पाटनमा भुज्याय् पर्व प्रभावित


कोभिड–१९ को जोखिमले ललितपुरको पाटनमा मनाइने टोलटोलको पूजा अर्थात् भुज्याय् पर्वलाई असर पु¥याएको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको पाटनमा रथयात्रा गरेको भोलिपल्ट यो पर्व मनाइने प्रचलन रही आएको छ ।

मच्छिन्द्रनाथको रथलाई गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याउँदासम्म पाटनका टोलटोलका मानिसले आ–आफ्ना क्षेत्रमा करुणामय पुगेको दोस्रो दिन भुज्याय् मनाउने चलन रहेको ललितपुर महानगरपालिका–१६ निवासी चित्रवीर बज्रचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भुज्याय्को दिन हरेक घरघरका मानिसले बाजागाजा र पूजा सामग्रीसहित लोकेश्वरको दर्शन गर्न आउने चलन थियो । यसपटक कोरोनाका कारण हरेक टोलटोल र घरका भुज्याय् पर्व स्थगन गर्नुपरेको छ ।” भुज्याय्को दिन आफ्ना छोरी र नातेदार बोलाएर भोज खाने र खुवाउने चलन पनि रहेको हुँदा यस समेत गर्न नपाएकोमा उहाँले गुनासो गर्नुभयो ।

करुणामय पाटनका टोलटोलमा पुगेको खुशियालीमा भोलिपल्ट बाजागाजा, भजन, कृतन, नाचगान र पूजा आदि गरिने परम्परा रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष हरेक घरबाट सोह्रखुट्टे पाटी नजिकै रहेका करुणामयको पूजा गर्न आउन सम्भव भएन । अब लोकेश्वरको पूजा गर्ने र भोज बनाएर खाने काम सम्भवतः घरघरमै हुन्छ होला ।”

लोकेश्वरले ‘म हेरेक टोलटोलमा आएर सहकाल गराउँछु’ भन्ने मान्यताअनुरुप भुज्याय् गर्ने गरिएको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । यस वर्ष कोरोना जोखिमका कारण रथयात्रामा सहभागी सबैले एकै किसिमको पोशाक र स्वास्थ्य सावधानी अपनाएर रथलाई शान्तपूर्वक तानेर जात्रा सक्ने पुचःका संयोजक चन्द्र महर्जनले जानकारी दिनुभयो ।

आइतबार दिउँसो ४ बजेर ५१ मिनेटमा रातो मच्छिन्द्रनाथको रथलाई महानगरपालिका अगाडि सोह्रखुट्टे पाटी र मीननाथको रथलाई गाःबहालबाट लपु महानगरपालिकाको ढोका नजिकै राखिएको छ । साँझ रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले घरघरमा छवयलाबु पर्व मनाएका थिए ।

विगतका वर्षमा मच्छिन्द्रनाथको रथलाई विभिन्न टोलमा लगेर जावलाखेल पु¥याएपछि शुभ साइतअनुसार भोटोजात्रा गर्ने गरिन्थ्यो । आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको जनाइएको छ ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुपकामाक्षबाट नेपाल ल्याएका इतिहासमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस