बन्दाबन्दीमै लहलहाउँदै बर्दिबास नगरको सौन्दर्य


भन्छन् नि, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ महोत्तरीको बर्दिवासमा रोटरी क्लब बर्दिवासले बन्दाबन्दीकै बीचमा (निषेधाज्ञा जारी रहेका बेला) सिर्जनात्मक काम गरेर यो आहानलाई चरितार्थ गरेको छ । रोटरी क्लब बर्दिवासमा आबद्ध यहाँका सामाजिक अभियानकर्मीको सक्रियताले बर्दिवास मुख्यचोकको सौन्दर्य लहलहाउँदा बिरुवाले आकर्षक देखिएको ।

पूर्वपश्चिम राजमार्ग, बीपी राजमार्ग (बर्दिवास–बनेपा) र बर्दिवास–जलेश्वर सडकको सङ्गम रहेको बर्दिवासचोकमा अहिले विभिन्न १५ जातका बिरुवा सडकपेटी पार्कमा हुर्कँदै छन् । व्यापारिक र शैक्षिक केन्द्रका रूपमा विकास गर्दै गरेको बर्दिवासको यो मुख्यचोकमा सौन्दर्य वृद्धिकै लागि रोटरी क्लब बर्दिवासले कलात्मक पार्क बनाएर वृक्षरोपण गरेको हो ।

“कोभिड–१९ सङ्क्रमण सन्त्रासले जकड्याएका बेला केही रचनात्मक काम गरौँ भन्ने हुटहुटीले बर्दिवास मुख्यचोकमा व्यवस्थित पार्कसहित बिरुवा रोपण गर्ने टुङ्गोमा पुग्यौँ”, बर्दिवास–१४ स्थित गौतम होटलका सञ्चालकसमेत रहनुभएका रोटरी क्लब बर्दिवासका अध्यक्ष हिरा गौतमले भन्नुभयो, “बन्दाबन्दीबीचमै सहयोग जुट्दै गयो, करिब दुई महिना लगाएर मुख्यचोक परिसरमा पार्र्कसहितको वृक्षरोपणको काम सम्पन्न गरेका छौँ ।” पूर्वपश्चिम राजमार्गको दुवैतर्फको सडकपेटीमा आठ वटा पार्क बनाएर वृक्षरोपण गरिसक्दा रु १५ लाख खर्च भएको गौतमको भनाइ छ । यो सबै रकम स्थानीय उद्यमी, व्यवसायी र बर्दिवासवासीबाट प्राप्त भएको क्लबले जनाएको छ ।

कलात्मक घेराबेरासहितको आठ वटा पार्क (बगैँचा) भित्र अहिले कपुर, रुद्राक्ष, क्रिसमस–ट्री, साइकस, गोल्डमोहर, वीरेन्द्रपूmल, लालुपाते र मुसुण्डासहितका बिरुवा लहराएका छन् । केही महिनापहिले अस्तव्यस्त देखिने चोक परिसरमा अहिले कलात्मक पार्कभित्र हुर्कँदै गरेका बिरुवाले चमक बढाएको आम बटुवाको प्रतिक्रिया हुने गरेको छ ।

“गर्दा हुँदो रहेछ भन्ने दृष्टान्त बनेको छ”, वृक्षरोपणको पार्कतिर देखाउँदै बर्दिवास उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद गौतम भन्नुहुन्छ, “एउटा अघि सरेपछि सहयोगी हात थपिँदा रहेछन् ।” क्लबले नेतृत्व लिएपछि उद्यमी, व्यवसायी, स्थानीय तहका प्रतिनिधि र अरू सर्वसाधारणले पनि स्वेच्छिक आर्थिक सहयोग र वृक्षरोपणमा उपस्थितिसमेत जनाएका वरिष्ठ उपाध्यक्ष गौतमको भनाइ छ ।

विसं २०७३ सालमा स्थानीय तहको निर्वाचनपूर्व बर्दिवास नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामकुमार कार्कीले पार्क निर्माणको काम थाल्नुभएको थियो तर लगत्तै निर्वाचनको तयारी र पार्कका परिकल्पनाकार कार्कीको अन्यत्र सरुवा भएपछि त्यत्तिकै अल्झेको यो काम अहिले क्लबले सामूहिक प्रयत्नमा सम्पन्न गरेको हो ।

बर्दिवासको मुख्यचोक क्षेत्रको पूर्वपश्चिम राजमार्गको दुवै किनारमा रोपिएका विभिन्न जातका करिब ५०० बिरुवा ‘बन्दाबन्दी’ अवधिमै हलक्क बढेपछि नगरको सौन्दर्य उज्यालो भएको छ । अहिले पहिलो चरणमा ५०० मिटर दूरीमा सम्पन्न गरिएको यो अभियान बीपी राजमार्ग र बर्दिवास–जलेश्वर सडक क्षेत्रमा पनि विस्तार गरिने क्लबले जनाएको छ । पार्कमा हुर्कँदै गरेका बिरुवाका लागि अहिलेको ‘बन्दाबन्दी’ वरदान भएको छ । यस अवधिमा लगातार भइरहेको वर्षा र आवागमन बन्दले बिरुवा हुर्कन मद्दत पुगेको बर्दिवास चोककै व्यापारी सविता बस्नेत बताउनुहुन्छ । निषेधाज्ञा अवधिको प्रदूषणमुक्त अवस्था बिरुवा हुर्कन उपयुक्त अवसर बनेको बस्नेतको भनाइ छ ।

अहिले हुर्कँदै गरेका १५ जातका ५०० बिरुवाले बर्दिवास चोक परिसरको स्वरूप नै फेरेको छ । “बिरुवा त केके नाउँमा यसअघि पनि नरोपिएका हैनन् तर सुरक्षा प्रबन्ध (तारजालीको घेराबेरा) नहुँदा तिनका चिनाचपेटा केही रहेनन्”, बर्दिवास उद्योग वाणिज्य सङ्घ र रोटरी क्लव बर्दिवासकै पूर्वअध्यक्ष सुरेश राउतले भन्नुभयो, “यसपालि भने बिरुवा रोपिएसँगै घेराबेरा गरिएको हुँदा जता निस्के पनि हराभरा देखिएको छ ।” रोप्नुपूर्व बाहिरबाट मलिलो माटो ल्याएर खाल्डामा हालिएको र निरन्तरको रेखदेखले बिरुवा हलक्क बढेको राउत खुसी हुँदै बताउनुहुन्छ ।

रोपिएका सबै बिरुवा तारजालीले घेरिएका र वृक्षरोपण क्षेत्रमा यसअघि नै सडक सौर्य बत्ती जडान गरिएको हुँदा बिरुवा सुरक्षित हुन सकेको बर्दिवासवासी बताउँछन् । जडित सौर्य ऊर्जाले अँधेरी रातमा पनि झलमल्ल उज्यालो हुने भएपछि सुरक्षा प्रबन्धमा थप सहजता भएको छ । वृक्षरोपण गरिएका ठाउँमा फोहर राख्ने ठूलठूला भाँडा (डस्टबिन) राखिएपछि बाटो हिँड्नेहरु पनि त्यसैमा फोहर राख्नथालेका छन् । सडकपेटीमा बर्दिवास नगरका पूर्वकार्यकारी अधिकृत कार्कीले आफ्नै कार्यकालमा सौर्य ऊर्जा जडान गराउनुभएको थियो । फोहर उत्सर्जन र व्यवस्थापनको कुरामा भने धेरै काम गर्न अझै बाँकी रहेको बर्दिवास–१ का वडाध्यक्ष चूडामणि पोखरेलको भनाइ छ ।

अहिले हुर्कँदै गरेका बिरुवाले बाटो हिँड्ने जोसुकैको मन खिच्ने गरेको छ । सघन व्यापारिक कारोबार हुने र पूर्वपश्चिम राजमार्ग, जिल्ला सदरमुकाम जलेश्वर र बनेपा मार्गको त्रिवेणी सङ्गम भएको यस ठाउँमा पुग्ने जोसुकैले त्यहाँ हुर्कँदै गरेका बिरुवा र तिनको सुरक्षा प्रबन्धमा भएको कामले बल्ल केही काम थालिएछ भन्ने प्रतिक्रिया दिने गरेका छन् ।

यसैबीच बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले नगरको हरित अभियान र सौन्दर्य अभिवृद्धिमा क्लबको भूमिका अत्यन्त प्रशंसनीय भएको बताउनुभएको छ । “यो कामले राम्रो चर्चा र वास्ता पाएको छ”, नगर प्रमुख कार्कीले भन्नुभयो, “अभियानमा सहयोगी हात अझै थपिँदै जानेछन्, यसलाई नगरपालिकाका तर्फबाट पनि निरन्तरता दिइने छ ।” बिरुवाको संरक्षण र रेखदेखमा सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) ले पनि सकारात्मक चासो बढाएका छन् ।

जिल्लाको सुदुर उत्तरवर्ती नगरमा भएको यो कामले जिल्लाभरि नै चर्चा पाएको छ । जिल्लाका अन्य नगर र बजार क्षेत्रमा पनि यस्ता अभियानबारे सकारात्मक चासो बढाएको देखिँदो छ । रासस

प्रतिक्रिया दिनुहोस