रोकाको काँधमा युवा स्वरोजगार कोष


–प्रकाश सिलवाल

काठमाडौँ, ३ भदौ । मानिसले आर्थिक दृष्टिबाट आफूलाई कसरी खुशी राख्न सक्छ भन्ने विषयमा छिमेकी चीनबाट विद्यावारिधी गरेका डा.कल्याण रोका (देवराज) को काँधमा नेपाली युवाको व्यावसाय र रोजगार अभिवृद्धि गर्ने भन्ने चुनौती थपिएको छ । युवा तथा साना व्यावसायी स्वरोजगार कोषका नवनियुक्त कार्यकारी उपाध्यक्ष डा.कल्याण रोका (देवराज)ले आज कार्यभार सम्हालेसँगै स्वदेशमै रोजगारीका अवसर सृजनाका लागि नयाँ नीति र योजना कोर्न थाल्नुभएको छ । पक्कै पनि विश्वको साढे सात अर्ब जनसङ्ख्याको साझा विषय र प्राथमिकता खुशी नै हो । यही खुशीको आधार खोज्ने सैद्धान्तिक समीक्षा अब कार्यरुपमा ल्याउन रोकालाई अवसर पनि पैदा भएको छ ।

राष्ट्रिय योजना आयोगले पनि नेपाली जनता कति समृद्ध र सुखी छन् भनेर सर्वेक्षण गरिरहेको छ । उच्च र समतामूलक राष्ट्रिय आय, मानव पूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ र आधुनिक पूर्वाधार तथा सघन आवद्धता, उच्च र दीगो उत्पादन तथा उत्पादकत्व गरी संमृद्धिका ४ वटा सूचक तयार गरेको छ । सुखका सूचक ६ वटा छन् । ६ सूचकमा परिस्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरणीय पद्धति, सुशासन, सबल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान छन् ।

युवा तथा खेलकुलमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) सँग पद तथा गोपनीयताको सपथ लिएपछि उपाध्यक्ष रोकाले अनामनगरस्थित कोषको सचिवालयमा पद बहाली गर्नुभयो । बहालीपछि रासससँग कुरा गर्दै डा रोकाले देशमा रोजगारीको आवश्यकता देखिएका बेला कोषको आवश्यकता र औचित्य बढेर गएको बताउँदै कोरोना महामारीबाट युवामा उत्पन्न छटपटीलाई कोषबाट सम्बोधन जनाउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा श्रमशील युवा अब कामको खोजीमा विदेशमा भौँतारिरहनु नपरोस् । स्वदेशमै आत्मनिर्भर भई काम गर्ने वातावरणका लागि हामी मिलेर कार्ययोजना बनाऔँ ।”

मन्त्रिपरिषद्को यही भदौ १ गतेको निर्णयबाट उपाध्यक्षमा नियुक्त रोका सङ्घीयता, जनसङ्ख्या, समाजशास्त्र, राजनीतिशास्त्र र आर्थिक मामिलाका जानकारका साथै चीनको बेइजिङस्थित यनिभर्सिटी अफ बिजनेस एण्ड इकोनोमिक्सबाट अर्थशास्त्रअन्तगर्त ‘खुशी’ विषयमा विद्यावारिधी गर्नुभएको छ ।

सरकारले ‘समृद्ध नेपाल, ख्ुशी नेपाली’को राष्ट्रिय आकांक्षा तय गरिहेका बेला हाल २१.६ प्रतिशत जनसंख्या गरिवीको रेखा मुनी रहेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा यसको दर अझ बढी छ । कोभिड १९ को विश्वव्यापी मारका कारण पनि एक हजार पाँच सयको सङ्ख्यामा रोजगारीका लागि विदेश भौतारिनु पर्ने अवस्थाको अन्त्य सबैको माग हो । स्थानीय स्रोत साधन र कच्चा पदार्थको अधिकतम प्रयोग हुनेगरी व्यावसायिक तथा सीपमुलक परियोजना संचालन गरी स्थानीय स्तरमै युवालाई स्वरोजगार प्रदान गर्ने उद्देश्यका साथ युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना विसं २०६५ सालमा भएको हो ।

देशमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल स्थापित कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकासमार्फत् परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवालाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।

कोषमार्फत् अशिक्षित र बेरोजगार युवालाई स्वरोजगार बनाउन अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्नुका साथै बैँक र वित्तीय सस्थामार्फत् सहुलियत ब्याजदरमा बिनाधितो आवधिक कर्जा प्रदान गरिनेछ । निःशुल्क रूपमा प्रदान गरिने ती सेवामूलक व्यावसायिक तालिमबाट बेरोजगार युवाको आयआर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन मद्दत पुग्नेछ ।

आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपाङ्ग, घाइते परिवार एव युवा तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिनेछ । त्यस्तो कर्जाबापत् प्रतिव्यक्ति बेरोजगार युवालाई अधिकतम रु दुई लाख र बढीमा २५ जनाको प्रत्येक समूहलाई अधिकतम रु ५० लाख प्रदान गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस