सरकारी अस्पताललाई पिसिआर मेसिन


स्काईलार्क एग्रो अविनाश ग्रुप नारायणगढले भरतपुर अस्पतालद्धारा सञ्चालित भरतपुर कोभिड १९ प्रयोगशालालाई एक थान पिसिआर मेसिन सहयोग गरेको छ । ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले आज मेसिन अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीलाई हस्तान्तरण गर्नुभयो । जर्मन कम्पनीको क्यूटावर ८४ स्वचालित पिसिआर मेसिन सहयोग गरिएको हो । ग्रुपले रु ५० लाख हाराहारीको लगानीमा सो मेसिन खरिद गरी भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितीमा हस्तान्तरण गरेको हो । विष्टले सामाजिक उत्तरदायीत्व अन्तर्गत मेसिन हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कोरोना सङ्क्रमण वढ्दै जाँदा ग्रुपले अत्याधुनिक प्रविधिको मेसिन खरिद गरी हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । ग्रुपका निर्देशक टिकाराम पोख्रेलले यस मेसिनले पहिलाको भन्दा चाँडो नतिजा दिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “कोरोना सङ्क्रमण वढ्दै जाँदा .नतिजालाई विश्वसनीय र छिटो गर्नका लागि मेसिन सहयोग गरेका हौ ।”

भरतपुर महानगर प्रमुख दाहालले सरकारी तवरबाट खरिद प्रकृया ढिला हुने भएकाले निजी क्षेत्रको सहयोग अहिलेको अवस्थामा अतुलनीय रहेको बताउनुभयो । अहिलेसम्म महानगरवासीको सहयोगले कोरोना नियन्त्रण सहज भएको बताउँदै उहाँले महामारीको समयमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले नतिजा चाँडो निकाल्नका लागि नमूना घान हाल्ने अर्थात आरएनए एक्सट्याक्टर मेसिन मन्त्रालयसँग माग गरिएको जानकारी दिनुभयो । अहिले यहाँ भएको पिसिआर मेसिनले एक पटकमा ९६ वटा नमूनामात्र परिक्षण गर्न सकीने भएकाले घान हाल्ने मेसिन आएसँगै दैनिक एक हजार नमूना परिक्षण गर्न सकिने उहाँले बताउनुभयो । यो मेसिन आए सँगै दैनिक ५ सय नमूना पहिले भन्दा छिटो परीक्षण गर्न सकिने भएको छ ।

प्रयोगशाला प्रमुख अधिकारीका अनुसार प्रयोगशालाको स्थापनापछि आज सम्म २३ हजार भन्दा बढी नमूना परिक्षण गरिएको छ । जसमध्ये चितवनका १८ हजार रहेको उहाँले जानकारी दिनुभयो । परिक्षण गरिएकोमा १ हजार २ सय संङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १ हजार ८५ चितवनका छन् । हाल प्रयोगशालामा सञ्चालनमा रहेको पिसिआर मेसिन कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । नयाँ मेसिन पाएसँगै अस्पतालले विश्वविद्यालयलाई उपकरण फिर्ता गर्न पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस