आज देखि भदौ १५ गते सम्म काठमाडौं उपत्यकामा यी काम गर्न पाइदैन (सूचना सहित)
काठमाडौ, ३० साउन ।
उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ ।
सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निश्चित गतिविधि निषेधको आदेश जारी गर्नुभएको हो । आदेश विपरीतका काम भएमा ऐन बमोजिम कारवाही गरिने जनाइएको छ ।
खुला स्थानमा भेला, भीडभाड र जुलुस, भीडभाड हुने गतिविधि, जात्रा महोत्सव, पूजा तथा धार्मिक कार्यक्रम, उद्योग व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्व तथा धार्मिक कार्यका लागि हुने जमघट गर्न निषेध गरिएको आदेशमा जनाइएको छ ।
यस्तै शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहायल, चिडियाखाना सञ्चालन गर्न निषेध गरिएको छ ।
फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय तथा कवाड सङ्कलन, उद्योग व्यवसायका लागि स्वास्थ्य मापदण्ड विपरीत कामदार ओसारपसार गर्न, टेक वे बाहेकका होटल रेष्टुराँ सञ्चालन गर्न निषेध गरिएको प्रजिअ दाहालद्वारा जारी आदेशमा उल्लेख छ । आज बिहानदेखि लागू भएको उक्त आदेश आगामी भदौ १५ गतेसम्म जारी रहने जनाइएको छ ।
जारी आदेश हेर्नुहोस
०००
काठमाडौँ उपत्यकाका ११९ सहित आज थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो
काठमाडौँ, ३० साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ५९४ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गरेका हुन् ।
संक्रमित मध्ये काठमाडौँ उपत्यकाका ११९ रहेका छन् । यो संगै नेपालमा कोरोना भाइरसबाट कुल २५ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् । अहिले सम्म १७ हजार ७७ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्कीसकेका छन् ।
गत २४ घण्टामा ११ हजार ५७५ पीसीआर परिक्षण गरिएको पनि प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी गराएका छन । आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ जना पुगेको छ ।
०००
‘जनता आफैँले पनि स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ’
गोरखा, ३० साउन । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनता आफैँले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफू पनि सचेत भएर लाग्नुपर्ने जोड दिनुभएकोे हो ।
“नागरिक समाज, राजनीतिक दलले पनि आफ्ना तर्फबाट सचेतता अपनाउँदै कोरोना सङ्क्रमणको रोकथामका निम्ति अभियान चलाउनुपर्छ”, उहाँले भन्नुभयो, “भारतमा तीव्र गतिमा सङ्क्रमण बढ्दै गएको छ, त्यसको असर स्वतः हामीलाई पर्छ हामी अब सचेत हुनु जरुरी छ ।” उहाँले कोरोना सङ्क्रमणका लागि बिरामीको उपचार गर्न आवश्यक पर्ने औषधि, उपकरणलगायत सामग्रीको सरकारले तत्काल व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
“क्वारेन्टिनको व्यापक व्यवस्थापन गर्नुप¥यो, बिरामीका निम्ती भेन्टिलेटरलगायत आवश्यक उपकरणको व्यवस्था गर्नुपर्छ, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको व्यवस्था गर्ने जुन काम हुनुपर्ने थियो, त्यो काम भएको छैन”, डा भट्टराईले भन्नुभयो, “त्यसका सरकारले नियोजित र व्यवस्थित ढङ्गले काम गर्न सकेको छैन ।” उहाँले सरकारले समयमै सचेत ढङ्गले कोरोना रोकथामका लागि नलाग्ने हो भने स्थिति जटिल बन्दै जाने बताउनुभयो ।
विश्वमा सबैभन्दा बढी सङ्क्रमित मुलुकमध्ये तेस्रो स्थानमा रहेको भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण बढ्दै गएको पाइएकाले उहाँले त्यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्ने भएकाले बेलैमा सबै सतर्क हुनुपर्ने उल्लेख गर्नुभयो ।
डा भट्टराईले आजै एक कार्यक्रमबीच गोरखा अस्पताललाई रगत परीक्षण गर्ने प्रयोशाला मेसिन हस्तान्तरण गर्नुभएको छ । उहाँले चीनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त प्रयोगशाला मेसिन अस्पताल सञ्चालका समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई हस्तान्तरण गर्नुभएको हो । करीब रु सात लाख पर्ने उक्त उपकरणले एकै पटकमा ३६ वटा नमूना परीक्षण गर्न सक्ने अस्पतालले जनाएको छ ।