नेपालमा २४ घण्टा भित्र कोरोना संक्रमणबाट १० जनाको मृत्यु, जम्मा संख्या ९२ पुग्यो


काठमाण्डाै, २८ साउन । नेपालमा पहिलो पटक २४ घण्टा भित्र कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

जस मध्य ४ जना उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु भएको हो । काठमाण्डौको किस्ट अस्पतालमा उपचारको क्रममा काठमाण्डाैकाे टेकुकी ७८ वर्षीया महिला र बाराको कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै ललितपुरको मेडिसिटी अस्पतालमा जनकपुरको ७२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसै गरि काठमाडौँको ह्याम्स अस्पतालमा धादिङको नीलकण्ठ नगरपालिका १४ काे धुँवाकोटका ३२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै मृत्यु हुनेहरुमा बाराको विश्रामपुर ५ का ३८ वर्षीय पुरुष, जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष, सप्तरीको डाक्नेश्वरी–८ घर भइ राजविराज ६ मा बस्ने ७२ वर्षीय पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाको जनकपुरकी ३८ वर्षीया महिला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङकाे बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुष र  कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा कपिलवस्तु नगरपालिका २ काे तौलिहवाका ४२ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९२ जना पुगेको छ ।

आज थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २८ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ४८४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ६४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । यो संगै अहिले सम्म १६ हजार ७२८ निको भएका छन् । अहिले सम्म कोरोना भाइरस संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस