कोरोना सङ्क्रमितलाई योगाभ्यास


आयुर्वेद शाखा जुम्लाले यहाँका कोरोना सङ्क्रमितलाई योगाभ्यास गराउन थालेको छ । यहाँका विभिन्न आइसोलेशनमा रहेका सङ्क्रमितको प्रतिरक्षा प्रणालीमा सहयोग पु¥याउने उद्देश्यका साथ योगाभ्यास गराइएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिकास्थित निर्माण व्यवसायी सङ्घको कक्षमा रहेको आइसोलेशनका कोरोना सङ्क्रमितलाई अहिले हरेक बिहान योगाभ्यास गर्न थालेका छन् । यहाँका विभिन्न आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई हरेक बिहान योगाभ्यास गराउन थालिएको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेेद चिकित्सक डा प्रतिभा शर्माले जानकारी दिनुभयो ।

“यसअघि जुम्ला हिमा गाउँपालिकाको कालिकाखेतुको आइसोलेशनका ४० सङ्क्रमितहरुलाई योग अभ्यास गराइयो”, रासससँग कुरा गर्दै डा शर्माले भन्नुभयो, “अहिले यहाँका २७ सङ्क्रमितलाई अभ्यास गराइरहेका छौंँ । सबैले निकै आनन्द लिएर अभ्यास गरिरहनुभएको छ ।”

योगाभ्यासले मानव जीवनलाई अनुशासित बनाउन, शुद्ध पार्न र मन शान्ति दिन सघाउने भएकाले हरेक व्यक्तिले गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले अगाडि भन्नुभयो, “रोग प्रतिरक्षा प्रणाली कम भएपछि असर पार्न सक्ने अवस्थालाई ध्यान दिएर तीनदेखि सात दिनसम्मको योग अभ्यास शुरु गर्दा सङ्क्रमित निकै रुचि राखेर सहभागी हुनुभएको छ । हामीले सबै कोरोना सङ्क्रमितलाई अश्वगन्धा, स्टीमधु, अमला जस्ता आयुर्वेदिक औषधि पनि वितरण गर्दै आएका छौंँ ।”

उहाँका अनुसार यसअघि जुम्लाका विभिन्न क्वारेन्टिनका ८०० व्यक्तिलाई योगाभ्यास गराइसकिएको छ ।
आयुर्वेद शाखा जुम्लाका अध्यक्ष मनोज बुढाथोकी मगरले व्यक्तिले सही तरिकाले योगाभ्यास गरेमा उसको परिवार पनि लाभान्वित हुने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस