साबधान ! आज रातिबाट आगामी भदौ १५ गते सम्म काठमाडौं उपत्यकामा यी काम गर्न पाइदैन


काठमाडौ, ३० साउन ।पछिल्लो समय दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेसंगै सरकारले कडाइ गर्न थालेको छ । यसै बीच काठमाडौं जिल्ला प्रशासन कार्यलयले एक सुचना जारी गर्दै विभिन्न काम कारवाही र व्यवसाय गर्न निषेध गरेको छ ।

स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी आदेशमा उल्लेख छ । त्यस्तै भीडभाड सभा र जुलुस गर्न, खुल्ला स्थानमा मानिस भेला हुन पाइने छैन । त्यसै गरि जात्रा महोत्सव सञ्चालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गर्नुपर्नेछ ।

काठमाडौं जिल्ला प्रशासन कार्यलयका अनुसार साउन ३० गते आज राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ ।

जारी आदेश हेर्नुहोस

०००

काठमाडौँ उपत्यकाका ११९ सहित आज थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो

काठमाडौँ, ३० साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ५९४ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गरेका हुन् ।

संक्रमित मध्ये काठमाडौँ उपत्यकाका ११९ रहेका छन् । यो संगै नेपालमा कोरोना भाइरसबाट कुल २५ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको छ ।  पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् । अहिले सम्म १७ हजार ७७ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्कीसकेका छन् ।

गत २४ घण्टामा ११ हजार ५७५ पीसीआर परिक्षण गरिएको पनि प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी गराएका छन । आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ जना पुगेको छ ।

०००

‘जनता आफैँले पनि स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ’

गोरखा, ३० साउन । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनता आफैँले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफू पनि सचेत भएर लाग्नुपर्ने जोड दिनुभएकोे हो ।

“नागरिक समाज, राजनीतिक दलले पनि आफ्ना तर्फबाट सचेतता अपनाउँदै कोरोना सङ्क्रमणको रोकथामका निम्ति अभियान चलाउनुपर्छ”, उहाँले भन्नुभयो, “भारतमा तीव्र गतिमा सङ्क्रमण बढ्दै गएको छ, त्यसको असर स्वतः हामीलाई पर्छ हामी अब सचेत हुनु जरुरी छ ।” उहाँले कोरोना सङ्क्रमणका लागि बिरामीको उपचार गर्न आवश्यक पर्ने औषधि, उपकरणलगायत सामग्रीको सरकारले तत्काल व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

“क्वारेन्टिनको व्यापक व्यवस्थापन गर्नुप¥यो, बिरामीका निम्ती भेन्टिलेटरलगायत आवश्यक उपकरणको व्यवस्था गर्नुपर्छ, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको व्यवस्था गर्ने जुन काम हुनुपर्ने थियो, त्यो काम भएको छैन”, डा भट्टराईले भन्नुभयो, “त्यसका सरकारले नियोजित र व्यवस्थित ढङ्गले काम गर्न सकेको छैन ।” उहाँले सरकारले समयमै सचेत ढङ्गले कोरोना रोकथामका लागि नलाग्ने हो भने स्थिति जटिल बन्दै जाने बताउनुभयो ।

विश्वमा सबैभन्दा बढी सङ्क्रमित मुलुकमध्ये तेस्रो स्थानमा रहेको भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण बढ्दै गएको पाइएकाले उहाँले त्यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्ने भएकाले बेलैमा सबै सतर्क हुनुपर्ने उल्लेख गर्नुभयो ।

डा भट्टराईले आजै एक कार्यक्रमबीच गोरखा अस्पताललाई रगत परीक्षण गर्ने प्रयोशाला मेसिन हस्तान्तरण गर्नुभएको छ । उहाँले चीनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त प्रयोगशाला मेसिन अस्पताल सञ्चालका समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई हस्तान्तरण गर्नुभएको हो । करीब रु सात लाख पर्ने उक्त उपकरणले एकै पटकमा ३६ वटा नमूना परीक्षण गर्न सक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस