आज रातीबाट काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा लागु, यी काम गरे कडा कारवाही हुने (निर्णय सहित)


काठमाडौँ, ३ भदौ । दिन प्रतिदिन कोरोना संक्रमितहरूको संख्या बढ्न थालेपछि जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले काठमाडौँ उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निष्कर्ष निकालेको छ।

उपत्यकाका तीनै जिल्लामा कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते रातिदेखि भदौ १० गतेसम्मका लागि निधेषाज्ञा जारी गर्ने निर्णय मंगलबार राति गरेका हुन्। काठमाडौ, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले भदौ १० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

यसको औपचारिक निर्णय भने केन्द्रस्तरीय सिसिएमसीको सिफारिसमा सरकारले गर्ने छ। एक साता अत्यावश्यक सवारीसाधन, खाद्यान्न र औषधिजन्य पसलबाहेक अन्य सबैथोक बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्नुपर्ने विषयमा छलफल भएको काठमाडौं प्रशासनका प्रवक्ता तुल्सीराम पौडेलले बताए। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यो निर्णयसँगै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी चलाउन नपाइने भएको छ । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन ।

निषेधाज्ञाको अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । यदि बाहिर निस्कीएमा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

मंगलबार काठमाडौँ उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्य काठमाडौं जिल्लामा १३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।

कोरोना भाइरस कोभिड-१९ बाट मंगलबार थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २५७जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८५ जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ५८० जना पुगेका छन् ।

त्यस्तै मंगलबार थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । योसँगै मृतकको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एक–एक जना रहेका छन । निधन हुनेमा ६ जना पुरुष र एक महिला रहेका छन् । तनहुँमा महिला र बाँकी जिल्लामा पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यस्तो छ निर्णय :

०००

मन्त्रिपरिषद् बैठक : सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्थानीय प्रशासनलाई अधिकार

सरकारले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्थानीय प्रशासनलाई अधिकार सुम्पेको छ । भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको हो ।

सम्बन्धित जिल्लाभरि वा जिल्लाको कुनै भागमा मात्र लागू हुनेगरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त आवश्यकता अनुरुप स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकार प्रयोग गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरी अधिकार सुम्पने निर्णय भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिबाट कोभिड–१९ को सङ्क्रमण जोखिमको विश्लेषण गरी सङ्क्रमण जोखिमको अवस्थाका आधारमा संक्रमण ऐन बमोजिम जिल्लाभर वा जिल्लाको कुनै भागमा यस्तो अधिकार प्रयोग हुनेछ । मन्त्रिपरिषषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ नियन्त्रण तथा उपचारको प्रभावकारिताका लागि स्थानीय प्रशासनलाई अधिकार सम्पन्न बनाइएको बताउनुभयो ।

उहाँका अनुसार स्थानीय प्रशासन ऐन बमोजिम प्रमुख जिल्ला अधिकारीले कुनै स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा त्यस्ता स्थान भित्रका सबै सरकारी तथा सार्वजनिक कार्यालय न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित रुपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरु गर्ने ‘वर्क फ्रम होम’ व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनेछ ।

सार्वजनिक आवागमन, पेसा व्यवसाय सञ्चालन, अन्तर्राष्ट्रिय सीमामा आवतजावत, सबै प्रकारका बैठक, सेमिनार, गोष्ठी, तालीम, सम्मेलन, धार्मिक तथा समामाजिक क्रियाकलापलगायत विषयमा यसपूर्वका आदेशहरुद्धारा गरिएका व्यवस्था र जनस्वास्थ्य एवं सुरक्षाका मापदण्ड क्वारेन्टिन तथा आइसोलेशनसम्बन्धी मापदण्ड, कन्ट्रयाक्ट ट्रेसिङसम्बन्धी मापदण्ड तथा अन्य व्यवस्था कोभिड–१९ सङ्क्रमण, रोगथाम, नियन्त्रण, र उपचारको सम्बन्धमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिमका आदेशको अङ्ग भएकाले त्यस्ता सबै आदेश, मापदण्ड तथा व्यवस्थाको पालना गर्ने गराउने कार्य कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) र सम्बन्धित मन्त्रालय एवं निकायले प्रभावकारी रुपमा गर्ने गराउनेछन् । सीसीएमसी र सम्बन्धित मन्त्रालयले सोको प्रभावकारी अनुगमन गर्ने र सो व्यवस्थाको प्रतिकूल काम कारवाही भएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले कानून बमोजिम तत्काल कारवाही गर्ने जनाइएको छ ।

०००

तीन सरकारी कार्यालयको सेवा बन्द

पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन् ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलले मङ्गलबार सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो । कोरोना भाइरस सङ्क्रमण काभ्रेपलाञ्चोकमा समुदायस्तरमा फैलिरहेको असहज परिस्थितिका कारण समग्र कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिई सेवा बन्द गरेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले अति जरुरी बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताउनुभयो ।

यसैगरी जिल्लास्थित मालपोत कार्यालयले पनि पछिल्लो केही दिनदेखि कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढिरहेको जनाउँदै स्वास्थ्य संवेदनशीलताका कारण अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द रहेको जनाएको छ । प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार मङ्गलबारदेखि सेवा बन्द गरिएको बताउनुभयो ।

केन्द्रले जिल्लामा दिनानुदिन सङ्क्रमित दर बढ्दै गएपछि सेवाग्राहीको भीडभाड हुने तीन कार्यालयको सेवा अनिश्चतकालीनरूपमा बन्द गरेको हो । जिल्लामा मङ्गलबार मात्रै १६ सङ्क्रमित देखिएका थिए । केन्द्रको मङ्गलबारको आकस्मिक बैठकले जिल्लास्थित बढी मानिसको भीडभाड हुने तीन कार्यालयको सेवा बन्द गरिएको जनाएको हो । साथै केन्द्रले उपत्यका प्रवेश गर्ने दुई नाका साँगा र नालामा आवागमन जाँचमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कोरोना भाइरसको उच्च जोखिमका कारण आन्तरिक राजश्व कार्यालय, मालपोल कार्यालय र नापी कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गराइएको बताउनुभयो । उहाँका अनुसार अन्य सेवाप्रदायक सरकारी कार्यालयले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गर्नुपर्नेछ ।

यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि जिल्लाका रहेका बैंक तथा वित्तीय संस्थामा मानिसको भीड नियन्त्रण प्रयोजनार्थ आजदेखि अर्को सूचना जारी नभएसम्म दिन बिराएर सेवा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जिल्लाका सबै बैंक तथा वित्तीय संस्थालाई एक दिनको ‘अल्टरनेट’ मा सेवा प्रवाह गर्नेबारे जानकारी गराइएको बताउनुभयो ।

यसैबीच कारोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले पनि आफ्नो सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । ती स्थानीय तहले सूचनाको उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन–२०२० बमोजिम सजाय र जरिवाना गर्नेसमेत जनाएका छन् । हालसम्म कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने सङक्रमितको सङ्ख्या ९७ पुगेको छ ।

०००

विपद्मा मृत्यु भएका परिवारलाई रु दुई लाख

मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद रु दुई लाख राहत दिने निर्णय गरेको छ । विपद्को घटनामा परी कुनै परिवारमा एक जनाको मृत्यु भएमा रु दुई लाख सोही परिवारमा अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप रु एक लाख दिने निर्णय भएको सञ्चारमन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै विपद्बाट घर, आवास नष्ट भएमा वा खाद्यान्न बाली तथा जग्गा जमिन, पसल व्यवसाय नोक्सान भएमा पीडित परिवारले नगद राहत पाउनेछन् । पाँच जनासम्म सदस्य भएका परिवारलाई तत्काल रु १५ हजार र बढी भएमा रु २० हजार दिने निर्णय भएको छ । विपद्का घटनामा परी खाद्यान्न तथा हाल बसोबास गरिरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा घर नष्ट नभए पनि जोखिम रहेमा सुरक्षित स्थानमा घर निर्माण गर्न सरकारले तत्काल रु एक लाख सहायता दिनेछ ।

सरकारले घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च र अस्पतालबाट घर जान प्रतिव्यक्ति रु एक हजार यातायात खर्च दिने पनि निर्णय गरेको छ । क्षति भएको घर पुनःनिर्माणका लागि जिल्ला वन कार्यालयमार्फत सहुलियत दरमा काठ दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरिद गर्न स्वीकृति दिएको छ । सासेक–विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि एशियाली विकास बैंकबाट अमेरिकी डलर २०० मिलियन (करिब रु २३ अर्ब ८८ करोड) बराबरको सहुलियतपूर्ण ऋण र नर्बे सरकारकोतर्फबाट प्राप्त हुने अमेरिकी डलर ३५ मिलियन (करिब रु चार अर्ब १८ करोड) बराबरको अुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

बैठकले पूर्वाञ्चल विश्वविद्यालय (स्कुल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी) विराटनगरलाई बि.ई, इलेक्ट्रिकलमा विद्यार्थी सङ्ख्या–४८ जना सहितको नयाँ थप कार्यक्रम र मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लाबारी, मोरङलाई ब्याच्लर अफ आर्किटेक्चरमा विद्यार्थी सङ्ख्या–४८ जना सहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत अनुदानको मल विवरण व्यवस्थापन निर्देशिक, २०७७ स्वीकृत गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत नेपालले ग्लोबल ग्रिन ग्रोथ इन्टिच्युट को सदस्यता प्राप्त गर्न नेपाल सन्धि ऐन, २०४७ बमोजिम सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस