कञ्चनपुरको लालझाँडीवासीको पीडाः ‘सधैँ दोदा नदीकै दुःख भयो’


बर्सातमा नदी तर्दा होस् या लगाएको खेतबारी नदीले बगाउँदा लामो समयदेखि कञ्चनपुरको लालझाँडी गाउँपालिकाका स्थानीयवासीले दोदा नदीकै दुःख झेल्दै आउनु परेको छ । भौगोलिक रुपले जिल्लामै विकट स्थानीय तहका रुपमा चिनिएको, राना थारू समुदायको बाहुल्यता भएको लालझाँडी गाउँपालिका अझै सडक सञ्जाल, विद्यत्, खानेपानी, स्वास्थ्य सेवासित जोडिन सकेको छैन । गाउँपालिकाको उत्तर–पश्चिम भएर बग्ने दोदा नदीले दशकौँदेखि सयौँ बिघा खेतीयोग्य जमीन बगाइसकेको छ भने सयौँ परिवार विस्थापित भएर अझै जङ्गलमा बाससमेत बसिरहेका छन् ।

“गाउँपालिकाको तीन तिरबाट दोदा नदी बग्छ”, लालझाँडी गाउँपालिका–३ पर्सियाका रमेश रानाले भन्नुभयो, “बर्सातका बेला दोदाको बाढीले गाउँबाट यताउता जानै गाह्रो भइहाल्छ ।” गाउँपालिका–३ र ४ नं वडामा नदी कटानको बढी समस्यामा रहेको स्थानीयवासी छेदकलाल रानाको भनाइ छ । “गाउँपालिकाको अरू वडाको तुलनामा यी दुई वडा कटानको उच्च जोखिममा पर्दै आएका छन्”, उहाँले भन्नुभयो, “गाविसबाट पालिकामा रुपान्तरण भइसके पनि नदीमा तटबन्ध लगाउने सुरसार कतिबाट भएको छैन ।”

उहाँले बाढीका बेला तटीय क्षेत्रका बस्तीहरु डुबानमा पर्ने गरेको बताउनुभयो । “बस्तीको सयौँ बिघामा अहिले नदी बगिरहेको छ”, उहाँले भन्नुभयो, “बर्सातमा त्यही नदीमा पुल नहुँदा ट्युब तर्नुपर्ने बाध्यता पनि हामीसित छ ।” त्यसैगरी लालझाडी गाउँपालिका–४ मा दोदा नदी माथी निमार्णाधीन झोलुङ्गे पुल भत्किएको छ । “सङ्घीय सरकारको बजेटमा बनिरहेको झोलुङ्गे पुल केही दिनअघि आएको बाढीले गर्दा पुलको पश्चिमतर्फको पुलको पिल्लर भत्किएको छ”, डाँडा गाउँका स्थानीयवासी नरेश रानाले भन्नुभयो, “निर्माणाधीन पुल ठेकेदार र इन्जिनीयरको लापरबाहीले भत्किन पुगेको हो ।”

दोदा नदीले बर्सातमा मात्रै नभई बलौटे माटो हुनाले हिउँदमा समेत कटान गर्ने गरेको स्थानीयवासीको गुनासो छ । २०६५ सालमा दोदा नदीमा ठूलो बाढीले दोदा नदी किनारको कुलियापट्टि गाउँ नै विस्थापित गरेको थियो । “गाउँ विस्थापित भएको दशक बितिसक्दा पनि यहाँ पुनस्र्थापनाको काम भएन”, स्थानीय रामसाहेब रानाले भन्नुभयो, “विस्थापितहरु अझै जङ्गल छेउमा टहरा बनाएर बसिरहेको अवस्था छ ।”

कुलियापट्टिका ३० घरधुरीका चौधरी सुमदायको गाउँको छेउको जङ्गलको किनारमा बसोबास गरिरहेका छन् । त्यसैगरी, पर्सियाका बहादुर रानाले पनि दोदा नदी ५०० मिटरभित्र गाउँ पसिसकेको बताउनुभयो । “हरेक वर्ष दोदाले यहाँ कटान गरेर क्षति पु¥याइरहेको भए पनि सरोकारवाला निकायको ध्यान पुगेन”, रानाले भन्नुभयो, “त्यही दोदा नदीको व्यवस्थापन चुनावी नारा बन्न लागेको पनि धेरै भइसक्यो ।” उहाँले कटान नियन्त्रणका लागि जैविक तटबन्धबाहेक अरू केही नभएको बताउनुभयो । पर्सियाकै ओमप्रकाश रानाले पनि बर्खायाममा नदी कटानको समस्याले धेरै दुःख दिने गरेको बताउनुभयो । “धान, मकै, उखु, र तरकारी खेती बर्खायाममा बाढीले बगाउने चिन्ता हुन्छ”, उहाँले भन्नुभयो, “नदी कटानले नै केही परिवार हलिया बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

नगरप्रमुखको कामः उपप्रमुख डेरामा

दोदा नदीमा बन्नुपर्ने पक्की पुल ठेकेदारको लापरबाहीले अलपत्र पर्दा लालझाँडी गाउँपालिकाका उपप्रमुख सत्यदेखि महराले भाडामा बस्नु परेको बताउनुभयो । मेरो घर गाउँपालिका–५ को देखतभुलीमा हो”, हाल गाउँपालिका–२ कञ्जमा डेरा गरी बस्दै आउनुभएकी उपप्रमुख महराले रासससित भन्नुभयो, “कार्यालय आउन/जान बर्सातमा समस्या हुँदा डेरा गर्नु परेको छ ।” उहाँले बाणी–देखतभुली, देखभुली कञ्ज शङ्करपुर पचगडिया बाइसेविचुवा जोड्ने सडकखण्डअन्तर्गत देखतभुली–शङ्करपुर दोदा नदीमा निर्माणाधीन पुल पाँच वर्षअघि ठेक्का भएको बताउनुभयो ।

“समयमा पुल बनेको भए मैले डेरा गरी कार्यालयको कामकाज गर्नुपर्ने अवस्था आउने थिएन”, उहाँले भन्नुभयो, “अहिलेसम्म पुलका तीनवटा पिल्लर मात्रै ठडिएका छन् ।” पुल निर्माणको म्याद सकिएको बीस महिना बितिसक्दा पनि पुलको ५० प्रतिशत कामसमेत हुन सकेको छैन । पुल निर्माणको जिम्मा पाएको कम्पनी लुम्बिनी–राजेन्द्रकुमार श्रेष्ठ जेभीले प्राविधिक समस्या देखाएर पुल अलपत्र छाडेको हो ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले उक्त काम अहिले डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले गरिरहेको बताउनुभयो । “प्राविधिक समस्याले पुलको फाउन्डेसनको काम रोकिएको हो”, उहाँले भन्नुभयो, “नवौँ संशोधनअनुसार आगामी माघसम्मका लागि म्याद थप भएको छ ।” उहाँले पुल निर्माणको काम ६० प्रतिशत भइसकेको र प्राविधिक कारणले रोकिएको दाबी गर्नुभयो । निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबीच ०७२ सालमा फुटपाथ सहितको दुई लेन चौडाइ १७० मिटर लम्बाइको पुल निर्माणका लागि सम्झौता भएको थियो ।

सूचना अधिकारी जोशीले पुल निर्माणको अल्झन केही दिनमै समाधान भएर निर्माण अघि बढ्ने बताउनुभयो । पुल निर्माण नभएको भन्दै स्थानीयवासीले पटकपटक सडक डिभिजन कार्यालय कञ्चनपुरका ज्ञापनपत्र बुझाएका छन् । हाल उक्त क्षेत्रमा पुल नहुँदा सर्वसाधारण शुल्क तिरेर आवतजावत गरिरहेका छन् । स्थानीयवासीले नदी तर्न ट्युब राखेका छन् ।

गाउँपालिकाका उपप्रमुख महराले घर आउँदा धनगढी वा कलुवापुरको घुमाउरो बाटो हुँदै घर पुग्नु परेको बताउनुभयो । “बिदा दिन मिलाएर घरतिर जाँदा एक घण्टाको दूरीका लागि पूरै धनगढी हुँदै घर पुग्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “पुल बनेमात्र लालझाँडी जिल्लाको मूलधारसित जोडिनेछ ।” पुलकै कारण स्थानीयवासीलाई हिँड्डुलमा समस्या भएको महराको भनाइ छ । “निर्वाचित भएयता सडक सञ्जालकै कारण डेरा गरी बस्नु परेको हो”, उहाँले भन्नुभयो, “दोदा नदी कटान र पुल निर्माणको काम स्थानीय सरकारको बजेटले सम्भव छैन ।”

उहाँले गाउँपालिकामा सबैभन्दा बढी दोदा नदीको कटान समस्या रहेको बताउनुभयो । “गत वर्ष हामीले रेडक्रससित साझेदारी गरेर जैविक तटबन्ध बनाएको हो ।” उहाँले भन्नुभयो, “सङ्घीय सरकारबाट बजेट यहाँ नआउँदासम्म साना बजेटले केही हुने देखिँदैन ।” गाउँपालिकाका तर्फबाट सङ्घीय सरकारसित बजेटका लागि गुहार माग्दै आएको महराले बताउनुभयो । “पुलकै कारण गाउँपालिका आउनजान स्थानीयवासीले २० देखि रु ५० सम्म ट्युबमा तिर्नुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “पुलको ठेक्का लिने काम नगर्ने जो कोही भए पनि कारबाही गर्नुपर्छ ।” रासस

प्रतिक्रिया दिनुहोस