बर्दियामा वन्यजन्तुमैत्री ‘ओभरहेड ब्रिज’ बन्ने


बर्दिया जिल्ला, मधुवन नगरपालिकास्थित खाता करिडोर संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडकखण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड नमूना ब्रिज बन्ने भएको छ । हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड ब्रिज बन्न लागेको यो नेपालको पहिलो योजना हो । खाता जैविक मार्ग खाता संरक्षण क्षेत्रमा पहिलो चरणमा बन्ने ओभरहेड ब्रिज ४५ मिटर चौडाइको हुने छ ।

ओभरहेड ब्रिज निर्माणका लागि झण्डै रु नौ करोड लागत लाग्ने बताइएको छ । योजनाको वातावरण प्रभाव मूल्याङ्कन भएलगत्तै चालु आवदेखि निर्माण शुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले बताउनुभयो ।प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको विस्तृत परियोजना प्रतिवेदन गौमुखी इञ्जिनीयरिङ सर्भिस प्रालि ललितपुरबाट तयार भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश नम्बर ५ को यो एकदमै नवीनतम योजना रहेको बताइएको छ । खाता संरक्षण क्षेत्र मधुवन नगरपालिकामा पर्छ । हुलाकी सडकको झण्डै दुई किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । सोमध्ये झण्डै साढे पाँच सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुन्छ ।
खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोड्ने गर्छ । खाता करिडोर भएर हात्ती, गैँडा, बाघलगायत संरक्षित वन्यजन्तु नियमित रुपमा नेपाल–भारत आवतजावत गर्छन् । वन्यजन्तुको आवागमनलाई ध्यानमा राखी खाता करिडोर क्षेत्रमा वन्यजन्तुका लागि ओभरहेड ब्रिज बनाउन लागिएको डिभिजन वन कार्यालयले जनाएको छ । खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एशियाकै महत्वपूर्ण जैविक मार्ग मानिन्छ ।

खाता जैविक मार्गको महत्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा सो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोषणा गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस