‘जसुदा प्रधान स्मृति पुरस्कार’ शर्मालाई


काठमाडौँ, ३ भदौ । यस वर्षको जसुदा प्रधान स्मृति पुरस्कारबाट नागरिक दैनिकका पत्रकार भाषा शर्मा सम्मानित हुनुभएको छ । ‘महिला सम्पादक भएका म्यागेजिन ः निरन्तरतामा चुनौती’ विषयमा शोध गरेबापत उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा सुरेश आचार्यले प्रशंसापत्रसहित रु २५ हजार राशिको उक्त पुरस्कार शर्मालाई प्रदान गर्नुभयो । त्यस अवसरमा उहाँले ‘ऋचा’ र ‘ अस्मिता’ जस्ता नारीप्रधान म्यागेजिनले महिलाका सशक्त कलमबाट प्रस्फुटित समाचार र विचारले समग्र समाजका साथै सञ्चार जगत्लाई लाभान्वित तुल्याएको तर कालान्तरमा ती बन्द भएका यथार्थ सुनाउँदै पत्रकारितामा नारी जगत् अझै सशक्त हुने वातावरण नबनेको विचार व्यक्त गर्नुभयो ।

जसुदा प्रधान स्मृति कोषका अध्यक्ष पुष्पराज प्रधानले पुरस्कार लेनदेन जस्तो भइरहेको अहिलेका अवस्थामा नयाँ काम गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले शर्माको शोधलाई यस वर्षको पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

साप्ताहिक ‘संरचना’का सम्पादक जसुदाले उक्त साप्ताहिकका साथै ‘पिपल्स रिभ्यू’ अङ्ग्रेजी साप्ताहिकका माध्यमबाट तीन दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा गर्नुभएको योगदानलाई चिरस्थायी तुल्याउन कोष स्थापना गरी पुरस्कारको व्यवस्था गरिएको होे । उहाँको २०६७ साउनमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस