सुत्केरी हुन नसक्दा तीन दिनदेखि गर्भवती छटपटाउँदै


बाजुराको बूढीनन्दा नगरपालिका–३ मेलढुस्काकी एक गर्भवतीको ज्यान जोखिममा रहेको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी सोही नगरपालिका–३ मेलढुस्काकी २२ वर्षीया रमिता बोहराको बच्चा जन्माउन नसक्दा ज्यान जोखिममा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

गर्भवती बोहराको पाठेघरमा समस्या भएकाले कोल्टीमा सुत्केरी गराउन नसकिने भएपछि घरको आर्थिक अवस्था कमजोर भएकाले रिफर गरिएको भए पनि अस्पताल लैजान नसकेको श्रीमान् रामचन्द्र बोहराले दुखेसो गर्नुभयो ।

जिल्ला बाहिर लैजान आर्थिक अवस्था कमजोर भएकाले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जिल्ला अस्पतालमा थप उपचारका लागि रिफर बनाइ मागेर कोल्टीबाट घर लगेको उहाँले बताउनुभयो ।

सुत्केरी हुने समय आठ दिन बितिसकेको छ । महिलालाई सुत्केरी गराउन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको भए पनि गर्भवतीको पाठेरघरको मुख नखुलेपछि सुत्केरी गराउन अन्यत्र रिफर गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा राजुराज जैशीले बताउनुभयो ।

लामो समयदेखि सुत्केरी व्यथा लागेकी गर्भवतीको परिवारमा आर्थिक अभावका कारण कोल्टीबाट घर लगिएको छ । महिलाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न थालेको वडा नं ३ का वडाध्यक्ष रामबहादुर बोहराले बताउनुभयो । उहाँले गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारका लागि पहल भइरहेको जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस