प्रदेश सरकारले विराटनगरमा एक हजार शय्याको आइसोलेशन सञ्चालन गर्ने


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा थप एक हजार शय्याको आइशोलेन केन्द्र सञ्चालन गरिने बताउनुभएको छ । मुख्यमन्त्री कार्यालयमा आज आयोजित प्रदेशस्तरीय सिसिएमसीको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले थप आइसोलेशन केन्द्र यथाशीघ्र निर्माण गर्ने गरी कार्य अगाडि बढाउने बताउँदै प्रदेशभित्र हालसम्म आइसोलेशनको प्रयोगको अवस्थासहित विस्तृत विवरण तयार गर्न निर्देशन दिनुभयो ।

आइसोलेशन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई प्रदान गरिएको छ । आइसोलेशन स्थानीय पालिका, निजी क्षेत्रलगायतसँंग समन्वय र साझेदारीमा सञ्चालन हुनेछन् ।

सरकारले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कफ्र्यु आदि क्रमशः हटाउँदै जाने, सङ्क्रमण देखिएका स्थानमा मात्र सिल गरी कोभिड–१९ को चेन ब्रेक गर्ने र कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवं स्थानीय प्रशासनसँग समन्वयात्मक रुपमा अगाडि बढ्ने नीति जनाएको छ ।
बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीका लागि तोकिएको प्रवेशविन्दुका अतिरिक्त पशुपतिनगर इलाम, रंगेली मोरङ, टांँगनडुवा झापा, गौरीगञ्ज झापा र भण्टाबारी सुनसरीलाई थप प्रवेशविन्दु (नाका) कायम गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी बैठकले भोजपुर नगरपालिका–६ देउरालीमा रहेको शैक्षिक तालीम केन्द्रको भवनमा २५ शय्याको आइसोलेशन वार्ड सञ्चालन एवं उदयपुरको नेत्रज्योति संघद्वारा निर्मित मदन भण्डारी आँखा अस्पतालमा आइसोलेशन वार्ड स्थापना गर्न उदयपुर अस्पताल, उदयपुरलाई अनुमतिसमेत दिएको छ ।
बैठकले कोभिड –१९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान,२०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालका लागि सो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुनेछ

मन्त्री घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार

कोरोना सङ्क्रमणबाट पीडित प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । होम आइसोलेशनमा रहनुभएका मन्त्री घिमिरेको स्वास्थ्यमा धेरै सुधार हुँदै गएको स्वकीय सचिवालयले आज यहाँ जनाएको छ । सचिवालयद्वारा आज जारी विज्ञप्तिमा मन्त्री घिमिरेको स्वास्थ्यावस्था अहिले सामान्य रहेको तथा ज्वरो र झाडापखाला नियन्त्रणमा आएको उल्लेख गरिएको छ ।

यसैगरी रक्तचाप केही बढेको, जीउ दुख्ने, नाक बन्द हुने र सामान्य खोकी लागेको प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । मन्त्री घिमिरेले सङ्क्रमण पुष्टि भएको भोलिपल्टदेखि अक्सिजनको मात्रा, ज्वरो र नाडी परीक्षण गरी चिकित्सकलाई रिपोर्टिङ गर्दै आउनुभएको छ ।
उहाँको अक्सिजनको मात्रा, ज्वरो र नाडीको अवस्था सामान्य रहेको कोशी कोभिड अस्पतालका डा मिलन बस्नेतले बताउनुभयो । मन्त्री घिमिरेलाई यही भदौ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस