भूमिको अधिकतम प्रयोग गरेर गरिबीको अन्त्य ः मन्त्री अर्याल


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदामाथि भर्चुअल छलफलमा उहाँले गरिबी निवारणका निम्ति सहकारीमार्फत भूमिको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।

मन्त्री अर्यालले गरिब पहिचानको काम मन्त्रालयले गरेको भन्दै अब गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर मुलुकबाट गरिबी अन्त्य गर्ने समेत बताउनुभयो । “देशभित्र पर्याप्त रोजगारीको सिर्जना गर्ने, गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नु पर्नेछ,” उहाँले भन्नुभयो ।
सहकारीमार्फत गरिब लक्षित कार्यक्रम चलाउने गरी योजना बनाउन मन्त्री अर्यालले सहकारी क्षेत्रलाई आग्रह गर्नुभयो । सहकारी क्षेत्र र निजी क्षेत्रसँग सरकारले सहकार्य गरेर मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनुपर्ने उहाँको भनाइ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस