उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, तीन जनाको मृत्यु


क्यालिफोर्निया, २५ भदौ–– उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् ।

पहाडी इलाकाको वन डढेलो फैलिएर घरबस्ती भएको तल्लो समथर भूभागमा आइपुगेको अधिकारीहरुले बताएका छन् क्यालिफोर्नियाको राजमार्ग गस्ती प्रहरी बेन ड्रापरका अनुसार एक व्यक्ति कारभित्र घाइते अवस्थामा भेटिएका थिए ।

सान फ्रान्सिस्कोको उत्तरपूर्वी क्षेत्रमा सयौं, हजारौं घर डढेलोको चपेटामा आएको र अधिकांश ती घरमा क्षति पुगेको अग्निनियन्त्रकहरुले बताएका छन् ।उक्त आगोले प्याराडाइज क्षेत्रमा पनि विनाश निम्त्याउने खतरा बढाएको छ । यो क्षेत्र गत वर्षको विनाशकारी वनडढेलोबाट पनि क्षतिग्रस्त भएको थियो । सुख्खा मौसमका कारण वनडढेलो तिब्र रुपमा फैलिएको छ ।

मौसम पूर्वानुमान अधिकारीहरुका अनुसार केही दिनभित्र मौसममा सामान्य सुधार आउने छ । यसबाट अग्निनियन्त्रकहरुले सन्तोषको केही सास फेर्न पाउने अपेक्षा गरिएको छ ।

उता वासिङ्टन राज्यमा पनि एकै दिन विशाल क्षेत्रमा आगो फैलिएको छ । आगलागीका कारण अरेगन र इडाहो शहरबाट धेरै मानिस अन्यत्र पलायन हुनु परेको छ । कोलोराडो र मोन्टानामा भने उत्तर ध्रुवीय चिसो हावाका कारण डढेलो केही मत्थर देखिएको छ ।

अगष्टको मध्यदेखि फैलिएको वनडढेलोका कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ६०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।
जंगलबाट आएको बुधबारको बाक्लो धुँवा पूरै राज्यमा फैलिएको थियो ।

क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञान वैज्ञानिक डानियल स्वेनले विगत २४ घण्टाको अवधिमा कम्तीमा ४०० वर्ग माइल (एक हजार ३६ वर्ग किलोमिटर) क्षेत्र सखाप भएको जानकारी दिनुभयो । (रासस–एपी)

प्रतिक्रिया दिनुहोस