रहेर धेरैपटक जाँच गराउने हालसम्मको पहिलो बिरामी पनि हुनुहन्छ ।

“अठ्ठाइसौं दिन राति एक पटक ज्वारो आयो, स्वास्थ्यकर्मीले दिएको एउटा सिटामोलले निको भयो”, उपाध्यायले भन्नुभयोे “नत कुनै संकेत न अरु बिमार, रिपोर्टकै आधारमा लामो समय बसियो ।” बागलुङमै पहिलो पटक कोरोना पुष्टि भएकी १९ वर्षिया युवती २७ दिन आइसोलेसन बसेको तथ्याङ्क छ । ‘यहाँका के आइसोलेसन भन्ने र खै, तैपनि स्वास्थ्यकर्मीको व्यवहार र व्यवस्थापनले ढुक्क बनाउँछ” उहाँ भन्नुहुन्छ “टिमुर, खाना र पानीले नै लामो समय लगाएर कोरोना जितेँ ।”

कोरोना निको भएर घर फर्किनुभएका उपाध्यायमाथि अर्को बज्र परेको छ । उहाँ आइसोलेसनमै रहेका बेला साउन ७ गते परेको अविरल वर्षाले चार वर्षअघि बनाएको घर भत्किएको छ । रु १४ लाख खर्चेर उहाँले त्यो घर बनाउनुभएको थियो । त्यहीँ घर बनाउँदा लागेको ऋण तिर्न उहाँ चेन्नइ पुग्नुभएको थियो ।
“श्रीमती बिरामी, घर भत्केको छ, कोरोना जितेर घर आउँदा पनि बस्ने ठाउँ नभएर कान्छा बाको गोठ मागेर बसेँ” उहाँले भन्नुभयो “सात दिन गोठमा बसेर हिजो बाहिर निस्केँ, अब बल्ल उपचारको कुरा गर्नुपर्ला ।” स्वास्थ्य मापदण्डअनुसार सात दिनको होम आइसोलेसन पुरा गरेर सामाजिक जीवनमा आउनुभएका उहाँले विपत्तीसँग कोही पनि आत्तिन नहुने बताउँनुहुन्छ । “के सोचेर हिँडेको थिएँ के भयो ”, उहाँले भन्नुभयो ‘मलाई त कोरोना सरुवा हो जस्तो पनि लाग्दैन, होइन भने म कसैसँग सम्पर्कमा नआउँदै कसरी लाग्यो ?” आफूसँगै एउटै स्र्कापियोमा आएका चार जनाको रिपोर्ट नेगेटिभ आउँदा आफ्नो पोजेटिभ आएको उहाँले बताउनुभयो ।

हरिप्रसादलाई भत्केको घर कसरी निर्माण गर्ने चिन्ताले सताएको छ । स–साना दुई छोराछोरी र बुढाबुढी काकाको घरमा आश्रय लिएर बस्नुभएको छ । “समयले पनि हामीलाई मात्रै थिच्यो, कयौं ठाउँमा उपचार गराउँदा उनको टाउको दुख्ने बिमार पत्ता लाग्दैन, यता लाखौँ खर्चेको घर भत्किएको छ’ उहाँले भन्नुभयो । घरबास नै गुमाउँदासमेत कसैले चासो नदिएको उहाँको गुनासो छ । जिल्ला विपत् व्यवस्थापन समितिले उहाँको घरलाई ६ हजार रुपैयाँ दिएको छ । रेडक्रसको ५ हजार, सिवाइसीको ५ हजार र मालिका समाजको २५ हजार राहत पाएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस