गुल्मीमा अपरिचित व्यक्तिको कु’टाइबाट आज एक जनाको मृत्यु


गुल्मीमा अपरिचित व्यक्तिको कु’टाइबाट आज एक जनाको ज्यान गएको छ । पि’टाइबाट इस्मा गाउँपालिका –२ हस्तिचौर निवासी २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

हस्तिचौरको छिन्नाखोलामा होटल व्यवसाय सञ्चालन गर्दै आएका कुँवर बिहान घाइते अवस्थामा फेला पर्नुभएको थियो । छिन्नाखोलामा कुँवर दाजुभाइ मिलेर होटल व्यवसाय सञ्चालन गर्नुभएको थियो । आइतबार बेलुकी दाजु यमबहादुरले भाइलाई होटलमै छाडेर घर गएको र घरबाट होटलमा आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताउनुभयो ।

घाइते कुँवरको गुल्मी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । अस्पताल ल्याउँदा मृत्यु भइसकेकाले आफूहरुले मृत्यु घोषणा मात्रै गरेको अस्पतालका डा उत्तम पच्याले बताउनुभयो । घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक पन्तको नेतृत्वमा प्रहरी टोली घटनास्थल पगेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

अर्घाखाँचीमा कैदीको मृत्यु

जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रूपन्देही, तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिनुभयो ।

मृतक पाण्डेलाई मुटुको समस्या थियो । शनिबार साँझ उहाँको शरीर एक्कासि सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले स्वास्थ्यवस्था जटिल रहेको बताएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको थियो । पाण्डेको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस