अब पुरानो निजी मोटरसाइकल र कार चढ्नेले पनि थप अतिरिक्त वार्षिक कर तिर्नु पर्ने


काठमाडौँ, ९ भदौ । नेपाली सडकमा हजारौ पुराना निजी कार तथा मोटरसाइकलहरु गुड्छन । सवारी साधनमा अत्याधिक कर र भन्सार तिर्ने देश मध्य नेपाल एक हो । त्यस माथि अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त कर तिर्न बाध्य बनाएको हो ।

सार्वजनिक सवारी साधन सञ्चालनका लागि लागु भएको नियमअनुसार उत्पादन भएको २० वर्षपछि सार्वजनिक सवारी चलाउन पाइँदैन । त्यस्ता सवारीलाई पत्रु (स्क्राप) गर्नुपर्ने हुन्छ । तर, निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनको हकमा भने आयु तोकिएको छैन त्यसैले निजी सवारी दर्ता भएको १४ वर्ष कटेपछि सरकारले वार्षिक करमा ५ प्रतिशत अतिरिक्त शुल्क लगाउँदै आएको छ ।

कार तथा मोटरसाइकल दुवैमा त्यस्तो अतिरिक्त शुल्क लिने व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मै व्यवस्था गरिएको छ । त्यसैगरी, बाग्मती प्रदेश सरकारले बनाएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ मा पनि १४ वर्ष कटेका कार तथा मोटरसाइकलमा वार्षिक करमा ५ प्रतिशत अतिरिक्त कर लगाउने व्यवस्था छ ।

अहिले सरकारले यस्तो नियमलाई पूर्ण रूपले कार्यान्वयनमा ल्याएको हो । अब सडकमा गुडिरहेको जुनसुकै बेला ट्राफिक प्रहरीले बिलबुक चेक गर्ने क्रममा पनि १४ वर्षभन्दा पुरानो निजी सावारी साधन चलाउने सवारी धनीहरूलाई यस्तो अतिरिक्त कर लाग्ने बारेमा जानकारी दिने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

अहिले दुईपांग्रे मोटरसाइकल तथा स्कुटरहरूका लागि १२५ सिसीसम्मका लागि प्रतिवर्ष २ हजार ८ सय रुपैयाँ, १२६ देखि १५० सिसीसम्मका लागि ४ हजार ५ सय रुपैयाँ, २५१ देखि ४०० सिसीसम्मका लागि ९ हजार रुपैयाँ र ४ हजार १ सिसी र सोभन्दा माथिकालाई १६ हजार ५ सय रुपैयाँ वार्षिक नवीकरण शुल्क बुझाउनुपर्नेछ ।

यसैगरी, चारपांग्रे निजी सवारी साधनहरू कार, चिप, भ्यान र माइक्रोबसको वार्षिक नवीकरण कर हजार सिसीसम्मका लागि २१ हजार रुपैयाँ, १ हजार १ देखि एक हजार ५ सय सिसीसम्मका लागि २३ हजार रुपैयाँ बुझाउनुपर्ने छ ।

१ हजार ५ सय १ सिसीदेखि २ हजार सिसीसम्मका लागि ३० हजार रुपैयाँ, २ हजार १ देखि २ हजार ५ सय सिसीसम्मका लागि ३५ हजार ५ सय रुपैयाँ, २ हजार ५ सय १ देखि २ हजार ९ सय सिसीसम्मका लागि ४१ हजार रुपैयाँ र २ हजार ९ सय १ सिसीदेखि माथिका सबै चारपांग्रे निजी सवारी साधनको वार्षिक नवीकरण शुल्क ५८ हजार ५ रुपैयाँ तोकिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस