व्याडमिन्टन खेलाडीको व्यथाः प्रशिक्षकविहीन प्रशिक्षण


महेन्द्रनगर, ५ भदौं । दश वर्षमै व्याडमिन्टन खेलमा लाग्नुभएका कञ्चनपुरकी विश्ना विष्ट पाँच वर्षदेखि कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा प्रशिक्षणरत हुनुहुन्छ । दुई वटा अन्र्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउनुका साथै आधा दर्जन राष्ट्रिय प्रतियोगतामा प्रतिस्पर्धा गर्नुभएकी १५ वर्षकी विश्नाले प्रशिक्षणका लागि प्रशिक्षकको भने अभाव रहेको दुखेसो पोख्नुभयो ।

करिब साढे तीन वर्षअघिसम्म कवर्डहलमा स्वय्मसेवक प्रशिक्षक रहनुभएका विवेक थापा रोजगारीका लागि भारत पलायन भएपछि विश्ना जस्तै व्याडमिन्टनका प्रतिभावान खेलाडीहरु अलपत्र परेका छन् । “विवेक गुरु हुँदा प्रशिक्षणदेखि प्रतियोगितामा प्रतिनिधत्व गर्न जाँदा कुनै खालको समस्या भएको थिएन”, यु–१५ मा राष्ट्रिय स्तरमै व्याडमिन्टनको दोस्रो बरियतामा रहनुभएकी विश्नाले दुखेसो पोख्दै भन्नुभयो, “अहिले यहाँ दुई दर्जन भन्दा बढी व्याडमिन्टन खेलाडी गुरु नहुँदा अभिभावकविहीन जस्तै भएका छन् ।”

व्याडमिन्टनका चर्चित खेलाडी दिपेश धामी लगायतका खेलाडी उत्पादन गरेको कञ्चनपुरमा व्याडमिन्टन प्रशिक्षक नभएको डेढ दशक भन्दा बढी समय भइसकेको छ । “पहिले सिकेका भरमा अहिले प्रशिक्षणमा जुटेका छौं”, विश्नाले भन्नुभयो, “प्रतियोगितामा भाग लिन जाँदा कहिँकतैबाट सहयोग नपाउने अवस्था छ ।”

जिल्ला खेलकुद विकास समिति र कञ्चनपुर व्याडमिन्टन संघले समेत व्याडमिन्टन खेलाडीको हकहितका पक्षमा पहल गरेको देखिदैन । “ खेल्ने सामान समेत नभएको अवस्थामा खेलाडीहरुको मनोबल कस्तो होला भनेर सोच्ने पनि कोही भएनन्”, उहाँले भन्नुभयो–“व्याडमिन्टनमा नयाँ खेलाडी उत्पादन शून्य छ ।”

केही दाता र पूर्व खेलाडीको सहयोगका भरमा प्रशिक्षणमा जुट्नु परेको उहाँको भनाइ छ । त्यसैगरी कक्षा–५ पढ्दादेखि नै कवर्डहलमा व्याडमिन्टन खेलमा सक्रिय खेलाडी चिरन विष्ट पनि प्रशिक्षक विनाको प्रशिक्षणले सफलता हासिल गर्न कठिन हुने गरेको बताउँनहुुन्छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी चिरनले खेलाडीले नियमित प्रशिक्षण नपाउँदा प्रतिभा प्रस्तुत गर्न नसकिरहेको बताउनुभयो ।

“काठमाण्डौमा बसेर व्याडमिन्टन प्रशिक्षणमा सहभागी हुने हैसियत सबैको हुन सक्दैन”, उहाँले भन्नुभयो, “व्याडमिन्टनको उर्वभर भूमि भएपनि महेन्द्रनगरमा व्याडमिन्टनको विकास र प्रशिक्षक राख्न सरकारले ध्यान दिएन ।” उहाँले खेलाडीहरु आर्थिक सङ्कटबाट ग्रसित हुने गरेको बताउनुभयो । “हामीले खेल्ने भनेको देशका लागि हो”, विष्टले भन्नुभयो, “खेल क्षेत्रको लगानी दूरदराजका बस्तीसम्म पुग्नु आवश्यक छ ।” उहाँले कवर्डहलमा खेलाडीहरु सहयोगका भरमा प्रशिक्षणमा जुटिरहेको बताउनुभयो । “प्रदेश, संघ जताबाट भएपनि हामीलाई प्रशिक्षक चाहियो”, उहाँले भन्नुभयो, “खेलाडी भएर देशको नाम राख्ने प्रतिभा जन्माउने ल्याकत कञ्चनपुरसित छ भन्ने प्रमाणित समेत भएको अवस्था पनि हो ।” उहाँले राम्रा खेलाडीहरु बाच्नका लागि सुरक्षा निकायको विभागीय टिमबाट खेल्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

त्यसैगरी लामो समय विना पारिश्रमिक प्रशिक्षणमा जुटेका महेन्द्रनगरका स्वयम्सेवक प्रशिक्षक विवेक थापा कोरोना सङ्क्रमणका कारण भारतको बैंग्लोरबाट तीन महिना विदा लिएर गृहनगरमा छन् । “मैले सिकाएका खेलाडीहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म पुग्दा गर्व महसुश हुन्छ”, विदामा रहेपनि जुनियर खेलाडीलाई जम्मा पारेर प्रशिक्षणमा रहनुभएका थापाले रासससित भन्नुभयो, “यति लामो समयदेखि प्रशिक्षण विहीन हुँदा पनि खेलाडीहरुका पक्षमा बोल्ने कोही भएनन् ।” उहाँले आफू बेरोजगारी समस्याले भारत पलायन हुनुपर्ने बाध्यतामा पुगेको बताउनुभयो ।

बैंग्लोर व्याडमिन्टन क्लबमा आवद्ध भएर भारतमा प्रशिक्षण गराइरहनुभएका थापाले व्याडमिन्टनको विकासका लागि प्रशिक्षकको नै मुख्य भूमिका रहने बताउनुभयो । “यहाँ आएर हेर्दा नयाँ खेलाडी उत्पादन छदैछैन रहेछ”, उहाँले भन्नुभयो, “नयाँ उत्पादन छैन, पुराना खेलाडीहरुलाई खेल्ने जोडी समेत नभएको अवस्था देखेर मन खिन्न भयो ।” उहाँले कञ्चनपुरबाट धेरै प्रतिभावान खेलाडीहरु पलायन भएको बताउनुभयो । “विदाको सदुपयोग गर्दै पुराना र नयाँ खेलाडीहरुलाई सटक क्रर्क लगायतका खेल सामाग्री उपलब्ध गराएर प्रशिक्षण गराउने भनेको थिए”, उहाँले भन्नुभयो, “कोरोनाका कारण त्यो पनि प्रभावित हुने स्थिति छ ।”

नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँरले कञ्चनपुर प्रशिक्षणविहीन भएको डेढ दशक भइसकेको बताउनुभयो । “मुलुकभरमै व्याडमिन्टन प्रशिक्षक कम छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुद परिषद्ले स्थायी नियुक्ती बन्द गरेको छ ।” उहाँले केही समयअघिसम्म यहाँ प्रशिक्षक ल्याउन व्याडमिन्टन संघले पहल गरेको बताउनुभयो । “अब प्रदेश सरकारबाट समेत प्रशिक्षक नियुक्त गर्न सक्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सकरात्मक रुपमा पहल भइरहेको पनि छ ।” रासस

प्रतिक्रिया दिनुहोस
अर्थ
धर्म दर्शन