कोरोनाको संक्रमण बढ्दै गए पनि उपत्यकामा रोकिएन सफाइ अभियान


उपत्यकामा कोरोना भाइरसको सङ््क्रमण बढ्दै गए पनि सफाइ अभियानलाई भने भौतिक दूरी कायम गर्दै निरन्तरता दिइएको छ ।

वाग्मती सफाइ महाअभियानको ३७९औँ हप्तामा पशुपति र बुद्धनगर क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । दूरी कायम गर्दै पशुपति क्षेत्रको वाग्मती किनारमा सफाइ गरिएको उहाँले सुनाउनुभयो ।

यसैगरी बुद्धनगर क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ भयो । भौतिक दूरी कायम गरी कुहिने र नकुहिने फोहर छुट्याएर व्यस्थापन गरिएको उहाँले सुनाउनुभयो । सफाइका क्रममा विभिन्न व्यक्तिका एटिएम कार्ड, लाइसेन्सजस्ता महत्वपूर्ण दस्तावेजसमेत भेटिएको जनाइएको छ ।

विष्णुमती सफाइको ३०७औँ हप्तामा टोखा नगरपालिकाको गुम्बामा वृक्षरोपण गरिएको छ । रोपिएका बिरुवा संरक्षणका लागि कान्तिपुरी बचत तथा ऋण सहकारी संस्थाले २५ वटा तार जाली दिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । नदी किनारमा विभिन्न जातका करिब ३०० बिरुवा रोपिएको छ ।

वाग्मतीको तिलगङ्गा सफाइ अभियानको २६१औँ हप्तामा त्यस क्षेत्रको नदी किनारमा जम्मा भएको फोहर जम्मा गरी गाडीमार्फत व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले बताउनुभयो । आलोकनगर सफाइको १७७औँ हप्तामा त्यस क्षेत्रको चौतारो र मन्दिर सफाइ गरिएको छ । कोरोना बढ्दै गएकाले दूरी कायम राखेर सुरक्षाका विधि अपनाइ सफाइ गरेर फोहरलाई कुहिने र नकुहिनेमा व्यवस्थापन गरिएको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिनुभयो ।

ललितपुरस्थित गोदावरी खोला सफाइको ७६औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरिएको छ । महिला तथा बालबालिकाको सक्रियतामा खोलामा सफाइ गरिएको संयोजक बेबी राजभण्डारीले जानकारी दिनुभयो । कोरोनाको त्रासका कारण नदी किनारका अभियानकर्मीको मात्र सफाइमा सहभागिता थियो ।

नदी किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले भने घरआँगनमै सफाइ गर्नुभएको जनाइएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभरका १०६ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस